रक्कालाई आइएसबाट मुक्त गराउन आक्रमण

  • 6 नोभेम्बर 2016
तस्वीर कपीराइट AP

अमेरिकी समर्थनप्राप्त कुर्द तथा अरब संलग्नता रहेको एउटा लडाकु समूहले सिरियामा इस्लामिक स्टेटको राजधानी भनिएको रक्का शहरलाई कब्जा गर्नका लागि कारबाही शुरु गरेको छ।

द सिरिया डेमोक्रेटिक फोर्सेजलाई अमेरिकी नेतृत्वको गठबन्धनको हवाई हमलाले सघाउनेछ।

रक्काबाट करिब ५० किलोमिटर टाढा रहेको ऐन इस्सा नगरमा एउटा पत्रकार सम्मेलनमा त्यो कारबाही शुरु भएको घोषणा गरिएको थियो।

द सिरिया डेमोक्रेटिक फोर्सेज एसडिएफ ले सर्वसाधारणलाई आइएसका लडाकु रहेको क्षेत्रबाट टाढा रहने चेतावनी दिएका छन्।

पुष्टि

वाशिंटनका एक अधिकारीले पनि त्यस्तो आक्रमण शुरु भएको पुष्टि गरेका छन्।

एसडिएफ का अर्का प्रवक्ताले दह्रो प्रत्याक्रमणको अपेक्षा गरेको एएफपी समाचार संस्थालाई बताएका छन्।

अमेरिकाको सहयोगमा इराकी सेनाले मोसुलबाट आइएसलाई हटाउने कारबाही जारी राखेको समयमा सिरियामा पनि त्यो कारबाही शुरु हुन लागेको हो।

आइएसले सन् २०१४ मा घोषणा गरेको खलिफेट क्षेत्रको राजधानी रक्का शहरलाई मानेको थियो।

कठिन

तस्वीर कपीराइट AP

एइएचएस कन्फ्लिक्ट मनिटर नामक संस्थाले गत अक्टोबर महिनामा प्रकाशित गरेको प्रतिवेदनमा जिहादीहरुले यस वर्षको शुरुवातमा नियन्त्रणमा राखेको क्षेत्रमध्ये १६ प्रतिशत गुमाएको र सन् २०१५ को ज्यानुअरी महिनायता कूल एक चौथाई भूभाग मात्रै गुमाएको बताएको छ।

विगत २ वर्षमा कुर्द लडाकु समूह वाइपिजि को बाहुल्य रहेको एसडिएफ गठबन्धन अमेरिकी नेतृत्वको गठबन्धनको प्रमुख समर्थक बनेको छ र त्यो समूहले उत्तरी सिरियामा आइएसविरुद्धको लडाईंको नेतृत्व गरिरहेको छ।

उत्तरतर्फ सिरियाको सबैभन्दा नजीकको छिमेकी टर्कीले लडाइँमा भाग नलिने अनुमान गरिएको छ।

टर्कीले वाइपिजि लाई आतंकवादी समूह भनेको छ र रक्कालाई स्वतन्त्र बनाउने कारबाहीमा कुर्दहरुको भूमिकालाई नस्वीकार्ने बताएको छ।

३० हजार सदस्य रहेको एसडिएफ मा २५ हजारसम्म वाइपिजिका सदस्य भएको केहीले अनुमान गरेका छन्।

विश्लेषण

बीबीसीका टर्की संवाददाता मार्क लोवेन भन्छन्, इराकमा मोसुललाई कब्जा गर्ने कारवाही जारी रहेकै समयमा आइएसका लडाकुहरुलाई इराकबाट सिरिया जान नदिनका लागि पनि अमेरिकाले यस समयमा रक्कामाथि आक्रमण शुरु गर्न खोजेको हो।

तर रक्कामा हुने लडाईं मोसुलको भन्दा लामो र कठिन हुने छ।

लडाईं शुरु भएको ६ औं वर्षमा सिरियाका युद्धरत पक्षहरु आइएसका विरुद्ध लडिरहेका छन र एकअर्काविरुद्ध पनि लडिरहेका छन् जसका कारण जिहादी समूहविरुद्ध उनीहरुको ध्यान केन्द्रित छैन।

इराककको सरकारलाई अन्तर्राष्ट्रिय समर्थन प्राप्त छ भने पश्चिमा मुलुकहरु सिरियाली सरकारको विरुद्धमा छन्।