‘सर्जिकल स्ट्राइक’: भ्रम कि यथार्थ?

  • 25 अक्टोबर 2016
तस्वीर कपीराइट AP
Image caption भारतीय सेनाले आफ्ना फौजले सेप्टेम्बर २९ मा आक्रमण गरेको बताएपनि विस्तृत विवरण दिएको छैन

सेप्टेम्बरको अन्त्यतिर विवादित काश्मीरको सीमा क्षेत्रमा विद्रोहीलाई लक्षित गरी ‘सर्जिकल स्ट्राइक’ गरिएको भारतीय घोषणा ठूलो समाचार बन्यो।

त्यसको केही दिनअघि उग्रवादीहरुले भारत प्रशासित काश्मीरको एउटा सैन्य अखडामा हमला गरी १८ सैनिकको हत्या गरेका थिए।

भारतले पाकिस्तानमाथि आक्रमणको आरोप लगाएपछि दुई देशबीच तनाव बढ्यो।

भारतीय सेनाले गरेको पछिल्लो कारबाहीले पाकिस्तानलाई लामो समयपछि पाठ सिकाएको भारत सरकारका समर्थकले बताइरहेका छन्।

तर इस्लामावादका अधिकारीहरुले उक्त खबर भ्रमपूर्ण भएको प्रतिक्रिया दिइरहेका छन्।

उक्त आक्रमण भएको भनिएको सीमा क्षेत्रमा पुगेका बीबीसीका एम इलियास खानले यथार्थ खोतल्ने प्रयास गरेका छन्।

भारतीय फौजले के गरेका थिए?

‘सर्जिकल स्ट्राइक’ भन्ने शब्दावली प्रयोग गरिएपनि भारतीयहरुले आफ्ना कमान्डोलाई सीमापार आक्रमण गर्न विद्रोहीहरुले निर्माण गरेको भनिएको अखडामा हवाई मार्गबाट परिचालित गरेका थिएनन्।

न उनीहरुले पैदल मार्गबाट एकदमै भित्र प्रवेश गरी पाकिस्तानी इलाकामा आक्रमण गरेका थिए।

तर उनीहरुले ‘लाईन अफ कन्ट्रोल’ (एलओसी) भनिने सीमारेखा पार गरेका थिए, कतिपय अवस्थामा एक किलोमिटर भन्दा टाढाका भूभागमा प्रवेश गरेर उनीहरुले पाकिस्तानी सीमा चौकीहरुमा हमला गरेका थिए।

पाकिस्तान तर्फको क्षेत्रका प्रहरी अधिकारीहरु अनौपचारिक कुराकानीमा श्रीनगरभन्दा पश्चिममा रहेको पुन्च सेक्टर अन्तर्गतको मदरपुर तित्रिनोट क्षेत्रमा स्थल कारबाही गरिएको र त्यसक्रममा एउटा पाकिस्तानी चौकी ध्वस्त हुनुका साथै एक सैनिक मारिएको बताउँछन्।

उत्तरतर्फ अवस्थित लिपा उपत्याकामा स्थानीय बासिन्दाका अनुसार भारतीय फौज एलओसी नाघेर मुन्दाकली गाउँलाई ताकेर भीरपाखाको डिलैमा बसेको थियो।

त्यस क्षेत्रमा उक्त गाउँभन्दा पूर्व रहेको पाकिस्तानी सीमा चौकीमा आक्रमण गरिएको थियो।

Image caption सीमानामा तारबार लगाइनुअघिसम्म लिपा उपत्यकाको यो पहाडको मध्य भागलाई प्रयोग गरी उग्रवादीहरु भारततर्फ प्रवेश गर्ने गरेको बताइन्छ

त्यसबाहेक पहाडी क्षेत्रमा रहेका दुई थप चौकीहरुमा पनि हमला भएका थिए।

बिहान ५ बजेदेखि ८ बजेसम्म भएका हमलामा कम्तीमा चार जना सैनिक घाइते भएको स्थानीय बासिन्दाहरु बताउँछन्।

यस्तै किसिमको भारतीय कारबाही थप उत्तरतर्फ रहेको निलुम उपत्यकाको दुधनिहाल क्षेत्रमा पाकिस्तानीहरुले विफल पारेका थिए।

त्यस क्रममा कम्तीमा एक जना पाकिस्तानी सैनिक घाइते भएका थिए, त्यहाँ एकजना सैनिकको मृत्यु भएको खबरको बीबीसीले स्वतन्त्र रुपमा पुष्टि गर्न सकेन्।

पाकिस्तानी सेनाले उक्त फौजी गतिविधिलाई सीमा क्षेत्रमा भएको गोली हानाहान भन्दै सम्पूर्ण एलओसी क्षेत्रमा योजनाबद्ध रुपमा त्यसो गरिएको उल्लेख गरेको छ।

अधिकारीहरुले पुन्चमा एकजना र त्यहाँबाट थप दक्षिणमा रहेको भीमबर क्षेत्रमा अर्का एकजना गरी दुई सैनिक मारिएको बताएका छन्।

रक्षामन्त्री ख्वाजा आसिफले केही पछि उक्त हमलामा ९ जना सैनिक घाइते भएको जानकारी दिए।

अधिकारीहरु भन्छन्, भारतीय फौजले कुनै निशानालाई आक्रमण गरी सकुशल फर्कन सम्भव छैन किनभने त्यस क्षेत्रमा एकदमै उकालो पहाड चढ्नुपर्छ।

त्यसबाहेक विशेष फौजहरुलाई हेलिकोप्टरमार्फत खसाउन पनि सजिलो छैन किनभने भौगोलिक बनावट कठिन छ।

त्यसबाहेक पाकिस्तानले हेलिकप्टरलाई नै आक्रमण गरी खसालिदिने अवस्था रहेको देखिन्छ।

दुवै पक्षका दाबीहरु प्रमाणित गर्ने ठोस आधार छैनन्, त्यहीँ भएर सत्य सम्भवत यहीँ कतै बीचमा हुनुपर्छ।

प्रत्यक्षदर्शी: अली अक्बर, मुन्दाकली गाउँ, लिपा उपत्यका

म साधारणतया बिहान साढे चार बजै नै उठ्छु। त्यसपछि सधैँ जस्तै मैले नित्यकर्म गरेँ र लगत्तै झण्डै सय राउन्ड गोली चलेको अवाज सुनेँ। मैले केहीँ मिनेट कुरेँ र त्यसपछि गाउँको छेवैमा मोर्टारबाट हानिएका चारवटा बम खसेको थाह पाएँ। हामी लामो समयदेखि युद्धमा छौँ त्यहीँ भएर ठूला हतियारबाट आक्रमण हुने वित्तिकै मैले समस्यामा परेको र गाउँमा आक्रमण भएको आकंलन गरे। थप ४ वटा बम हमला हुँदा म बाहिरै उभिरहेको थिएँ। केही मिनेटपछि चारवटा थप बम खसे।

पहिलो बम गाउँको वन क्षेत्रनजिकै सीमा चौकी रहेको ठाउँमा खसेको थियो। मैले आगो दन्किरहेको र धुँवा आइरहेको देखेँ। मेरी श्रीमतीले मलाई घरभित्र आउन भनिन्। हामीले घरको भुइँमुनि २४ इञ्च बाक्लो पर्खालसहितको बंकर निर्माण गरेका छौँ। उनले सबैजना त्यहाँ रहेको भन्दै मलाई पनि भित्र छिर्न भनिन्।

त्यसबेलासम्म उनीहरुले पहाडको माथिल्लो भागमा रहेको हाम्रो अर्को चौकीमा आक्रमण गरिरहेका थिए। त्यसपछिको गोलाबारी अझै पछाडि रहेको अर्को चौकीमा खस्यो।

साना हतियारबाट पनि गोली चलिरहेका थिए। यसले मलाई आश्चर्यमा पारिरहेको थियो। उनीहरुले एलओसी नाघेर भीरको माथिल्लो स्थानमा आफ्ना हतियारहरु राखेर आक्रमण गरिरहेका थिए। मैले रुखहरुलाई छिचोल्दै र पातहरुलाई खसाल्दै बन्दुकका गोलीहरु अघि बढिरहेको आवाज सुने।

बिहान ६ बजेसम्म गोली चल्यो। त्यसपछि ठूला हतियार चलेको आवाज आउन छाड्यो तर गोली चलेको आवाज भने आइरह्यो। हामी बिहान १० बजेसम्म घर तलको भूमिगत ठाउँमा नै बसिरह्यौँ। बिहान कसैले पनि केही पनि खाएनौँ।

पछि हामीले सुन्यौँ कि भारतीयहरुले एलओसी नाघेर पहाडमा अवस्थित हाम्रा चौकीहरुलाई आक्रमण गरेछन्। मैलै बुझ्न सकेको छैन कि किन उनीहरुले हाम्रो गुल्म तहको मुख्यालय रहेको चौकीहरुसम्म आएर आक्रमण गर्ने प्रयास गरेनन्। उनीहरुले त्यसो गर्न सक्थे किनभने तिनीहरु हिँडेर नै पुग्न सकिने स्थानमा थिए र उनीहरु ती चौकीभन्दा उचाईमा थिए। सम्भवतः हाम्रा मानिसहरुले उनीहरुको गतिविधि थहा पाए र उनीहरुविरुद्ध गोली चलाए जसले गर्दा उनीहरु फर्कन बाध्य भए भन्ने मलाई लाग्छ।

३० वर्षअघि एलओसीमा युद्ध शुरु भएयता उनीहरुले यस्तो स्थानबाट आक्रमण गरेको यो पहिलो घटना हो।

पाकिस्तानले कसरी प्रतिक्रिया जनायो?

धेरै इलाकाहरुमा उक्त हमलालाई आश्चर्यका रुपमा लिइएको छ।

लिपामा जम्मा भएका गाउँलेहरुले पहिलोपटक भारतीय फौजहरुले उक्त उपत्यकामा बिहान ५ बजे गोली चलाएको बताए। त्यसक्रममा मुन्दाकली नजिकैको चौकी र त्योसँगै जोडिएको मस्जिद ध्वस्त भएको थियो।

उनीहरुका अनुसार बिहानीपूर्वको प्रार्थना गर्दै गरेका एक जना सैनिकलाई गोली लागेको थियो र उनी घाइते भएका थिए।

Image caption भारतीय गोलाबारीका कारण मुन्दाकलीमा रहेको यो सीमा चौकीमा क्षति पुगेको बताइन्छ

लिपाको पहाडी इलाकामा केही माथि रहेका दुई प्रहरी चौकीलाई लक्षित गरी पनि गोली चलाइएको थियो।

स्थानीय बासिन्दाले ती चौकीहरुका बंकरहरुमा आंशिक क्षति पुगेको र उनीहरुको सञ्चार प्रणालीले केही समय काम नगरेको बताएका छन्। यसको अर्थ उपत्यकाको तल्लो क्षेत्रमा खटिएका फौजहरु र ब्रिगेडको मुख्यालयले के भएको हो भन्ने बुझ्न केही समय लागेको थियो।

मुन्दाकली चौकीमा गोली लागेका सैनिकलाई स्थानीय मानिसले प्राथमिक उपचार गरेका थिए र मोटरसाइकलमा राखेर उनीहरुले सैनिक अस्पताल पुर्याएका थिए।

मस्जिदमा लागेको आगो निभाउन झण्डै दुई दर्जन गाउँलेले मद्दत गरेका थिए।

पाकिस्तानीहरुले लामो समय नलिई आफ्ना बाँकी बंकरहरुबाट जवाफी गोली चलाएका थिए जसका कारण उपत्यकातर्फ फर्किएको भीरबाट पछाडि हट्न भारतीय फौज बाध्य भएको थियो।

निलुम उपत्यकामा रहेको दुधनिहालमा गाउँभन्दा केही पर रहेको पहाडको थप उच्च इलाकामा कारबाही गरिएको थियो।

Image caption पाकिस्तानी भूमिबाट देखिने केरेन लावतमा अवस्थित एउटा भारतीय चौकी

गोली चलेको आवाज सुनेपछि केही गाउँले ब्युझिएका थिए।

त्यहाँ के भएको थियो भन्नेबारे एकजना जानकार अधिकारीले भारतीय फौजहरु एलओसीभन्दा पर आएपछि मात्रै उनीहरुको प्रवेशबारे जानकारी पाएको बताए।

उनले भने, “पाकिस्तानले फायर खोलेपछि तत्कालै उनीहरु आफ्नै बंकरतर्फ फर्किए।”

केही दक्षिणतर्फ, पुन्च, कोतली र भीमबेर क्षेत्रमा यस्तै यस्तै कथाहरु छन्।

भारतीयहरु एलओसीको आफ्नो सैनिक अखडाबाट भित्र आए, त्यस्तो हुने कल्पनासम्म नगरेका पाकिस्तानी फौजहरु एकाएक भएको आक्रमण र गोलाबारीका कारण आश्चर्यमा परे र पाकिस्तानी फौजहरुले जवाफी कारबाही थालेपछि उनीहरु फर्किए।

खासै तयार नभएका र संख्यात्मक रुपमा कम भएको हुनाले पाकिस्तानी फौजले बढ्ता गोलाबारी गरेको बुझिन्छ।

स्थानीय बासिन्दाले हमलापछि आफ्नो बन्दोबस्ती तम्तयार अवस्थामा राख्न सयौँ गाउँलेहरुलाई हतियार तथा गोलीगठ्ठा बोकाएर सीमा क्षेत्रमा चौकीहरुमा पुर्याउन लगाइएको थियो।

के कुनै विद्रोही आक्रमणमा परे?

काश्मीर केन्द्रित उग्रवादीहरुको पाकिस्तान प्रशासित काश्मीरमा वर्षौदेखि दह्रो उपस्थिति छ।

सन् १९९० को दशकमा एलओसी नाघेर उनीहरु भारतीय भूमिमा रहेका फौजलाई धपाउन एम्बुस थाप्ने गर्थे।

तर सन् २००३ मा भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि उनीहरुको गतिविधि अलिक पातलो भयो।

तर आत्मघाती आक्रमण तथा अन्य हमलाहरुले उनीहरु भारतविरुद्धको विवादमा पाकिस्तानी रणनीतिका लागि उपयोगी देखिएका थिए जसलाई पाकिस्तानी सेनाले खण्डन गर्ने गरेको छ।

Image caption सन् २००३ को युद्धविराम यता कयौँ युवाहरु कलेजमा पढ्न थालेको र विद्रोहीहरु गाउँ छाडेर सैनिक शिविर नजिकै सरेको बताइन्छ

उग्रवादीहरुले मुज्जफराबाद जस्ता सीमा क्षेत्रभन्दा केही परका ठूला शहरमा आफ्ना सुरक्षित भूमिगत आवासहरु तयार पारेका छन्।

तर विद्रोहीविरुद्ध स्थानीय समुदायको बढ्दो वितृष्णाका कारण अहिले उनीहरु गाउँभन्दा टाढा तर एलओसी सैनिक क्षेत्रहरु नजिकैका शिविर निर्माण गरेर बसिरहेका छन्।

भारतीय सञ्चारमाध्यमले दाबी गरेपनि बीबीसीले उग्रवादीहरु कारबाहीमा परेको खासै ठोस प्रमाण फेला पार्न सकेन्।

भीमबरको समाहिनी वा पुन्च कोट्ली क्षेत्रका कुनै पनि शिविरहरुमा क्षति भएको वा आक्रमणमा परेको खबरहरु आएका छैनन्।

तिनीहरु भारतीय गोलाबारीविरुद्ध प्राकृतिक अवरोधका रुपमा रहेका भीरपाखा पछाडि अवस्थित छन्।

लिपामा नै उग्रवादी बस्ने भनिएका चानिहानदेखि मुन्दाकलीबीच रहेका करिब ५ देखि ६ वटा काठका संरचनालाई निशाना नबनाइएको पाइएको छ।

एउटा नदीको पूर्वी किनारामा रहेको भीरले ती संरचनाहरुलाई एलओसीका सैनिक क्षेत्रबाट सुरक्षित बनाउने गरेको छ।

त्यसैगरी निलुममा अधिकांश विद्रोहीका शिविरहरु जस्तै झाम्बार, दोसुत र गुरेज उपत्यकामा रहेका शिविरहरु थप पूर्व र केही तल अवस्थित छन् जुन एलओसी सीमा क्षेत्रभन्दा सुरक्षित दूरीमा पर्छन्।

बीबीसीले भारतीय सञ्चारमाध्यमले भनेको लिपा उपत्यकाको खैराटी बाग र निलुम उपत्यकास्थित दुधनिहाल गाउँको पश्चिम कुनामा रहेको लस्कर-ए-तोएबाको शिविर सेप्टेबर २९ मा निशाना बनाइएको भन्ने पुष्टि गर्न सकेन।

तर दुधनिहालमा केही स्थानीय मानिसले सैनिक बन्दोबस्तीका सामाग्रीहरु भारतीय हमलापछिको सप्ताहन्तमा माथिल्लो चौकीमा लैजान मद्दत गरेका थिए।

उनीहरुले सीमा क्षेत्रमा पाकिस्तानी चौकी नजिकै एक वा दुई क्षतिग्रस्त संरचना देखेको बताएका छन् र ती संरचनाहरु सेप्टेम्बर २९ को बिहान हमलामा परेको हुनसक्ने ठानेका छन्।

तर उनीहरु ती संरचना उग्रवादीहरुको नियन्त्रणमा थिए वा थिएनन् वा भारतीय सञ्चारमाध्यमले भने जस्तै त्यहाँ ५ वा ६ जना मारिएका थिए वा थिएनन् भन्ने छलफल गर्न हिच्किचाउँछन्।

बीबीसीले पाकिस्तानी सेनालाई उक्त क्षेत्रमा उग्रवादीहरुको गतिविधिबारे प्रश्न गरेको थियो तर तत्कालै त्यसको कुनै प्रतिक्रिया आएन।

पछिल्लो मनस्थिति के छ?

सेप्टेम्बर २९ यता एलओसी क्षेत्रमा तनाव मत्थर भएको छैन्।

Image caption लिपा उपत्यका उच्च पहाडी भूगोलमा अवस्थित छ।

लिपाका बासिन्दाले बीबीसीलाई बताएअनुसार आक्रमणपछि उपत्यकामा उग्रवादीहरु ओइरिने क्रम बढेको छ।

के उनीहरु सीमामा फेरि भारतीय फौजसँग खराब झडप भए आफ्ना सैनिकलाई सघाउन त्यहाँ आएका हुन्? कसैले पनि यकिन रुपमा भन्न सकिरहेको छैन्।

निलुममा, जिल्ला प्रशासनका एकजना उच्च अधिकारीले स्थानीय बासिन्दासँग यसै महिनाको शुरुमा बैठक गरी तनाव बढ्न सक्ने उल्लेख गर्दै आफ्ना घरभित्रै वा नजिकै बंकर खन्न सुझाव दिएका थिए।

उक्त बैठकमा सहभागी एकजना स्कूले शिक्षकले अधिकारीहरुलाई उक्त इलाकामा रहेका उग्रवादीहरुलाई त्यहाँबाट हटाउनु भारतीय गोलाबारीबाट गाउँलाई जोगाउने सबैभन्दा सजिलो र कम खर्चिलो विकल्प भएको जानकारी दिइएको बताए।

उक्त रणनीति गोप्य विषय भएको अधिकारीहरुले जवाफ दिएका थिए।

साथै त्यसबारे निर्णय गर्ने जिम्मा सरकारको भएको भनिएको थियो।