‘विश्वभर नवीकरणीय ऊर्जाको वृद्धिदर तीव्र’

  • 25 अक्टोबर 2016
अष्ट्रेलियामा हावाबाट ऊर्जा निकाल्ने टर्बाइनहरु तस्वीर कपीराइट Reuters
Image caption आइइएका अनुसार आउने पाँच वर्षसम्म नवीकरणीय ऊर्जाबाट बिजुली उत्पादन गर्ने क्रम तीव्र हुनेछ।

अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) को नयाँ प्रतिवेदनका अनुसार गत वर्ष विश्वभर नवीकरणीय ऊर्जा उत्पादन पहिलोपटक आधाभन्दा बढी परिमाणले वृद्धि भएको थियो।

आइइएको भनाइमा नवीकरणीय ऊर्जाका स्रोतहरुमा वृद्धि भएसंगै बजार मूल्य वृद्धिदरमा पनि निरन्तर कमी आइरहेको छ।

वर्तमान समयमा नवीकरणीय ऊर्जाको उत्पादन दर कोइलाकोभन्दा बढी भइसकेको जनाइएको छ।

सबै नवीकरणीय ऊर्जाको ४० प्रतिशत हिस्सा ओगटेको चीनमा गत वर्ष प्रतिघण्टा दुईवटाका दरले हावाबाट बिजुली निकाल्ने टर्बाइनहरु जडान भएका थिए।

वृद्धि

आइईए भन्छ अमेरिका, चीन, भारत र मेक्सिको जस्ता देशका कडा नीतिका कारण नवीकरणीय ऊर्जाको उत्पादनमा बढोत्तरी भएको हो।

उक्त संस्थाले आउने पाँच वर्षमा नवीकरणीय ऊर्जा बिजुली उत्पादनका लागि एक प्रमुख स्रोत हुने पनि जनाएको छ।

आइइएको प्रतिवेदनका अनुसार गत वर्ष हरेक दिन पाँच लाख सौर्य प्यानलहरु जडान भएका थिए।

यसबाट विश्व ऊर्जा बजारमा व्यापक परिवर्तन भइरहेको देखिएको आइइएका एक अधिकारीले बताए।

उर्जा

उक्त संस्थाका अनुसार कोइलामा आधारित उर्जा केन्द्रहरुले सन् २०१५ मा विश्व उर्जाको ३९ प्रतिशत उर्जा आपूर्ति गरेका थिए।

त्यस्तै नवीकरणीय उर्जा स्रोतहरुबाट २३ प्रतिशत उर्जा आपूर्ति भएको थियो।

हामीले विश्व उर्जा बजारमा महत्वपूर्ण परिवर्तन आइरहेको देखिरहेका छौं र यसको नेतृत्व नवीकरणीय उर्जाका स्रोतहरुले गरीरहेका छन्, आइएका कार्यकारी निर्देशक फतिह बिरोलले भने।

प्यारिसमा मु्ख्यालय भएको उक्त संस्थाले आउँदो पाँच वर्षमा वायुमा आधारित उर्जा उत्पादनको लागत १५ प्रतिशतले र सौर्य उर्जा उत्पादनको लागत झण्डै एक चौथाइले घटने अनुमान पनि गरेको छ।