ओबामाकेयरका केही प्रावधान राम्रा: ट्रम्प

  • 12 नोभेम्बर 2016
तस्वीर कपीराइट AP
Image caption ओबामाले ल्याएको उक्त नीतिको रिपब्लिकन नेताहरुले व्यापक रुपमा आलोचना गरेका थिए

अमेरिकामा राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रपति बाराक ओबामाले ल्याएको स्वास्थ्य सेवासम्बन्धी कानुनका केही महत्वपूर्ण प्रावधानहरु कायमै राख्ने बताएका छन्।

ओबामा केयर नामले चिनिने उक्त व्यवस्था पटक्कै काम नलाग्ने भन्दै ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा त्यसलाई खारेज गर्नुपर्ने तर्क गर्दै आएका थिए।

राष्ट्रपति ओबामासंग ह्वाइट हाउसमा हिजो भएको भेटपछि ओबामाकेयरप्रतिको ट्रम्पको धारणा बदलिए जस्तो देखिन्छ।

वाल स्ट्रिट जर्नलसंगको अन्तर्वार्तामा ट्रम्पले ओबामाकेयरका दुई प्रमुख आधारहरु आफूलाई खुबै मन परेको बताए।

पुनर्विचार

पहिले कायम रहेका शर्तहरुलाई समेट्न अस्वीकार गर्ने बीमाकर्ताहरुमाथि प्रतिवन्ध लगाउने प्रावधानबाट आफू प्रभावित भएको उनले बताए।

साथै बाबुआमाको बीमाबाटै उनीहरुका जवान छोराछोरीको उपचार खर्च पनि समेटिने व्यवस्था ट्रम्पले रुचाएका छन्।

ट्रम्पले वाल स्ट्रिट जर्नलसंग राष्ट्रपति ओबामासंग भएको डेढ घण्टा लामो भेटले ओबामाकेयर पूर्ण रुपमा खारेज गर्ने आफ्नो धारणा पुनर्विचार गर्न माहोल बनाएको बताए।

उनले भने, "मैले राष्ट्रपतिलाई उहांका सुझावमाथि विचार गर्छु भनेको छु र उनको सम्मानका खातिर पनि म त्यो गर्नेछु।"

खारेज

तर केही प्रावधान राख्न पनि ट्रम्पलाई अप्ठ्यारो पर्ने संवाददाताहरु ठान्छन् किनकी उनका कट्टर समर्थकहरु र रिपब्लिकन पार्टी पनि ओबामाकेयर खारेज गर्न चाहन्छन्।

चुनावी अभियानका क्रममा ट्रम्प स्वयमले पनि ओबामाकेयर पटक्कै काम नलाग्ने भन्दै आफू राष्ट्रपति निर्वाचित भए त्यो खारेज गरिदिने बताएका थिए।

उक्त कानुन खारेज भए २ करोड २० लाख जति अमेरिकीहरु स्वास्थ्य बीमा विहीन हुनेछन्।

उक्त कानुन खारेज गर्न रिपब्लिकनहरुले ५० पटकभन्दा बढी पटक मतदान गरिसकेका छन् तर अल्पमतमा रहेपनि डेमोक्र्याटहरुसंग उक्त कदम उल्ट्याउने सक्ने संख्या रहेको बताइएको छ।