अमेरिकी निर्वाचन: लाइभ (13.46 सम्म)

  • 9 नोभेम्बर 2016
तस्वीर कपीराइट Getty

13.46 ट्रम्प पेनसिल्भानियामा विजयी – एबीसी न्युज प्रक्षेपण

२० इलेक्टोरल सीट सहित महत्वपूर्व मानिएको पेनसिल्भानिया राज्यमा डोनाल्ड ट्रम्प विजयी भएको प्रक्षेपण गरिएको छ।

13.39 म सबै अमेरिकीको राष्ट्रपति हुनेछु: ट्रम्प

आफ्ना समर्थकहरुका माझ उपस्थित ट्रम्पले छोटो सम्बोधन गर्दै आफु सबै अमेरिकीको राष्ट्रपति हुने बताए।

आफ्ना प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले फोन गरेर बधाई दिएको भन्दै उनले क्लिन्टनले देशलाई विगतमा पुर्याएको योगदानको प्रशंसा गरे।

13.25 क्लिन्टनले हार स्वीकारिन् – अमेरिकी सञ्चार माध्यम

सीएनएन तथा एनबीसीका अनुसार हिलरी क्लिन्टनले डोनाल्ड ट्रम्पलाई फोन गरेर हार स्वीकार गरेकी छन्।

13.20 डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति निर्वाचित – एपी

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचित भएको जनाएको छ।

12.57 मेइनको इलेक्टोरल भोट बाँडियो

एबीसी न्यूजको प्रक्षेपण अनुसार मेइन राज्यको चार इलेक्टोरल सीट मध्ये तीन क्लिन्टनको पक्षमा र एक ट्रम्पको पक्षमा बाँडिनेछ।

मेइन र नेब्रास्का दुई अमेरिकी राज्यले आफ्ना इलेक्टोरल सीट बाँड्न सक्छन्।

12.16 सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण कायम

रिपब्लिकन पार्टिले माथिल्लो सदन सिनेटमा पनि आफ्नो नियन्त्रण कायम राख्ने भएको छ।

अब रिपब्लिकन पार्टिले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ दुवै सदनमाथि नियन्त्रण कायम राख्नेछ।

डोनाल्ड ट्रम्पले व्हाइट हाउस जितेभने उक्त पार्टिका निम्ति यो ठूलो विजय हुनेछ किनभने यसले कानुनहरु पारित गर्न सहज बनाउनेछ।

तस्वीर कपीराइट Getty

11.29 ओबामा – “बिहान सूर्य उदाउने नै छ”

एक भिडियो वक्तव्य जारी गर्दै राष्ट्रपति ओबामाले जुनसुकै उम्मेदवारले जितेपनि प्रजातन्त्र प्रधान रहने बताएका छन्।

उनले ट्वीटरको प्रयोग गरेर मतदाताहरुलाई “एक अर्कालाई डेमोक्र्याट वा रिपब्लिकन मात्र नभइ अमेरिकी जनताको रुपमा हेर्न” आग्रह गरेका छन्।

11.04 महत्वपूर्ण राज्यहरुको मतगणना अवस्था:

- अहिलेसम्म क्लिन्टनभन्दा ट्रम्पले धेरै ‘स्वींग स्टेट’ भनिने चलायमान राज्यहरुमा जित्ने प्रक्षेपण छ।

- ट्रम्पले फ्लोरिडा, ओहायो र नर्थ क्यारोलाइना हात पारेको प्रक्षेपण गरिएको छ। उनले अब २६ वटा थप इलेक्टोरल कलेज सीट जित्न बाँकी देखाइएको छ।

- क्लिन्टनले भर्जिनिया जित्ने प्रक्षेपण छ।

- पेन्सिल्भानिया र मिशिगन राज्यमा अझै कडा टक्कर देखिएकाले कुनै प्रक्षेपण गरिएको छैन।

10.36 जोर्जिया पनि ट्रम्पको पक्षमा

१६ इलेक्टोरल सीट रहेको जोर्जिया राज्यमा ट्रम्पले जित्ने प्रक्षेपण एबीसीले गरेको छ।

10.17 फ्लोरिडामा ट्रम्प विजयी हुने – एबीसी प्रक्षेपण

२९ इलेक्टोरल सीट रहेको महत्वपूर्ण ब्याटलग्राउन्ड राज्य फ्लोरिडामा डोनल्ड ट्रम्प विजयी हुने अमेरिकी टेलिभिजन च्यानल एबीसीले प्रक्षेपण गरेको छ। यस राज्यमा ठूलो संख्यामा रहेका हिस्पानीक समुदायका कारण हिलरी क्लिन्टनले जित्ने ठानिएको थियो।

10.06 ट्रम्पको सम्भावित जितबाट एसिया विचलित!

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुने सम्भावना देखिन थालेपछि एसियाका बजारहरुमा प्रभाव देखिएका छन्। भारतको स्टक बजार खुले लगत्तै ३.७ प्रतिशत खस्किएको छ। अष्ट्रेलिया, जापान, हंगकंग, शांघाइ तथा दक्षिण कोरियाका अन्य महत्वपूर्ण बजारमा पनि गिरावट आएका छन्।

9.53 नर्थ क्यारोलाइना ट्रम्पको पक्षमा – एबीसी

निकै महत्वपूर्ण मानिएको तथा अनिर्णित मध्ये ठानिएको नर्थ क्यारोलाइनासंग १५ इलेक्टोरल भोट रहेको छ।

9.48 डलरको भाउ खस्कियो

निर्वाचन परिणाममा ट्रम्पको प्रदर्शन संगै बजारमा डलरको भाउ तथा शेयर मार्केटको अंक खस्किएका छन्।

9.45 क्यालिफोर्निया र हवाई क्लिन्टनलाई, आइडाहो ट्रम्पलाई

क्यालिफोर्नियाले सन् १९९२ यता संधै डेमोक्र्याटिक उम्मेदवारलाई समर्थन गर्दै आएको छ। यस राज्यमा ५५ इलेक्टोरल सीट छ।

तस्वीर कपीराइट Reuters

9.37 ध्यान दिनुपर्ने राज्यहरु

मतगणनाका परिणामहरु आउँदै गर्दा केही थोरै यस्ता राज्य छन् जहाँको परिणामले विजेताको निर्णय गर्नेछन्। जर्ज वाशिंगटन युनिभर्सिटिका प्राध्यापक माइकल कर्नफिल्ड भन्छन् फ्लोरिडा, भर्जिनिया, मिशिगन तथा पेनसिल्भानिया राज्यमा ध्यान दिनुपर्छ।

9.10 ओहायो पनि ट्रम्पको खातामा – प्रक्षेपण

निकै महत्वपूर्ण ठानिएको ब्याटलग्राउन्ण स्टेट समूहमा पर्ने ओहायोको १८ इलेक्टोरल सीट ट्रम्पको खातामा जाने प्रक्षेपण एबीसीले गरेको छ।

द्वितीय विश्व युद्ध यता भएका एउटा बाहेक सबै निर्वाचनमा ओहायोले विजेता राष्ट्रपति उम्मेदवारकै पक्षमा मत दिंदै आएको छ।

8.56 मिजौरी ट्रम्पको खातामा जाने, न्यू मेक्सिको क्लिन्टनको हातमा – एबीसी प्रक्षेपण

विगतको चारवटा निर्वाचन जस्तै यसपटक पनि मिजौरी राज्यले रिपब्लिकन उम्मेदवारलाई समर्थन गरेको प्रक्षेपण गरिएको छ।

न्यू मेक्सिको राज्यमा भने क्लिन्टनले जित्ने प्रक्षेपण गरिएको छ।

8.29 क्लिन्टनले छिट्टै जित्ने संकेत देखिएन

कतिपय टिप्पणीकारहरुले फ्लोरीडा जस्ता महत्वपूर्ण राज्य जितेमा यसपालीको मतगणना चाँडैनै हिलरी क्लिन्टनको पक्षमा जाने भनेका थिए।

तर फ्लोरिडामा ट्रम्प झिनो अन्तरले अगाडि रहनु तथा अन्य जोर्जिया जस्ता महत्वपूर्ण राज्यको जित प्रक्षेपणमा ढिलाई हुँदा छिट्टै विजेता प्रष्ट हुने छाँट देखिंदैन।

8.28 ट्रम्पले जित्ने सम्भावना राम्रो – न्यूयोर्क टाइम्स

न्यूयोर्क टाइम्सको हिसाबमा ट्रम्पले जित्ने सम्भावना ५३ प्रतिशत रहेको जनाइएको छ।

तस्वीर कपीराइट Reuters

8.20 लुजियानामा ट्रम्पले जित्ने प्रक्षेपण

लुजियाना राज्यले लगातार चार पछिल्लो निर्वाचनमा रिपब्लिकन उम्मेदवारको समर्थन गरेको छ।

8.07 पछिल्लो मत प्रक्षेपण

क्लिन्टनको पक्षमा १०४ तथा ट्रम्पको पक्षमा १२९। जित्नलाई २७० आवश्यक हुन्छ।

8.01 क्लिन्टनले कनेटिकट जित्ने – एबीसी प्रक्षेपण

हिलरी क्लिन्टनले डेमोक्र्याटहरुको बलियो स्थिति रहेको ७ इलेक्टोरल कलेज भोट/सीट सहितको कनेटिकट राज्यमा जित्ने प्रक्षेपण गरिएको छ।

7.54 आर्कान्सामा ट्रम्पले जित्ने - एबीसी न्यूजको प्रक्षेपण

क्लिन्टन दम्पतिले आफ्ना राजनीतिक जीवन यात्रा शुरु गरेको आर्कान्सा राज्यमा ट्रम्पले जित्ने प्रक्षेपण छ। उक्त राज्यले सन् १९९० को दशकका निर्वाचनहरुमा बील क्लिन्टनलाई समर्थन गरेको थियो भने सन् २००० यता रिपब्लिकन उम्मेदवारहरुको पक्षमा लागेको छ।

7.45 अर्को ६ राज्य ट्रम्पको खातामा, एउटा क्लिन्टनलाई – एबीसी प्रक्षेपण

क्लिन्टनले आफ्नो गृह राज्य न्यूयोर्क जित्ने प्रक्षेपण गरिएको छ। ट्रम्पले टेक्सास, क्यान्सस, नर्थ डेकोटा, साउथ डेकोटा तथा वायोमिङ्ग जित्ने एबीसी न्यूज नेटवर्कले प्रक्षेपण गरेको छ। ट्रम्पले नेब्रास्का पनि जित्ने देखिन्छ। यी कुनै पनि राज्य निर्णायक ठानिने ब्याटलग्राउण्ड स्टेट्स भने होइनन्।

7:36 तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभको नियन्त्रण रिपब्लिकन पार्टिकै कायम रहने – एबीसी प्रक्षेपण

रिपब्लिकनहरुले तल्लो सदन जित्ने धेरैले ठानेका थिए। सो पार्टि माथिल्लो सदन सिनेटमा पनि आफ्नो सुविधाजनक उपस्थिति कायम राख्न प्रयत्नशील छ।

तस्वीर कपीराइट EPA

7.29 कडा टक्करमाझ फ्लोरिडा मतगणना जारी

अहिले फ्लोरिडा मतगणनामा ट्रम्प झिनो मतले अगाडि रहेको देखिन्छन्।

7.22 हालसम्म कुनै अनपेक्षित प्रक्षेपण भएको छैन

ट्रम्पले सदाझैं रिपब्लिकनकै पक्षमा रहने गरेका इन्डियाना, एलाबामा, केन्टकी, वेष्ट भर्जिनिया, ओक्लाहोमा, टेनिसि तथा साउथ क्यारोलाइनामा जित्ने प्रक्षेपण छ।

क्लिन्टनले परम्परागत रुपमै डेमोक्र्याटिक पक्षधर मानिने भर्मन्ट, डेलावेयर, म्यारिल्याण्ड, मासाच्युसेट्स तथा न्यू जर्सी जित्ने प्रक्षेपण छ।

दुई महत्वपूर्ण राज्य १५ इलेक्टोरल सीट रहेको नर्थ क्यारोलाइना तथा १८ इलेक्टोरल सीट रहेको ओहायोमा मतदान सकिएको छ। तर त्यहाँको प्रक्षेपण गरिएको छैन।

7.20 एसियाको नजर

एसियामा अहिले बिहान भइसकेको छ। यहाँका सबैको ध्यान अमेरिकी चुनावमा केन्द्रीत छन्। चीनको वाइबो भनिने ट्वीटर जस्तै सामाजिक सञ्जालमा यूएस इलेक्सन ह्यासट्याग भएका पोष्टहरुलाई डेढ अर्बले हेरिसके।