ब्रिटेनमा 'न्यायपालिका बचाउन' आह्वान

  • 5 नोभेम्बर 2016
तस्वीर कपीराइट Reuters

युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनको बारेमा फैसला गरेका न्यायाधीशहरुमाथि सञ्चारमाध्यमबाट गम्भीर तथा निराधार भनिएका आक्रमण भएपछि कानुनमन्त्री लिज ट्रसलाई त्यस्ता आक्रमणको निन्दा गर्न बार काउन्सिलले आह्वान गरेको छ।

ती न्यायाधीशहरुले ब्रिटेनले बहिर्गमनमाथि सदनमा मतदान हुनुपर्ने निर्णय गरेका थिए।

ती न्यायाधीशहरुले सरकारले विशेषाधिकार प्रयोग गरेर युरोपेली संघबाट बाहिर निस्किने प्रक्रिया थाल्न नमिल्ने र त्यसका लागि दुवै सदनको स्वीकृति चाहिने बताएका थिए।

डेली मेलले ती न्यायाधीशलाई जनताको शत्रु भनेको छ भने डेली एक्सप्रेसले त्यो दिनलाई प्रजातन्त्रको मृत्यु भएको दिन भनेको छ।

आह्वान

निर्णयको त्यस्तो चर्को आलोचना भएपछि इंग्लण्ड र वेल्सको बार काउन्सिलले कानुनमन्त्री लिज ट्रसलाई ती न्यायाधीशहरुको बचाउ गर्न आह्वान गरेको छ।

कानुनमन्त्रीका रुपमा ट्रस अदालत जेलहरु र संवैधानिक मामिलाका लागि जिम्मेवार छिन्।

ट्रसले त्यो आह्वानबारे कुनै प्रतिक्रिया दिएकी छैनन्।

ट्रसले यस विषयमा मौन बसेर न्यायपालिकालाई निराश बनाएको लेबर पार्टीको भनाई छ।

तस्वीर कपीराइट .

कन्जर्भेटिभ पार्टीका सांसद् र पूर्व महान्यायाधिवक्ता डोमिनिक ग्रीभले ब्रिटेनको एउटा समाचारपत्रलाई नाजी मुखपत्रसँग तुलना गरेका छन्।

छायाँ विदेशमन्त्री रिचर्ड बर्गनले सरकारलाई आलोचनाको तिक्तता नियन्त्रण गर्नका लागि हस्तक्षेप गर्न आह्वान गरेका छन् र कानुनमन्त्रीको पहिलो दायित्व भनेको न्यायपालिकाको स्वतन्त्रताको संरक्षण गर्नुरहेको बताएका छन्।

सम्भावना

तर डेली मेलका स्तम्भकार स्टेफन ग्लोभरले ती न्यायाधीशहरु त्यस्तो आलोचनाबाट डराउने वा चिन्तित हुने सम्भावना नरहेको भन्दै आफ्नो समाचारपत्रको बचाउ गरेका छन्।

केही सांसद्हरुले पनि ती न्यायाधीशको आलोचना गरेका छन्।

युकेआइपीका सांसद् डग्लस कार्सवेल ले उनीहरुलाई ‘जवाफदेहीता नभएका राजनीतिज्ञ’ भनेका छन्।

तस्वीर कपीराइट Reuters

सरकारले आगामी महिना त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपील गर्नेछ।

प्रधानमन्त्री टरीजा मेले सरकारले सो अपील जित्नेमा आफू विश्वस्त रहेको र सन् २०१७ को मार्च महिनामा बहिर्गमनको प्रक्रिया थाल्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।