निर्दोष साबित हुनेमा क्लिन्टन विश्वस्त

  • 1 नोभेम्बर 2016
तस्वीर कपीराइट Reuters
Image caption पछिल्लो खुलासाले हिलरी क्लिन्टनका प्रतिद्वन्द्वी डोनल्ड ट्रम्पलाई फाइदा पुर्याएको देखिन्छ

डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार हिलरी क्लिन्टनले अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइको जारी अनुसन्धानले आफूलाई निर्दोष साबित गर्नेमा विश्वस्त रहेको बताएकी छन्।

यसअघि अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाइट हाउसले क्लिन्टनका इमेलमाथि गरिरहेको अनुसन्धान चुनाव प्रभावित पार्ने उद्देश्यले भएको भन्ने विश्वास आफूलाई नलागेको प्रतिक्रिया दिएको थियो।

गएको जुलाईमा एफबीआइका निर्देशक जेम्स कोमीले क्लिन्टनले एकदमै हेलचेक्र्याइँ गरेको देखिए पनि उनीविरुद्ध फौजदारी मुद्दा लगाउने आधार नरहेको निस्कर्ष निकालेका थिए।

तर शुक्रबार संसदलाई जानकारी गराउँदै उनले थप इमेलहरु प्राप्त भएकाले एफबीआइको जाँच पुन: शुरु गरिएको बताएका थिए।

सम्बोधन

एउटा र्यालीलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति उम्मेदवार क्लिन्टनले गएको जुलाईमा आफूले कुनै फौजदारी कसुर नगरेको निष्कर्षमा पुगेको एफबीआइ अब पनि त्यस्तै निचोडमा पुग्ने बताएकी हुन्।

यसअघि गएको शुक्रबार एफबीआइले निजी सर्भरबाट पठाइएका उनका थप इमेलहरुबारे अनुसन्धान गरिरहेको घोषणा गरेको थियो।

रिपब्लिकनतर्फका राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्पले एफबीआइले क्लिन्टनका अथाह इमेलमा पहुँच पाएको विश्वास व्यक्त गरेका थिए।

मिचिगनमा सम्बोधन गर्दै उनले हटाइएका भनिएका ३३ हजार इमेलमा पुन पहुँच हासिल गर्न सकिने अपेक्षा दोहोर्याएका थिए।

अघिल्लो वर्षको मार्च महिनामा क्लिन्टनले सन् २००९ देखि २०१३ सम्म निजी इमेल सर्भरको प्रयोग गरि संघीय कानुन तोडेको विषय सतहमा आएको थियो।

तस्वीर कपीराइट
Image caption ह्वाइट हाउसले एफबीआइका प्रमुखको नियतमा शङ्का नलागेको प्रतिक्रिया दिएको छ

उनका वकिलले कामसँग सम्बन्धित ३० हजार इमेल अमेरिकी विदेश मन्त्रालयलाई उपलब्ध गराए पनि चुनावी अभियानले ३३ हजार इमेल हटाइदिएको थियो।

आक्रोश

गत जुलाईमा एफबीआइका निर्देशक जेम्स कोमीले क्लिन्टनले एकदमै हेलचेक्र्याइँ गरेको देखिए पनि उनीविरुद्ध फौजदारी मुद्दा लगाउने आधार नरहेको निस्कर्ष निकालेका थिए।

तर शुक्रबार उनले थप इमेलहरु प्राप्त भएकाले एफबीआइले पुन: अनुसन्धान अघि बढाएको बताएका थिए।

त्यसपछि आक्रोश व्यक्त गरिरहेका डेमोक्रेट नेताहरुले नयाँ इमेलहरुबारे तत्कालै थप विवरण दिन एफबीआइसँग माग गरिरहेका छन्।

विवादका माझ सोमबार अमेरिकी राष्ट्रपति कार्यलयले एफबीआइको निर्णयको बचाउ र आलोचना दुबै नगर्ने प्रतिक्रिया दिएको छ।

एफबीआइका निर्देशकको निष्ठा र सिद्धान्तमा राष्ट्रपति बराक ओबामा विश्वस्त रहेको र चुनावलाई प्रभावमा पार्न गोप्य रुपमा पछिल्लो काम गरिएको हो भन्ने उनलाई नलागेको ओबामाका प्रवक्ताले बताएका छन्।