‘फ्रान्सको काले क्षेत्र आप्रवासी मुक्त’

फ्रान्सका अधिकारीहरुले उत्तरी फ्रान्सको जंगल भनिने क्षेत्रका शिविरहरुबाट हजारौं आप्रवासीहरुलाई अन्यत्र सार्ने काम सम्पन्न भएको जनाएका छन्।
उनीहरुको भनाइमा कालेबाट आप्रवासीहरुलाई हटाउने काम सोचेभन्दा कम समयमा सकिएको थियो।
एक फ्रान्सेली अधिकारीले शिविरहरु हटाउने काम पूरा भएकाले अब आप्रवासीहरुले नयाँ जीवन शुरु गर्न सक्ने बताए।
तर आप्रवासीको लागि काम गरिरहेको एक परोपकारी संस्थाले सयौं आप्रवासी अझै दर्ता नभएकाले उनीहरुलाई बसोबासको समस्या हुन सक्ने जनाएको छ।
शिविर
फ्रान्सेली अधिकारीहरुले सोमबारदेखि काले क्षेत्रबाट आप्रवासीहरुलाई बसमा राखेर अन्य आप्रवासी शिविरहरुतर्फ ल्याउँदै काले क्षेत्र खाली गर्ने काम शुरु गरेका थिए।
टेलिभिजनमा आएका तस्वीरहरुमा त्यस क्षेत्रबाट धुँवाको बाक्लो मुस्लो आइरहेको देखाइएको छ।
त्यहाँ क्रुद्ध आप्रवासीहरुले त्रिपाल तथा पसलहरुमा तोडफोड र आगजनी गरेका हुन सक्ने बताइएको छ।
आप्रवासी
उक्त ठाउँमा छ देखि आठ हजारसम्म आप्रवासीहरु रहेको अनुमान गरिएको थियो।
अहिलेसम्म ४,४०० भन्दा बढी आप्रवासीहरुलाई फ्रान्सका विभिन्न भागमा रहेका आप्रवासी केन्द्रहरुमा लगिएको छ।
१,२०० बालबालिकाहरुलाई एक छुट्टै अस्थायी केन्द्रमा राखिएको छ।
उनीहरुमध्ये धेरैजसो ब्रिटेन आउन खोजेको बताइएको थियो।
स्थानीय अधिकारीहरु आप्रवासीहरु पछि फेरि सोही ठाउँमा भेला हुनसक्ने आशङ्का गरिरहेका छन्।