कोलम्बियामा नयाँ शान्ति सम्झौता घोषणा

  • 13 नोभेम्बर 2016
तस्वीर कपीराइट AFP
Image caption यसअघि गत अगस्ट महिनामा कोलम्बिया सरकार र फार्क विद्रोहीका नेताबीच ५० वर्ष लामो गृहयुद्ध अन्त्य गर्ने सम्झौता भएकव थियो

पहिलो शान्ति सम्झौता जनमत संग्रहबाट अस्वीकृत भएको ६ हप्तापछि कोलम्बिया सरकार र विद्रोही समूह फार्कले नयाँ शान्ति सम्झौता घोषणा गरेका छन्।

५२ वर्ष लामो गृहयुद्ध अन्त्य गर्ने उद्देश्यले त्यहाँ शान्ति सम्झौताको प्रक्रिया थालिएको थियो।

पहिलो सम्झौता वामपन्थी विद्रोहीका लागि धेरै हदसम्म उदार भएको रुपमा बुझिएको थियो।

अबको नयाँ सम्झौतालाई सिधैँ मतदातामा लैजानुभन्दा अघि संसदले अनुमोदन गर्नुपर्ने ठानिएको छ।

प्रस्ताव

नयाँ शान्ति सम्झौतामा समाजका विभिन्न क्षेत्रले सुझाएका प्रस्तावहरुलाई समावेश गरिएको छ।

अघिल्लो शान्ति सम्झौताविरुद्ध अभियान चलाएका पूर्व राष्ट्रपति अलभ्येरो उरिबे पनि पछिल्लो शान्ति सम्झौताको लागि भएको वार्तामा सहभागी थिए।

एउटा संयुक्त विज्ञप्ति जारी गर्दै अधिकारीहरुले भनेका छन्, “हामी सशस्त्र द्वन्द्व अन्त्यका लागि नयाँ सम्झौतामा पुगेका छौं जसले धेरै सामाजिक समूहको नयाँ योगदान समेटेर स्पष्ट परिवर्तनहरु गरेको छ।”

उक्त विज्ञप्तिलाई शान्ति सम्झौताको लागि मध्यस्थतताको काम गरेका क्युबा र नर्वेका कूटनीतिज्ञहरुले क्युबाको राजधानी हभानामा पढेर सुनाएका थिए।

अस्वीकार

यसअघि गत सेप्टेम्बरमा भएको शान्ति सम्झौताका लागि राष्ट्रपति ख्वान म्यानुअल सान्टोसले शान्ति पुरस्कार पाएका थिए।

उक्त सम्झौतालाई अक्टोबर २ का दिन भएको जनमत संग्रहमा मतदाताहरुले ५०.२ प्रतिशत मतले अस्वीकार गरिदिएका थिए।

शुरुमा उक्त सम्झौतालाई फराकिलो अन्तरले अनुमोदन गर्ने ठानिएको थियो तर जब मतपरिणाम बाहिर आयो त्यसले सम्झौताको विपक्षमा रहनेहरुको मत बलियो छ भन्ने स्पष्ट पारेको थियो।

बीबीसी संवाददाताले भनेका छन्, वार्तामा सहभागीहरुले उक्त सम्झौतालाई कोलम्बियाको संसदले अनुमोदन गर्ने वा अर्को जनमत संग्रहले भन्नेमा अझै स्पष्ट भइसकेका छैनन्।

विपक्षी नेताहरुले नयाँ सम्झौता कार्यान्वयन हुनु अघि नयाँ शर्तहरुबारे आफूहरुले सहमति जनाउनुपर्ने बताएका छन्।

अमेरिकाका विदेशमन्त्री जन केरीले भने उक्त सम्झौताको स्वागत गरेका छन्।