नयाँ इमेलका विवरण सार्वजनिक गर्न आह्वान

  • 29 अक्टोबर 2016
james comey तस्वीर कपीराइट AFP
Image caption एफबीआइका निर्देशक जेम्स कोमीले नयाँ इमेल क्लिन्टनमाथि जारी अनुसन्धानका लागि महत्वपूर्ण हुनसक्ने बताएका छन्

अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनले त्यहाँको अनुसन्धान निकाय एफबीआइले पाएको भनिएको उनीसंग सम्बन्धित नयाँ इमेलहरुको पूर्ण विवरण सार्वजनिक गर्न आह्वान गरेकी छन्।

क्लिन्टन विदेशमन्त्री हुंदा उनले गोप्य सूचनाहरु कसरी व्यवस्थापन गरेकी थिइन् भन्नेबारे जारी अनुसन्धानमा नयाँ इमेलहरु महत्वपूर्ण हुनसक्ने एफबीआइले बताएको छ।

निष्कर्ष

एफबीआइले गत जुलाईमा गोप्य सूचना व्यवस्थापनमा क्लिन्टनले कुनै गल्ती नगरेको भन्ने निष्कर्ष निकालेको थियो।

अहिले पनि त्यसमा कुनै परिवर्तन नहुनेमा आफू विश्वस्त भएको क्लिन्टनले बताइन्।

एफबीआइले पाएको भनिएका नयाँ इमेलहरु पनि महत्वपूर्ण थिए वा थिएनन् भन्नेबारे उक्त निकायसमेत पक्का भइ नसकेको उनले जनाइन्।

उनले एफबीआइका निर्देशक जेम्स कोमीलाई नयाँ अनुसन्धानको व्याख्या अमेरिकी जनतासमक्ष गर्न आह्वान पनि गरेकी छन्।

खुलासा

राष्ट्रपतीय चुनाव हुनु ११ दिनअघि निर्देशक कोमीले संसदलाई लेखेको पत्रबाट नयाँ इमेलहरु पत्ता लागेको विषय खुलेको हो।

कोमीले नयाँ पत्ता लागेका इमेलहरु एफबीआइको अनुसन्धानका लागि महत्वपूर्ण छ वा छैन भन्नेबारे स्पष्ट नभएको र उक्त अतिरिक्त काम पूरा गर्न कति समय लाग्छ भन्नेबारे अहिले अनुमान गर्न नसकिने उल्लेख गरेका छन्।

रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्पले उक्त अनुसन्धानमा भइरहेको प्रगतिको स्वागत गर्दै क्लिन्टन जस्तो उनकै शब्दमा आपराधिक योजनाको व्यक्तिलाई ह्वाइट हाउसमा प्रवेश दिन नहुने आफ्ना समर्थकहरुलाई बताए।