क्लिन्टन र ट्रम्पबीच कडा प्रतिस्पर्धा

  • 9 नोभेम्बर 2016
swing
Image caption राष्ट्रपतीय चुनावमा अनिर्णित राज्यहरु निर्णायक हुने ठानिएको छ।

अमेरिकामा नयां राष्ट्रपति छान्न भइरहेको चुनावअन्तर्गत पूर्वी भेगका अधिकांश राज्यमा मतदान सकिएको छ।

तीमध्ये चुनाव जित्न महत्वपूर्ण ठानिएका र निकै प्रतिस्पर्धा रहेको फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको नतिजालाई चाखपूर्वक हेरिएको छ।

अमेरिकी टेलिभिजन एबीसीले केन्टकी, इण्डियाना र वेस्ट भर्जिनियामा रिपब्लिकन डोनल्ड ट्रम्पले र भर्मन्टमा डेमोक्रयाट हिलरी क्लिन्टनले जित्ने प्रक्षेपण गरेको छ।

पछिल्लो विवरण अनुसार राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये क्लिन्टनको पक्षमा १०४ र ट्रम्पको पक्षमा १२९ जाने प्रक्षेपण गरिएको छ।

कडा प्रतिस्पर्धा

मतदान गरेर फर्किएका मानिसहरुमाझ गरिएको सर्वेक्षण एक्जिट पोलका नतिजाहरु आउन थालेका छन्।

ती नतिजाका अनुसार डोनल्ड ट्रम्प र हिलरी क्लिन्टनबीच तीव्र प्रतिस्पर्धा देखिन्छ।

अमेरिकी टेलिभिजन च्यानल एबीसीले केन्टकी, इण्डियाना र वेस्ट भर्जिनियामा डोनल्ड ट्रम्पले र भर्मन्टमा हिलरी क्लिन्टनले जित्ने प्रक्षेपण गरेको छ।

देशभर ठूलो संख्यामा मतदान भएको विवरणहरु आएका छन्। प्रतिस्पर्धा कडा देखिएकाले मतदाताहरुको ठूलो संख्या जितका लागि निर्णायक हुने ठानिएको छ।

बीबीसीका उत्तर अमेरिका सम्पादक जन सोपेल भन्छन्, "नतिजा जसको पक्षमा गएपनि इतिहास रचिनेछ। कि त पहिलो महिला राष्ट्रपति हुनेछिन् कि त्यस्ता राष्ट्रपति हुनेछन् जो न निर्वाचित सार्वजनिक पद न सेनामा कहिल्यै कार्यरत थिए"।

संसद

अमेरिकामा संसदका लागि पनि संगसंगै चुनाव भइरहेको छ।

माथिल्लो सदन सिनेटको एक तिहाइ सिट र तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सको सबै सिटका लागि चुनाव भएको छ।

प्रारम्भिक नतिजाहरुमा माथिल्लो सदनमा डेमोक्रयाटहरु बलियो देखिएका छन्।

तर तल्लो सदनमा रिपब्लिकनहरुले बलियो अग्रता कायम गरेका छन्।

दुवै सदन अहिले चाहिँ रिपब्लिकनहरुको नियन्त्रणमा छन्।

आआफ्ना पार्टी संसद पनि बलियो भए नयां राष्ट्रपतिलाई नयां कानुन बनाउन सहज हुनेछ।

आशंका

एउटा टेलिभिजन अन्तर्वार्तामा डोनल्ड ट्रम्पले चुनावी नतिजा स्वीकार्नुअघि घटनाहरु कसरी अगाडि बढ्छन् भन्नेबारे हेर्नुपर्ने बताएका छन्।

अभियानका क्रममा चुनावी प्रक्रियामा धांधली भएको बताउंदै आएका उनले फक्स न्यूजसंग कुरा गर्दै आफूले मतदानमा अनियमितता भएको विवरणहरु सुनेको बताए। ।

यसैबीच क्यालिफोर्नियामा एउटा मतकेन्द्र नजिकै गोली हानाहानको घटना भएपछि उक्त केन्द्र बन्द गरिएको छ।

उक्त घटनामा एक जना मारिएको र कम्तीमा तीन जना घाइते भएको पुष्टि भइसकेको छ।