साझा प्रकाशनलाई सहयोगको आश्वासन

  • 25 अक्टोबर 2016
तस्वीर कपीराइट .

करिब दश वर्षदेखि आर्थिक समस्या झेलिरहेको साझा प्रकाशनलाई ऋण तथा अनुदानका रुपमा ४० करोड रुपैयाँ उपलब्ध गराउने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएपछि साझा प्रकाशनका पदाधिकारीहरु उत्साहित भएका छन्।

गरीमा साहित्यिक पत्रिकाका साथै विभिन्न वरिष्ठ साहित्यकारका चर्चित कृतिहरु प्रकाशन गरेको देशको जेठो प्रकाशक साझा प्रकाशनमा कर्मचारीको तलब र उपदान, लेखकको राजस्व र विभिन्न संघ संस्थासंग लिएको रकम गरेर ४३ करोड रुपैंयाँ ऋणको भार रहेको उक्त संस्थाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले बताए।

साझा प्रकाशनलाई बचाउने पक्षमा राष्ट्रकवि माधव घिमिरे, सत्यमोहन जोशी, बैरागी काईंला लगायतका वरिष्ठ साहित्यकारहरुले बारम्बार अभिव्यक्ति दिंदै आएका छन्।

लिलामी

सहकारी विकास ब्यांकले सात करोड रुपैयाँ ऋण वापत धरौटीमा राखेको चार रोपनी जग्गा लिलामी गर्ने प्रकृया अघि बढाएपछि प्रधानमन्त्री प्रचण्ड समक्ष ऋणका लागि अनुरोध गरेको शर्माले बताए।

उनले भने, “हामीले यो चार रोपनी जग्गा बचाउनका लागि चितवन, महेन्द्रनगर र वीरगञ्जमा रहेका सम्पत्ति बेच्ने सम्मको निर्णय साधारणसभाले गरेको थियो। हामीले यही अप्ठेरो प्रधानमन्त्री र शिक्षामन्त्रीसमक्ष राखेका थियौं।”

गोर्षा भाषा प्रकाशिनी समितिका नाममा १९७० सालमा स्थापना भएको साझा प्रकाशन आर्थिक समस्याका कारण करिब एक दशकदेखि धराशायी भएको जानकारहरु बताउँछन्।

आशा

तर सोमबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले साझा प्रकाशनलाई २० करोड अनुदान र २० करोड ऋण गरेर कूल ४० करोड रुपैंयाँ दिने प्रकृया शुरु गर्ने निर्देशन दिएपछि साझा प्रकाशनका समस्या समाधान हुनसक्ने आशा केहीले गरेका छन्।

शिक्षामन्त्री धनीराम पौडेलले भने, “अनुदान र ऋणका लागि साझा प्रकाशनले विगतदेखि नै माग गरिआएको थियो। यसै सन्दर्भमा प्रधानमन्त्रीले उक्त सहयोगको प्रस्ताव मन्त्रिपरिषदको अर्को बैठकमा ल्याउन निर्देशन दिनुभएको छ।”

प्रधानमन्त्रीको त्यो निर्देशनलाई क्याबिनेटले अनुमोदन गर्नुपर्ने हुन्छ र त्यसो भएमा साझा प्रकाशनले करिब दुई हप्तामा उक्त रकम पाउने शिक्षामन्त्री पौडेलले जानकारी दिए।

सरकारबाट प्राप्त रकमले दुईवटा ब्यांकको ऋण तिर्नुका साथै कर्मचारीलाई तलब र लेखकलाई राजस्व दिएर बाँकी बचेको करिब चार करोड रुपैंयाँ नयाँ पुस्तक प्रकाशनमा लगाउने साझा प्रकाशनका अध्यक्ष शर्माले बताए।