तुवाँलोमय दिल्ली, ३ दिन विद्यालय बन्द

  • 6 नोभेम्बर 2016
तस्वीर कपीराइट AP

दिल्लीवासीले बाक्लो तुवाँलोको समस्या झेलिरहेका बेला त्यहाँका मुख्यमन्त्रीले तीन दिनका लागि सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएका छन्।

मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अति वायु प्रदूषणको समस्यासँग जुध्नका निम्ति विभिन्न कदमहरु चालिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

वायु प्रदूषणसम्बन्धी बढ्दो समस्यामाझ दिल्ली सरकारले पाँच दिनका लागि निर्माण तथा भत्काउनेसम्बन्धी सबै काममा रोक लगाएको छ।

धूलोको कण नियन्त्रण गर्न सडकमा पानी छर्किइनेछ।

आग्रह

मुख्यमन्त्री केजरीवालले दिल्लीवासीलाई सकेसम्म घरभित्र बस्न र सम्भव भए घरबाट कामहरु गर्न आग्रह गरेका छन्।

सरकारले चालेका अन्य कदमहरुमा ल्याण्डफिल साइटमा फोहोर जलाउने काम रोक्ने तथा बदरपुरस्थित कोइला ऊर्जा प्लान्ट बन्द गर्ने रहेका छन्।

तस्वीर कपीराइट AP

वायु प्रदूषणका कारण झण्डै १८ सय सरकारी विद्यालयहरु शनिबारदेखि नै बन्द गरिएका छन्।

विश्य स्वास्थ्य संगठनले तोकेको सुरक्षित स्तरभन्दा ९० गुणा र भारत सरकारले तोकेको भन्दा १५ गुणाले बढी प्रदूषण भएपछि दिल्ली सरकारले पछिल्ला कदमहरु चालेको हो।

मास्क लगाएका सयौं मानिसहरुले आइतबार दिल्लीको जन्तरमन्तर भन्ने ठाउँमा प्रदर्शन गरेका छन्।

चिन्ता

सामाजिक सञ्जालमा माइ राइट टु ब्रिद अर्थात सास फेर्न पाउने मेरो अधिकार लेखेर उनीहरुले बढ्दो वायु प्रदूषणप्रति चिन्ता र आक्रोश व्यक्त गरेका छन्।

एनडीटिभीले भारतको मौसम महाशाखाका एकजना अधिकारीलाई उद्धृत गर्दै बाक्लो तुवाँलोका कारण बिहान साढे ८ बजेको समयमा २०० मिटरभन्दा परको दृश्य नदेखिने अवस्था भएको बताएको छ।

मुख्यमन्त्री केजरीवालले दिपावली पर्वदेखि तुवाँलोको समस्या झेलिरहेको दिल्ली सरकारलाई सघाउन केन्द्र सरकारलाई आग्रह गरेका छन्।

उज्यालोको पर्व मानिने दिपावलीमा भारी मात्रामा पटाका पड्काइएकोले पनि वायु प्रदूषण बढेको बताइएको छ।

दिल्लीका गरीबहरुले जाडो मौसममा राति आगो ताप्नका निम्ति फोहोर जलाउने गर्नु पनि प्रदूषणको अर्को कारण हो।