एकताबद्ध हुन अमेरिकालाई ट्रम्पको आह्वान

  • 9 नोभेम्बर 2016

संयुक्त राज्य अमेरिकाका आगामी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो आश्चर्यजनक निर्वाचन विजयपछि देशलाई एकतावद्ध हुन आग्रह गरेका छन्।

उनको रिपब्लीकन पार्टीले सिनेट र हाउस अफ रेप्रेजेन्टेटिभ्समा पनि बहुमत हासिल गरी अमेरिकामा शक्तिको सबै तहमा नियन्त्रण कायम गरेको छ।

यसअघि राजनीतिमा संलग्न नरहेका रिपब्लीकन उम्मेदवार डोनल्ड ट्रम्पले निर्वाचनपूर्वका मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै, स्वींग स्टेट भनिने अप्रत्यासित तर निर्णायक राज्यहरु सहित फ्लोरिडा, ओहायो र पेन्सिल्भेनिया राज्यहरुमा जीत हासिल गरेका थिए।

आगामी राष्ट्रपति-निर्वाचित ट्रम्पले भनेका छन् उनले सबै अमेरिकीहरुको सेवा गर्नेछन्।

को हुन् डोनल्ड ट्रम्प?

तस्वीर कपीराइट AP

“अब अमेरिकाले विभाजनका घाउहरुलाई सिलाउनु पर्ने समय भएको छ र एकताबद्ध हुनु परेको छ।

“यो देशभरीका रिपब्लीकन, डेमाक्र्याट र स्वतन्त्र उम्मेदवार समर्थकहरुलाई म भन्न चाहन्छु कि अब हामीले एकताबद्ध जनताका रुपमा एकै ठाउंमा मिल्नुपर्ने बेला भएको छ।“

डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनलाई एउटा कडा प्रतिस्पर्धापूर्ण र विभाजनकारी प्रचार अभियानपछि भएको निर्वाचनमा पराजित गरेपछि बोल्दै, ट्रम्पले करोडौं परिश्रमी नागरिकहरुले आफ्नो राम्रो भविष्यका लागि मतदान गरेको बताए।

उनले प्रत्येक अमेरिकीलाई आफ्नो सम्पूर्ण क्षमताको सदुपयोग गर्ने अवसर प्राप्त हुने पनि बताए।

स्तब्धकारी

मतगणना राती अवेरसम्म जारीरहंदा विस्कनसिन राज्यको मत परिणाम हासिल भएपछि डोनल्ड ट्रम्पले कतिपयका लागि ‘स्तब्धकारी’ विजय प्राप्त गरेका थिए।

त्यहांको परिणामपछि उनलाई जीतका लागि आवश्यक ५३८ इलेक्टोरल भोट मध्ये निर्णायक २७० भोट प्राप्त भएको थियो।

त्यसको केहि समय पछि नै प्रतिद्वन्द्वी उम्मेदवार हिलरी क्लिन्टनले उनलाई टेलिफोन गरेर बधाई दिंदै आफ्नो हार स्वीकार गरेकी थिइन्।

ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित

राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले न्यूयोर्कको एउटा होटलको समारोहकक्षमा आफ्ना परिवारजनलाई साथमा राखेर मञ्चमा उपस्थित भै आफ्ना विपक्षीको प्रशंसा गरेका थिए।

चुनाव प्रचारप्रसारका क्रममा मुसलमान, हिस्प्यानिक र अन्य अल्पसंख्यकहरुको आलोचना गरेका भएतापनि डोनल्ड ट्रम्पले आफू ‘सबै अमेरिकीहरु’ को राष्ट्रपति बन्ने पनि प्रतिबद्धता व्यक्त गरे।

उपयुक्त

तस्वीर कपीराइट Getty

उनले मतदातालाई सम्बोधन गर्दै भने, "म अमेरिकाको हीतलाई सर्वोपरी राख्‍नेछु तर अमेरिकासंग सम्बन्ध राख्‍न चाहने देशहरुसंग उपयुक्त व्यवहार पन‌ि गरिनेछ।"

उनको रिपब्लिकन पार्टीलाई थप बल मिल्ने गरी, सो दलले अमेरिकी संसदको दुवै सदनमा आफ्नो नियन्त्रण कायम गरेको छ।

राष्ट्रपति ओबामाले सत्ता हस्तान्तरणका बारे छलफल गर्न विहीबार डोनल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रण गरेका छन्।