क्लिन्टन र ट्रम्प अन्तिम प्रचारप्रसारमा

  • 7 नोभेम्बर 2016
तस्वीर कपीराइट Reuters

संयुक्त राज्य अमेरिकामा राष्ट्रपतीय निर्वाचनका उम्मेदवारद्वय हिलरी क्लिन्टन र डोनल्ड ट्रम्पले मतदानको एक दिनअघि आफ्नो अन्तिम चरणको प्रचारप्रसार अभियान द्रुत गतिमा सञ्चालन गरिरहेका छन्।

तिक्ततापूर्ण रहेको प्रचारप्रसार अभियानको अन्तिम दिन मतदाताका हिसाबले महत्वपूर्ण ठानिएका राज्यहरुलाई लक्षित गर्दै उनीहरु विभिन्न र्यालीहरुमा सहभागी हुँदैछन्।

क्लिन्टनले मिशीगन राज्यबाट आफ्नो अन्तिम दिनको प्रचारप्रसार अभियान आरम्भ गर्दैछिन् भने अर्का उम्मेदवार ट्रम्पले फ्लोरिडालाई आफ्नो लक्ष्य बनाएका छन्।

ती रिपब्लिकन उम्मेदवारले राज्य प्रणालीमा आफ्नाविरुद्ध हुने गरी धाँधली भएको दाबी पुन: दोहोर्याएका छन्।

विवादास्पद

अमेरिकाको संघीय गुप्तचर निकाय एफबीआइले क्लिन्टनका इमेलहरु बारेको एक विवादास्पद प्रकरणमा गरिएको पछिल्लो छानबिनले उनलाई अपराधी साबित गर्न सकिने कुनै प्रमाण फेला पार्न नसकेको घोषणा गरेपछि ट्रम्पको त्यस्तो दाबी आएको हो।

ट्रम्पले एफबीआइले अनुचित कार्य गरेको आरोप लगाएका छन्।

तस्वीर कपीराइट AFP

डेट्रोएटको एक उपनगरीय क्षेत्रमा आयोजित र्यालीमा बोल्दै उनले ६ लाख ५० हजार इमेलहरुको छानबिन यति छोटो समयमा हुन नसक्ने बताएका छन्।

एफबीआईका निर्देशकले भनेका छन्, डेमोक्र्याटिक पार्टीका उम्मेदवारले गरेको इमेल आदानप्रदानसम्बन्धी पछिल्लो छानबिनले यसअघि ग्रीष्मयाममा गरिएको अनुसन्धानको निष्कर्षमा परिवर्तन गर्न आवश्यक नदेखाएको बताएका थिए।

विवाद

क्लिन्टनको चुनाव प्रचार अभियान टोलीले लामो समयसम्म तन्किएर रहेको यो विवादको अब समाधान भएको भन्दै ‘खुशी’ व्यक्त गरेको छ।

एफबीआईको निर्णयपछि उत्पन्न नाटकीय मोडले अमेरिकामा राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसार अभियानको अन्तिम दिनमा उनको अभियानमाथि देखिएको अन्योलको वातावरण सफा गरिदिएको बताइएको छ।

वाशिंगटनस्थित बीबीसी संवाददाता भन्छन्, हिलरी क्लिन्टनको सबैभन्दा ठूलो समस्या भनेको मतदान गर्न उत्साह नदेखाएका मतदाताहरुलाई मतदान केन्द्रसम्म जान प्रेरित गर्नु नै हुनेछ।