भ्रमण पूरा गरी मुखर्जी स्वदेश फिर्ता

  • 4 नोभेम्बर 2016
तस्वीर कपीराइट .
Image caption मुखर्जीले पोखरामा पूर्व गोर्खा सैनिक र तिनका परिवारलाई सम्बोधन गरेका थिए

तीनदिने नेपाल भ्रमण पूरा गरी दिल्ली फर्किनुअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले तराईको एउटा सांस्कृतिक केन्द्रको रुपमा रहेको जनकपुरधाम र पश्चिमी नगर पोखराको भ्रमण गरेका छन्।

जनकपुरधाममा नागरिक अभिनन्दन समारोहमा बोल्दै ‍मुखर्जीले नेपालको विकास प्रक्रियाको प्रशंसा गरे।

नेपालको राजनीतिक घटनाक्रम र तराईको विषयमा केही बोल्न सक्ने अपेक्षा विपरीत उनले आफ्नो सम्बोधनलाई नेपालको आन्तरिक राजनीतिक विवादबाट अलग राखे।

जानकी मन्दिरमा पूजा आराधना गरी मुखर्जी पोखरा पुगेका थिए।

स्थायित्व

त्यहाँ भारतीय गोर्खा सेनाको पेन्सन क्याम्पमा मुखर्जीले भारतीय सेनाबाट अवकास पाएका पूर्व गोर्खा सैनिक र तिनका परिवारलाई सम्बोधन गरेका थिए।

जनकपुरमा हिन्दी भाषामा करिब १९ मिनेट बोलेका मुखर्जीले भारत नेपालमा स्थायित्व, शान्ति र सम्पन्नता चाहेको बताए।

उनले भने, “एक घनिष्ठ र मित्रतापूर्ण सम्बन्ध भएको छिमेकीका रुपमा भारतको सधैं यहीं इच्छा छ कि नेपालमा शान्ति, स्थिरता र सम्पन्नता होस्।”

राजनीतिक विषयलाई भाषणमा नसमेटे पनि नेपाल सरकारको प्रशंसा गर्दै समावेशी आर्थिक विकास प्राप्त गरेको उनले उल्लेख गरे।

उनले थपे, “म नेपाल सरकारको सराहना गर्न चाहन्छु किनभने तपाईंहरुले समावेशी आर्थिक विकास र जनताका लागि सुखद जीवन दिने बाटो सुनिश्चित गर्नुभएको छ।”

केन्द्रबिन्दु

त्यसअघि उनी करिब २० मिनेटसम्म जानकी मन्दिरमा दर्शन पूजा गरे जहाँ उनले आगन्तुक पुस्तिकामा यो प्रमुख तीर्थस्थल भारत र नेपालको सांस्कृतिक र आध्यात्मिक सम्बन्धमा एउटा महत्वपूर्ण केन्द्रबिन्दु रहेको उल्लेख गरेका थिए।

राष्ट्रपति मुखर्जीलाई उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले मैथिली भाषामा स्वागत गर्दै तराईको विकासमा भारतीय लगानीका लागि आह्वान गरे।

जनकपुर उपमहानगर पालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले नगरवासीको तर्फबाट अभिनन्दन गर्दै नगरको साँचो प्रदान गरेका थिए।

सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएकाले अधिकांश नगरवासीले राष्ट्रपतिको अनुहार प्रत्यक्ष हेर्न पाएनन्।

सडकमा पर्ने घरका झ्याल ढोकाहरु बन्द गराइएको थियो र छानाहरुमा सुरक्षाकर्मी तैनाथ थिए।

गर्व

जनकपुरबाट मुखर्जी पोखरा गएका थिए जहाँको भारतीय सेनाको पेन्सन क्याम्पमा उनले पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गरेका थिए।

पोखरामा पूर्व गोर्खा सैनिकलाई सम्बोधन गर्दै उनले भने, “तपाईं सबै पूर्व सैनिक नेपाल र भारतको मित्रताको आधारशिलाको रुपमा रहनुभएको छ। भारत सरकार र भारतीय सेना तपाईंहरु सबै वीर गोर्खा सैनिक र पूर्व सैनिकप्रति गर्व गर्दछु।”

उनले भारत सरकारले भारतीय सेनामा सेवारत ३२ हजार गोर्खा सैनिक र १ लाख २६ हजार पूर्व सैनिकको कल्याणका लागि काम गर्ने विश्वास दिलाए।

उनले भने, “म भारतको सरकारको तर्फबाट तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु कि भारत सरकार आफ्नो पूर्व सैनिकको कल्याणका लागि हरसम्भव प्रयास गर्नेछ। यो कामबाट हामी पछि हट्दैनौं।“

तर पोखरामा पूर्व गोर्खा सैनिकका विधवा तथा आश्रितले निवृत्तिभरण नपाएको गुनासो रोकिएको थिएन।