मुखर्जीको भ्रमण: सुध्रिएला सम्बन्ध?

  • 2 नोभेम्बर 2016
तस्वीर कपीराइट presidentofindia
Image caption विदेशमन्त्री हुँदा प्रणव मुखर्जीले तत्कालीन ७ दल र विद्रोही माओवादीबीच १२ बुँदे समझदारी गराउन भारतले सहजकर्ताको भूमिका खेलेको खुलासा गरेका थिए

नेपाल मामिलालाई नजिकबाट बुझेका भारतीय नेताका रुपमा परिचित भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधवारबाट शुरु तीन दिने भ्रमणलाई नेपालमा उत्सुकताका साथ लिइएको छ।

१८ वर्षपछि भारतका राष्ट्राध्यक्षको हैसियतमा नेपाल आउँदा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरिन्।

दुवै देशका अधिकारीहरुले भारतीय राष्ट्रपतिको भ्रमणका क्रममा कुनै नयाँ एजेण्डाहरु प्रस्तुत नगरिने र दुईपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित भई छलफलहरु हुने बताएका छन्।

नेपालको राजनीतिक वृत्त तथा नागरिक समाजसँग नजिकको सम्बन्ध रहेका भनिएका मुखर्जीको यो भ्रमण विशेष महत्वको भएको भारतीय विदेश मन्त्रालयले बताएको छ।

पर्खाइ

अढाई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हालेपछि दिल्लीबाट काठमाण्डूमा हुन थालेका उच्चस्तरीय राजनीतिक भ्रमणहरुको निरन्तरताकै रुपमा राष्ट्रपति मुखर्जीको यो भ्रमणलाई लिइएको छ।

१८ वर्षअघि भारतीय राष्ट्रपति के आर नारायणणले नेपाल आउँदा १२ वर्षपछि भारतीय राष्ट्रपतिलाई नेपाली अधिकारीहरुले स्वागत गरेका थिए।

नारायणणभन्दा अघि भारतका सातौँ राष्ट्रपति ज्ञानी जैल सिंहले सन् १९८६ मा काठमाण्डूको भ्रमण गरेका थिए।

अघिल्लो हप्ता भारतीय विदेश मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा नजिकको छिमेकी भनिए पनि लामो अवधिसम्म भारतीय राष्ट्रपति नेपाल भ्रमणमा किन नगएको भन्ने प्रश्न सोधिएको थियो।

त्यसको जवाफ दिँदै नेपाल र भुटान हेर्ने भारतीय विदेश सहसचिव सुधाकार दलेलाले विगतको कारणबारे व्याख्या गर्न नसक्ने भन्दै अब अर्को भ्रमण हुन पहिले जस्तै लामो समय नलाग्ने बताएका थिए।

भारतीय राष्ट्रपति मुखर्जीका प्रेस सचिवले चाहिँ नेपालको राजनीतिक अस्थिरता पनि एउटा कारण भएको उल्लेख गरेका थिए।

सहजकर्ता

भारतीय विदेशमन्त्रालयले पाँच दशकदेखिको आफ्नो सार्वजनिक जीवनमा नेपालका राजनीतिक नेतृत्व र नागरिक समाजसँग एकदमै नजिकको सम्बन्ध कायम गरेका भारतीय राष्ट्रपतिको नेपाल भ्रमण विशेष महत्वको भएको बताएको छ।

विगतमा रक्षा, अर्थ र परराष्ट्रमन्त्री हुँदा मुखर्जीले नेपालको लोकतान्त्रिक प्रक्रियाका लागि भारतको तर्फबाट महत्वपूर्ण भूमिका खेलेको उसले उल्लेख गरेको छ।

तस्वीर कपीराइट EPA
Image caption भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजनीतिक नेतृत्वसँग निकट सम्बन्ध राखेको बताइन्छ

मुखर्जी स्वयंले सन् २००९ मा अलजजीरा टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा नेपालका माओवादीहरुलाई हतियार त्याग्न र राजनीतिक मुलधारमा आउन भारतले सहयोग गरेको बताएका थिए।

त्यसक्रममा उनले माओवादीहरुले भारतको राजनीतिक सुझावलाई मानेको र अन्य पार्टीहरुसँग सहकार्य गरी सरकारको नेतृत्व गर्ने अवस्थासम्म पुगेको धारणा राखेका थिए।

मुखर्जीको खुलासापछि नै नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणका लागि सन् २००५ मा तत्कालीन ७ दल र विद्रोही माओवादीबिच १२ बुँदे समझदारी गराउन भारतले सहजकर्ताको भूमिका खेलेको प्रष्ट भएको थियो।

तर आफूले सहजीकरण गरेको भनिएको राजनीतिक प्रकिया अन्तर्गत नेपालमा गणतन्त्रको घोषणा भएको ८ वर्षपछि भारतका राष्ट्राध्यक्षको भ्रमण हुन लागेको हो।

अघिल्लो वर्ष संविधानसभाले जारी गरेको नयाँ संविधानलाई स्वागत नगरी भारतले चिसो प्रतिक्रिया जनाएको थियो।

संविधान जारी भएपछि तराईमा भएको आन्दोलनसँगै पाँच महिनासम्म सीमा नाकाबाट आपूर्ती अवरुद्ध भएपछि राजधानी काठमाण्डू लगायत नेपालभरको जनजीवन कष्टकर बनेको थियो।

सुमधुर

सो सीमा अवरोधका कारण नेपालमा भारत विरोधी भावना बढेको ठानिए पनि हालैका महिनाहरुमा दिल्ली भ्रमणमा गएका नेपालका प्रधानमन्त्रीहरुले दुई देशबिचको सम्बन्ध सुमधुर बन्दै गएको बताएका थिए।

यस्तोमा दुईपक्षीय सम्बन्ध विस्तारको लक्ष्यसहित काठमाण्डू आउन लागेका राष्ट्रपति मुखर्जीले आफ्नी समकक्षी विद्यादेवी भण्डारीसहित नेपालका प्रधानमन्त्री र विभिन्न दलका नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ।

भारतीय विदेशमन्त्रालयका अनुसार उनले संविधानप्रति असन्तुष्ट जनाउँदै आएका तराई केन्द्रित दलका नेतासँग पनि कुराकानी गर्नेछन्।

त्यसक्रममा संविधान जारी भएदेखि नै संशोधनमार्फत असन्तुष्ट पक्षका मागहरु सम्बोधन गर्न सुझाव दिइरहेको भारतले त्यसमा भइरहेको ढिलासुस्ति प्रति चासो प्रकट गर्ने ठानिएको छ।

आफ्नो नेपाल भ्रमणका क्रममा भारतीय राष्ट्रपति मुखर्जीले पर्यटकीय नगरी पोखरा र धार्मिक महत्व बोकेको जनकपुरको भ्रमण गर्दैछन्।

संसारभरका हिन्दुहरुले श्रद्धा गर्ने पशुपतिनाथको मन्दिरमा विशेष पूजामा सहभागी हुने उनी तराईका कतिपय क्षेत्रमा भइरहेको आन्दोलनको एउटा मुख्य केन्द्र रहेको जनकपुरस्थित जानकी मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम छ।

भ्रमणका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ र भारतीय राष्ट्रपतिले यात्रा गर्दा प्रयोग गर्ने रुटभन्दा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

भारतीय राष्ट्रपतिको आगमनको दिन सार्वजनिक विदा दिने नेपाल सरकारको निर्णयको भने चौतर्फी रुपमा आलोचना भइरहेको छ।