भारतीय राष्ट्रपति काठमाण्डूमा

  • 2 नोभेम्बर 2016
nepal prez तस्वीर कपीराइट bbc
Image caption राष्ट्रपति विद्यादेवी भण्डारीले मुखर्जीको सम्मानमा बुधबार राति राजकीय भोज आयोजना गर्दैछिन्

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने भ्रमणका लागि बुधबार काठमाण्डू आइपुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन्।

विदेशी राष्ट्रध्यक्षलाई विमानस्थलमै स्वागत राष्ट्रध्यक्ष स्वयम् गर्न जाने घटना विरलै हुने जानकारहरु बताउंछन्।

नेपाल र भारतबीचको गहिरो सम्बन्ध दर्शाउन राष्ट्रपति भण्डारी स्वयम् मुखर्जीलाई स्वागत गर्न विमानस्थल गएको अधिकारीहरुको भनाइ छ।

तर कतिपयले त्योसहित मुखर्जी आउने दिन सार्वजनिक बिदा दिएको विषयको चर्को आलोचना गरेका छन्।

मुखर्जीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री प्रकाशशरण महतसहितका उच्चअधिकारीहरु पनि विमानस्थलमा उपस्थित थिए।

स्वागत लगत्तै मुखर्जीलाई नेपाली सेनाले सम्मान गारद दिएको थियो।

कार्यक्रम

मुखर्जीले बुधबारै राष्ट्रपति भण्डारीसंग राष्ट्रपति भवन शीतल निवासमा भेट्ने अधिकारीहरुले जनाएका छन्।

प्रधानमन्त्री, उपराष्ट्रपति लगायतले बुधबारै मुखर्जीलाई राजधानीको एउटा होटलमा भेट्नेछन्।

राष्ट्रपति भण्डारीले मुखर्जीको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछिन्।

भारतीय राष्ट्रपतिले बिहीबार पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले सोही दिनको सांझमा रात्रीभोज दिनुअघि मुखर्जीले काठमाण्डू विश्वविद्यालयको कार्यक्रममा सहभागिता जनाउनेछन्।

साथै उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि राखिएको अधिकारीहरुले बताएका छन्।

शुक्रबार स्वदेश फर्कनुअघि उनले जनकपुर र पोखराको भ्रमण पनि गर्ने योजना छ।