पश्चिमी अलेप्पोमाथि विद्रोही आक्रमण शुरु

  • 29 अक्टोबर 2016
तस्वीर कपीराइट Reuters

सिरियाका विद्रोहीहरुले पूर्वी अलेप्पोमाथि जारी सरकारको घेराबन्दी तोड्ने उद्देश्यले सरकारी नियन्त्रणमा रहेको पश्चिमी अलेप्पोमा एउटा ठूलो आक्रमण शुरु गरेको घोषणा गरेका छन्।

विद्रोहीहरुले पश्चिमी अलेप्पोमा सयौं क्षेप्यास्त्र प्रहार गरेपछि कम्तिमा १५ जनाको ज्यान गएको ब्रिटेनस्थित एउटा पर्यवेक्षक समूहले बताएको छ।

पूर्वी अलेप्पोमा करीब २ लाख ७५ हजार मानिस सरकारको घेराबन्दीमा परेका छन्।

अलेप्पो वरिपरिका थुप्रै क्षेत्रमा सरकारी सेनाले विद्रोही समूह र इस्लामिक स्टेटको आक्रमण विफल गरेको सिरियाली सरकारले बताएको छ।

विद्रोही एकजुट

सिरिया र उसको समर्थक रुसले पूर्वतर्फ हवाइ हमला तीव्र बनाएका छन्।

पश्चिमी अलेप्पोमाथि आक्रमण गर्न थुप्रै विद्रोही समूहहरु एकजुट भएका छन्, तर अलेप्पोलाई सरकारको कब्जाबाट छुटाउन सजिलो भने छैन।

सरकारको कामकारवाही ढिलो गराउनका लागि विद्रोहीहरुले हवाइ अड्डा र अन्य सिरियाली अखडामाथि प्रहार गरिरहेका छन्।

तर सिरियाली सेना मात्रै उनीहरुको समस्या होइन।

सिरियाली सेना आफैंमा कमजोर छ, तर उसलाई लेबनन, इरान, इराक, अफगान शिया लडाकु र रुसी हवाइ सेनाले सघाइरहेका छन् र अब छिटै भूमध्यसागरमा नौसेना पनि थपिनेछ।

आक्रमण

सिरियाका विदेशमन्त्री वालिद मुआलेमले रुसी र इरानी समकक्षीलाई मस्कोमा भेट्दा उक्त आक्रमण शुरु भएको हो।

ती दुबै देशले सिरियाली सरकारलाई दिइरहेको समर्थन बढाउने प्रतिबद्धता जनाएका छन्।

रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले मध्यमार्गी विद्रोही समूहहरुलाई अलकायदासंग सम्बन्धित जभात फतेह अल–शाम समूहबाट अलग हुन आह्वान गरे।

तस्वीर कपीराइट

त्यसो नगरेमा ती समूहहरुलाई पनि वैधानिक रुपमा निशाना बनाइने अमेरिकी विदेशमन्त्री जोन केरीको टिप्पणीलाई उनले दोहो-याए।

लाभ्रोभले अमेरिकी समर्थन प्राप्त विद्रोहीहरुले अलेप्पोमा मानवीय कार्यलाई अवरोध पु-याइरहेको आरोप पनि आरोप लगाए।

सिरियाली विदेशमन्त्री मुआलेमले पश्चिमा मुलुकहरुले सिरियाली सरकारसंग लड्नका लागि आइएसका लडाकुहरुलाई इराकबाट सिरिया धपाउने कोशिश गरेको आरोप लगाए।

उनले भनेः “उनीहरु डाएशलाई मोसुलबाट रक्का सार्न चाहन्छन्। तर रुसी विदेशमन्त्री लाभ्रोभले त्यसो हुनबाट रोक्न हामीले संगै काम गर्ने भनेकोमा म खुशी छु।”

'वधशाला'

सरकारको घेराबन्दी तोड्ने यो विद्रोहीहरुको दोस्रो प्रयास हो।

गत जुलाई महिनामा सरकारले पहिलोपटक पुरै घेराबन्दी गरेपछि उनीहरुले अगस्ट महिनामा केही समयका लागि पूर्व र पश्चिमको बीचमा एउटा मार्ग खुलाएका थिए।

विगतमा सिरियाको आर्थिक केन्द्र रहेको अलेप्पो शहर सन् २०१२ देखि दुई भागमा विभाजित छ।

करीब एक महिना अघि सरकारी सेना र रुसी हवाई सेनाले पूर्वी अलेप्पोमाथि आक्रमण तीव्र पारेदेखि त्यहाँ झण्डै ५०० जना मारिएका छन् र २,००० घाइते भएका छन्।

संयुक्त राष्ट्रसंघका मानव अधिकारसंबन्धी उच्चायुक्त जैद राद अल हुसैनले हालै उक्त शहरलाई 'वधशाला' भनेका थिए।