मोसुलमा 'अत्याचार' : राष्ट्र संघ

  • 11 नोभेम्बर 2016

इराकी शहर मोसुलमा सरकारी सैन्य अघि बढ्दै जांदा इस्लामिक स्टेट समूहले गैरसैनिकहरु विरुद्ध गरेका अत्याचारको थप प्रमाण फेला परेको संयुक्त राष्ट्र संघले जनाएको छ।

राष्ट्रसंघले स्थानीय स्रोतलाई उल्लेख गर्दै आइएसले मोबाइल फोन मार्फत इराकी सैन्यलाई सूचना उपलब्ध गराएको आरोपमा कैयौं गैरसैनिकहरुलाई गोली हानी मारेको जनाएको छ।

त्यसरी मारिएकाहरुको शव शहरका विभिन्न स्थानमा झुण्डाएर राखेको विवरणहरु पनि प्राप्त भएको बताइएकोछ।

संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार गैर सैनिकहरुको ज्यान लिने कार्य आइएसको स्वघोषित अदालतहरुको आदेशमा भएको जस्तो देखिएको छ।

सांठगांठ

तस्वीर कपीराइट AFP

मारिएका गैरसैनिकहरुलाई 'देशद्रोह र शत्रुसंग सांठगांठ गरेको' भन्ने आरोप लगाइएको थियो।

उनीहरुलाई रातो अक्षरमा 'गद्दार र इराकी सैन्यका एजेन्ट' लेखिएको सुन्तला रंगको लुगा लगाइएको थियो।

संयुक्त राष्ट्र संघले आइएसले बालक तथा किशोरहरुलाई पनि सैन्यका रुपमा परिचालन गरेको भन्दै चिन्ता व्यक्त गरेको छ।

बुधबार जारी गरिएको एउटा आइएस भिडियोमा सुराकी गरेको अभियोग लगाइएका चार जना मानिसलाई बालकहरुले गोली हानी मारेका दृश्य रहेको छ।

राष्ट्रसंघका अनुसार आइएसले गत नोभेम्बर ६ तारिखमा युद्धबाट भागेको भन्दै सातजना लडाकुहरुको टाउको काटीदिएको घोषणा गरेको थियो।

कदम

राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त जाइद राआद अल-हुसैनले इराकी सरकारलाई आह्वान गर्दै आइएसबाट पुन: नियन्त्रणमा लिइएका क्षेत्रहरुमा कानुन व्यवस्था लागू गर्न तत्काल कदम चाल्न भनेका छन्।

त्यसो भएमा कब्जामा लिइएका लडाकु तथा तिनका समर्थक भनिएकाहरुसंग कानुन अनुसारको व्यवहार भएको यकीन गर्सन कियोस् भन्ने उनको भनाइ छ।

आइएसले गैरसैनिकहरुका नजीकै ठूलो मात्रामा अमोनिया र सल्फर जस्ता रसायनहरु जम्मा पारेर राखेको र तिनको प्रयोग रासायनिक अस्त्रका रुपमा गरिन सक्ने आशंका पनि राष्ट्रसंघले व्यक्त गरेको छ।

सरकार समर्थक सैन्यले मोसुललाई पुन: कब्जामा लिने उद्देश्यका साथ गत महिना देखि आक्रामक कार्वाही थालेको छ।

तस्वीर कपीराइट Reuters

उक्त शहर सन् २०१४ देखि आइएसको नियन्त्रणमा रहेको छ।

चौथो हप्तामा प्रवेश गरेको उक्त कार्वाहीमा ५० हजार इराकी सैन्य, प्रहरी, कुर्द पेशमेर्गा लडाकु, सुन्नी अरब जनजाति समूहका साथै शिया मिलिशिया पनि संलग्न छन्।