पूर्व गोर्खाको निवृत्तिभरण 'झन्झटिलो'

  • 3 नोभेम्बर 2016
gorkhas तस्वीर कपीराइट Indian Embassy
Image caption भारतीय सेनामा काम गरेर निवृ्त्त भएका करिब १ लाख २६ हजार पूर्व गोर्खा सैनिक नेपालमा रहेको बताइन्छ

भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिकहरुले निवृत्तिभरणको प्रक्रिया झन्झटिलो हुँदा आफूहरुको निधनपछि परिवारहरु उक्त सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन्।

नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा पुग्दा आफूहरुले भोगिरहेको समस्या सुनाउन चाहेको तर समय नपाएको गुनासो उनीहरुले गरेका छन्।

नेपालमा झण्डै सवा लाख भूतपूर्व भारतीय गोर्खा सैनिक रहेको बताइन्छ।

एकतर्फी

भ्रमणको तेस्रो दिन शुक्रबार भारतीय राष्ट्रपति मुखर्जीले पोखरामा १० हजार भूतपूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने कार्यतालिका छ।

सो कार्यक्रममा राष्ट्रपति मुखर्जीले आफ्नो मन्तव्य राख्ने कार्यक्रम छ।

तर अवकाशप्राप्त झण्डै डेढ लाख भूतपूर्व सैनिकहरुको समस्या सुन्ने कार्यक्रम नराखिएको भूतपूर्व सैनिकहरुले बताएका छन्।

भूतपूर्व भारतीय गोर्खा सैनिकहरुको संस्था ‘एक्स-सर्भिसम्यान सेल’का संयोजक कमानसिंह गुरुङले पोखराबाट टेलिफोनमा भने," तपाईंहरु आइदिनोस् भनेर हामीलाई त भन्छन्। तर हामी त्यहाँ जानेमात्र हो र एकतर्फी कुरा सुन्ने हो। हाम्रो कुरा राख्न पाउँदैनौं।"

भूतपूर्व गोर्खा सैनिकहरुका अनुसार सैनिकको निधनपछि उनीहरुको श्रीमतीले पाउने निवृत्तिभरण दिन भारतीय पक्षबाट थुप्रै समस्या तेर्स्याउने गरिन्छ।

यसले गर्दा निवृत्तिभरण नपाउने सैनिक परिवारहरुको संख्या पोखरामा मात्र हजारौंको संख्यामा छ।

समस्या

आफ्नो समस्या भारतीय राष्ट्रपति समक्ष पुर्याउन बुधबार उनीहरुले हिजो पोखरामा पत्रकार सम्मेलन नै गरेका थिए।

आफ्नो समस्या सुनाउँदै कमानसिंह गुरुङले भने," नागरिकता जस्ता कागजातहरु मिलेन भनेर फर्काइन्छ जसले गर्दा सैनिकका श्रीमतीहरुलाई पेन्सन दिइदैंन। कतिको त पेन्सनको सुविधा नपाइकनै निधन भइसकेको छ।"

अहिले नेपालमा करिब १ लाख २६ हजार अवकाश प्राप्त भारतीय गोर्खा सैनिकहरु छन्।

उनीहरुको आधिकारिक कागजात भारतीय दूतावासमा रहने गरेको र त्यसबारे बुझ्न निकै गाह्रो हुने पनि उनीहरुले बताएका छन्।