इराकी विशेष सुरक्षा फौज मोसुल प्रवेश

  • 2 नोभेम्बर 2016
तस्वीर कपीराइट BBCiPannell
Image caption मोसुल वरपर दनभरी नै एकदमै हिंसात्मक भिडन्तहरु भएका थिए

विद्रोही समूह इस्लामिक स्टेट (आइएस) को कब्जामा रहेको इराकको मोसुल सहरको बाहिरी इलाकामा इराकी विशेष सुरक्षा फौज पहिलोपटक प्रवेश गरेको छ।

प्रति आतंकवाद हेर्ने निकायका फौजले पूर्वी क्षेत्रमा हमला थालेको केही घण्टापछि गगजालीस्थित आइएसको नियन्त्रणमा रहेको सरकारी टेलिभिजनको भवनलाई आफ्नो कब्जामा लिएका छन्।

मोसुल सहरलाई विद्रोही समूहले सन् २०१४ को जुन महिनादेखि आफ्नो नियन्त्रणमा लिएको थियो।

आक्रमण

इराकका प्रधानमन्त्री हैदर अल अबादीले मोसुल सहरभित्र आइएसका ३ देखि ५ हजार विद्रोही लडाकुहरु रहेको ठानिएको बताएका छन्।

सन् २०१४ को जुन महिनामा मोसुल सहर प्रवेश गरेका ती लडाकुहरुसँग अब आत्मसमर्पण गर्नु वा मारिनु बाहेक अन्य विकल्प नरहेको प्रधानमन्त्री अबादीले बताए।

आइएसको बलियो पकड रहेको उक्त सहरबाट उनीहरुलाई हटाउनका लागि दुईसाता यता भएका आक्रमणमा इराकको सुरक्षा फौज, कुर्द लडाकुहरु, सिया मिलिसिया गरी पाँच हजार लडाकुहरु सहभागी छन्।

मोसुल सहरभित्र प्रवेश गर्न खोजिरहेका सरकारी फौज विद्रोहीले प्रहार गरेका रकेट, मोर्टार र बन्दुक हमलाको निशानामा परेका थिए।

भिडन्त

प्रति आतंकवाद हेर्ने निकाय सिटिएसले मोसुल सहरको बाहिरी इलाकामा कब्जा गर्न बाँकी रहेको अन्तिम गाउँ बाज्वाअलाई सोमबार सखारै आफ्नो नियन्त्रणमा लिएको थियो।

त्यहाँबाट नै उनीहरु गगजालीको औद्योगिक क्षेत्रमा प्रवेश गरेका हुन्।

ती फौजलाई लक्षित गर्दै विद्रोहीहरुले पटकपटक आक्रमणको प्रयास गरेका थिए।

उक्त क्षेत्रमा दिनभरी एकदमै हिंसात्मक भिडन्तहरु भएका थिए।