'बेल्जियमले हस्ताक्षर गर्न सक्दैन'

  • 24 अक्टोबर 2016

बेल्जियमका प्रधानमन्त्री शार्ल्स मिशेलले समाजवादी नेतृत्व भएको वोलोनिया लगायतका क्षेत्रको विरोधका कारण युरोपेली संघ (इयु) र क्यानाडाबीच हुने व्यापार सम्झौतामा आफ्नो मुलुकले हस्ताक्षर गर्न नसक्ने बताएका छन्।

बेल्जियमका प्रधानमन्त्रीको पछिल्लो भनाईले इयु र क्यानाडाका नेताहरुबीच बिहीबार सम्झौता हुने आशालाई धक्का पुर्याएको जस्तो देखिएको छ।

क्यानाडा र युरोपेली संघबीच खुला व्यापारसम्बन्धी हुन लागेको यो सबैभन्दा महत्वकांक्षी सम्झौता हो तर त्यसमा हस्ताक्षर गर्नुअघि बेल्जिमले आफ्ना सबै क्षेत्रबाट अनुमोदन गराउनुपर्ने हुन्छ।

प्रधानमन्त्री मिशेलले फ्रेन्च भाषी क्षेत्रहरुसँगको वार्ता भंग भएको बताएका छन्।

सुरक्षा

उनले युरोपेली आयोगका अध्यक्ष डोनल्ड टुस्कलाई आफ्नो मुलुकले बृहत् आर्थिक तथा व्यापार सम्झौतामा हस्ताक्षर गर्न नसक्ने बताए।

इयुका बाँकी २७ वटा सदस्य राष्ट्रले उक्त सम्झौतामा हस्तारक्ष गर्न चाहेका छन्, जुन सम्झौता विगत ७ वर्षदेखि थाती रहँदैआएको छ।

३६ लाख जनसंख्या भएको वोलोनिया क्षेत्रले श्रम, वातारण तथा उपभोक्ता हितसम्बन्धी मापदण्डको सशक्त सुरक्षा चाहेको छ।

समाजवादी नेतृत्व भएको अन्य दुईवटा संसद्ले पनि क्यानाडासँग हुन लागेको उक्त सम्झौताको विरोध गरेको सोमबारै प्रकाशमा आएको छ।

प्रदर्शन

प्रधानमन्त्री मिशेलले भने, “संघीय सरकार, जर्मन समुदाय र फ्लेन्डर्सले ‘हुन्छ’ भनेका छन्। वोलोनिया, ब्रसल्स नगर सरकार र फ्रान्सेली समुदायले ‘हुन्न’ भनेका छन्।”

बेल्जियमका समाजवादीहरुले विश्वव्यापीकरण विरोधी अभियन्ताहरुले जस्तै चिन्ता जाहेर गरेका छन्, जसले भन्ने गरेका छन् उक्त सम्झौताले बहुराष्ट्रियता भएकालाई धेरै नै अधिकार दिनेछ र उनीहरुमा सरकारलाई असुरक्षित तुल्याउन सक्ने अधिकार समेत हुन सक्छ।

अन्य युरोपेली मुलुकमा पनि क्यानाडासँग हुन लागेको उक्त सम्झौता एवं अमेरिका र इयुबीच हुन लागेको अर्को व्यापार ‍वार्ताको विरोधमा प्रदर्शनहरु भएका छन्।

युरोपेली आयोगले सम्झौतामा हस्ताक्षर गर्ने भए आजसम्ममा बेल्जियमले निर्णय गरिसक्नुपर्ने समयसीमा दिएको थियो।