अमेरिकामा मतदान अघि प्रचार तीव्र

  • 8 नोभेम्बर 2016
तस्वीर कपीराइट AP
Image caption हालैको मत सर्वेक्षणले क्लिन्टन उनका प्रतिद्वन्द्वी डोनल्ड ट्रम्प भन्दा ४ प्रतिशत अंकले अगाडि रहेको देखाएको छ

अमेरिकी राष्ट्रपति पदका लागि चुनावी अभियानका लागि अन्तिम घण्टाहरु मात्रै बाँकी रहँदा दुवै प्रत्यासी हिलरी क्लिन्टन र डोनल्ड ट्रम्पले निर्णायक हुनसक्ने ठानिएका राज्यहरुमा समर्थन जुटाउन प्रचार तीव्र पारेका छन्।

अमेरिकाको संघीय जाँच ब्युरो एफबिआइले क्लिन्टनका इमेलहरुको अनुसन्धानपछि उनीमाथि कुनै अभियोग लगाउनुपर्ने प्रमाण नभेटिएको बताएपछि विश्वभर शेयर बजार उकालो लागेको छ।

रिपब्लिकन उम्मेदवार ट्रम्पले चाहिँ धाँधलीपूर्ण प्रणाली आफूविरुद्ध खनिएको आरोप लगाएका छन्।

'नकारात्मक टिप्पणी'

राष्ट्रपतिका दुवै उम्मेदवार हिलरी क्लिन्टन र डोनल्ड ट्रम्पले मत निर्णायक हुनसक्ने मुख्य राज्यहरुमा सोमबार आफ्नो चुनावी अभियानलाई केन्द्रित गरेका थिए।

'द इकोनोमिस्ट'का लागि 'युगोभ' ले गरेको पछिल्लो मत सर्वेक्षणले डेमोक्र्याट क्लिन्टनले चार अंकले अग्रता लिएको देखाएको छ।

क्लिन्टनले मिसिगनमा आफ्ना समर्थक समक्ष बोल्दै मतदाताका सामु एकता र विभाजनमध्ये एक विकल्प छान्ने अवस्था आएको बताइन्।

पेन्सिलभेनियामा बोल्दै ट्रम्पले चाहिँ सरकारी भ्रष्टाचार अन्त्य गर्ने र रोजगारका अवसर देशभित्रै फिर्ता ल्याउने बाचा गरे।

अमेरिकामा मतदान हुने अघिल्लो दिन, ट्रम्पको चुनावी प्रचार टोलीले ट्रम्पप्रति देशबाहिरबाट अभिव्यक्त भएका नकारात्मक टिप्पणीको निराकरण गर्ने कोशिस गरेको छ।

अभियानकी व्यवस्थापक केलियन कनवेले बीबीसीसँग ट्रम्पप्रति जनाइएको विद्वेषले ट्रम्प किन यस चुनावी दौडमा छन् र उनी विश्वव्यापी मञ्चमा कस्तो हुनेछन् भन्ने कुरालाई सही ढंगले प्रतिविम्वित नगर्ने बताइन्।

आलोचना

चुनावी अभियानका क्रममा ट्रम्पले कतिपय विश्व नेताहरुबाट चर्को आलोचना खेपेका छन्।

फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलाँदले ट्रम्पले मानिसहरुलाई वाक्क पारेको बताए।

त्यस्तै संयुक्त राष्ट्रसंघको मानव अधिकारका उच्चायुक्तले ट्रम्पलाई अन्तर्राष्ट्रिय स्तरमै खतराको रुपमा व्याख्या गरेका छन्।

कनवेले क्लिन्टनले आफ्नो घरमा काम गर्ने महिलालाई आफ्ना गोप्य दस्तावेजहरु प्रिन्ट गर्न दिएको भन्ने आरोप लगाउँदै त्यसको निन्दा गरिन्।

आइतबार एफबिआइका निर्देशक जेम्स कोमीले क्लिन्टनले इमेल प्रयोग गरेको विषयमा भएको पछिल्लो अनुसन्धानले उनीमाथि कुनै फौजदारी अभियोग लगाउनु नपर्ने यसअघिको एफबिआइको निस्कर्षमा केही परिवर्तन गर्नुपर्ने नदेखिएको बताएका थिए।

एफबिआइको यस्तो घोषणापछि विश्वभर शेयर बजार उकालो लागेको छ।

९ दिनदेखि ओरालो लागेको वाल स्ट्रीटको शेयर दुई प्रतिशतले बढेको छ।

यसअघि युरोपेली र एशियाली बजार पनि एफबिआइको निर्णयसँगै ओरालो लागेको थियो भने अहिले उसको पछिल्लो भनाइले मंगलबार हुने मतदानमा डेमोक्र्याट उम्मेदवार क्लिन्टनले चुनाव जित्ने सम्भावना बढेको आशमा शेयर बजारमा सुधार देखिएको छ।