इजरेलमा सेवा

  • 5 नोभेम्बर 2016
Image caption एक वृद्धाको स्याहार गर्दै नेपाली महिला

ओखलढुंगाकी सुनिता राई झण्डै आठ वर्षअघि इजरेल आएकी हुन्।

पहिलोपटक इजरेल आइपुग्दा शुरुमा त उनलाई पनि निकै गाह्रो भयो, खासगरी भाषाको कारणले।

“पहिलो काम गर्ने ठाउँमा त घुलमिल हुन निकै गाह्रो भयो। मानसिक यातना जस्तो, डिप्रेसनजस्तो पनि भयो,” सुनिता सम्झिन्छिन्। खासगरी इजरेलमा बोलिने हिब्रु भाषा सिकेपछि काम गर्न सजिलो भएको सुनिताको अनुभव छ।

महिला कामदारहरुका लागि सुरक्षित मात्रै होइन, आम्दानीको हिसाबले पनि इजरेल रामो रहेको उनले बताइन्।

स्याहार

तेल अभिभ शहरमा एक वृद्धाको स्याहार गरिरहेकी सुनिताले उनलाई नुहाइधुवाई गरेर खाना खुवाउनेदेखि स्वास्थ्यचौकी लाने र औषधि दिने जस्ता काम गर्नुपर्ने बताइन्।

“९५ वर्ष पुग्न लागेकी हजुरआमा अहिले पनि निकै सक्रिय छन्, त्यसैले मलाई त्यति गाह्रो छैन।”

हरेक शुक्रबारदेखि शनिबारसम्म २४ घन्टा छुट्टी हुने उनले बताइन्। “नेपाल जाँदा चाहिँ अर्को साथीलाई आफ्नो काम गर्ने ठाउँमा जिम्मा लगाएर जानुपर्ने हुन्छ, उनले भनिन्।

इजरेलमा नेपाली कामदारहरुको संख्या कति छ भन्ने यकिन तथ्यांक छैन, तर नियमसम्मत रुपमा पाँचदेखि ६ हजारको बीचमा नेपालीहरु इजरेलमा केयर गिभर अर्थात् वृद्धवृद्धाको स्याहार गर्ने काममा संलग्न भएको अनुमान छ।

तीमध्ये झण्डै ८० प्रतिशत महिला छन्।

झण्डै नौ वर्षअघि इजरेल आएर अहिले तेल अभिभमा काम गरिरहेकी नितु खतिवडा पनि विदेशमा बसेता पनि नेपालीपन जोगाएर नेपालमा भर, अभर पर्दा सघाउन आफ्नो क्षमताले भ्याएसम्म आफूहरु लागिपरिरहको बताइन्।

“डडेलधुरा, पोखरादखि नेपालको विभिन्न ठाउँबाट आएको भएता पनि यहाँ हामी सबै मिलेर बसेका छौं। दशैं, तिहार, ल्होसार जस्ता चाडपर्व उत्साहपूर्वक मनाउँछौं,” नितुले भनिन्।

गत वर्ष भूकम्प पीडितहरुका लागि झण्डै १० लाख रुपैयाँ सहयोग उठाएर पठाएको पनि उनले बताइन्।

समस्या

नेपालीहरुलाई कुनै समस्या प-यो भने दोभाषेको रुपमा र मुद्दा मामिला पर्दा पनि सघाउने गरेको बताउने नितु एउटा गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन्।

उनको संस्थाले सुदूरपश्चिम नेपालको बझाङमा वादी समुदायका महिलाहरुको सीप विकास र बालबालिकाहरुको शिक्षादीक्षामा सघाइरहेको छ।

झण्डै १० वर्षअघि इजरेल आएकी भैरहवाकी निर्मला खडका अहिले हाइफा शहरमा कार्यरत छिन्।

नेपालका वृद्धवृद्धाको तुलनामा इजरेलका वृद्धवृद्धाहरुको अलि फरक खालले स्याहार गर्नुपर्ने उनले बताइन्।

“यहाँ खानपिन फरक छ। मसलाहरु कम खान्छन, दूधको परिकार रुचाउँछन्। उनीहरु खाने कुराप्रति निकै सचेत छन,” निर्मलाले भनिन्।

कुवेत, सउदी अरेबिया लगायतका मुलुकहरुमा घरेलु कामदारका रुपमा काम गर्ने नेपाली महिलाहरुले शारीरिक यातना तथा यौनजन्य दुर्व्यवहार व्यहोर्नुपरेको समाचार पटक-पटक आइरहँदा इजरेल चाहिँ वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुका लागि एउटा सुरक्षित गन्तव्यको रुपमा देखिएको छ।

त्यहाँ काम गर्ने नेपाली महिलाहरुको संख्या सानो भएपनि उनीहरुले सुरक्षित वातावरणमा काम गरेर राम्रै रकम नेपाल पठाइरहेको जानकारहरु बताउँछन्।

खाडीमा नेपाली महिला कामदारहरुप्रति गरिने दुर्व्यवहारका घटनाहरु सुनेर निकै दुखी हुने गरेको बताउने निर्मलाले इजरेल महिलाहरुका लागि एउटा सुरक्षित रोजगार गन्तव्य भएको दोहो-याइन्।

“यहाँ विदेशी कामदारहरुलाई कानुनी सुरक्षा छ र नेपालीहरुलाई यहाँ सम्मानजनक रुपमा हेरिन्छ,” उनले भनिन्।

फिलिपिन्स, भारत लगायतका मुलुकहरुबाट कामदारहरु लामो समयदेखि इजरेलमा केयर गिभरको रुपमा काम गर्न आइरहेको भएता पनि नेपालबाट भने विक्रम संवत २०६०/६१ देखि मात्रै इजरेल आउने क्रम शुरु भएको जानकारहरु बताउँछन्।

२०६४/६५ तिर नेपाली कामदारहरुको संख्या बढेर झण्डै १७,००० पुगेको थियो।

“तर इजरेल पठाउने नाममा नेपाली म्यानपावर व्यवसायीहरुले चर्को रकम असुल्न थालेको गुनासो बढेपछि इजरेल सरकारले भिसा दिन नै रोकिदियो,” गएको ११ वर्षदेखि इजरेलमा काम गरिरहेका नवराज आचार्यले बताए।

“तलब सुविधा र सुरक्षित काम गर्ने वातावरण भएकाले इजरेलमा प्रशिक्षित कामदारहरु पठाउनेतर्फ सरकारले पहल गर्नुपर्छ,” उनले भने।

अनुमति

गत वर्ष ३०० जना नेपालीहरुलाई इजरेलले केयरगिभरको रुपमा काम गर्न अनुमति दिएको थियो। तर अहिलेसम्म ५९ जनामात्रै त्यहाँ गएको अधिकारीहरु बताउँछन्।

केयरगिभर बाहेकका अन्य क्षेत्रमा पनि नेपाली कामदारहरु पठाउनेबारे गृहकार्य थालिएको वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले बताए।

उनले भने, “कृषि र औद्योगिक क्षेत्रमा पनि मान्छेहरु थपेर पठाउनु प-यो भन्नेबारेखालको कुराकानी भइरहेको छ। हामीले विभिन्न क्षेत्रमा वार्षिक कति जना दक्ष कामदार पठाउन सक्छौं, त्यसअनुसारको कोटा पठाउन भन्ने अनरोध गर्ने हिसाबले चलफल भइरहेको छ।”

५६ वर्षअघि नेपालसँग दौत्य संबन्ध कायम भएको इजरेल प्यालेस्टिनीहरुसँगको द्वन्द्वका कारण विवादमा आउने गर्दछ।

तर आर्थिक तथा सामरिक दृष्टिकोणले शक्तिशाली तथा सुरक्षित रोजगार गन्तव्यको रुपमा चिनिएको उक्त मुलुकमा नेपाल सरकारले थप रोजगारीका लागि पहल गर्नुपर्ने देखिन्छ।