विरोध र अवज्ञाबीच फेरि बन्द

  • 13 नोभेम्बर 2016
तस्वीर कपीराइट bbc
Image caption प्रहरी तैनाथ गरिएपनि ठाउँ ठाउँमा आगजनी भएको बताइएको छ

बन्दको चौतर्फी विरोध हुँदै आएपनि आइतबारका लागि आह्वान गरिएको नेपाल बन्दको प्रभाव राजधानी लगायत देशका अन्य भेगमा देखिएको छ।

बन्दकर्ताहरुले ठाउँठाउँमा सवारी साधनमाथि आगजनी गरेका छन्। प्रहरीले सयौं बन्दकर्ता गिरफ्तार गरेको जनाएको छ।

राजधानी काठमाण्डूका सडकमा बिहानैदेखि फाट्टफुट्ट मोटरसाइकल चलेका थिए।

अपरान्ह हुँदै गएपछि मोटरसाइकलको संख्या बाक्लिएको थियो। सानो संख्यामा निजी मोटर, ट्याक्सी, माइक्रोबस र साझा यातायात चलेका थिए।

अवज्ञा

बन्दकर्ताहरुले जनताले साथदिएको भने पनि सवारी साधन चलाउनेहरुमाथि आक्रमणको प्रयत्न काठमाण्डू लगायत अन्यत्र भएको थियो।

त्यसैक्रममा तीन सय जति बन्दकर्ताहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सवारी साधनमाथि गरिएको आगजनीको विवरण दिँदै प्रहरी प्रवक्ता हेमन्त मल्लले भने, "राजमार्गहरुमा पनि गाडी चलेका थिए। त्यहाँ हामीले एस्कर्टिङ र सुरक्षा दिइरहेका छौं। शहरमा पनि प्रहरी तैनाथ गरेका छौं। त्यो हुँदाहुँदै पनि आठ ठाउँमा आगजनी भएको छ। कैलालीमा ट्रक, भक्तपुर र दोलखामा तीनवटा मोटरसाइकल इलाममा एउटा जीप, कार, दोलखामा पनि एउटा कारमा आगजनी भएको छ सिन्धुली, रुपन्देहीमा पनि जीप र इ-रिक्सामा आगजनी भएको छ।"

काठमाण्डू र पोखराजस्ता मुख्य शहरहरुमा सानै संख्यामा भएपनि अवज्ञा जुलुसहरु निस्केका थिए।

सामाजिक सञ्जालहरुमा बन्दकर्ताहरुको चर्को आलोचना भएको थियो।

क्षतिपूर्ति

तर बन्द आयोजकहरु त्यसबाट दुरुत्साहित भएका देखिन्नन्।

बन्दकर्ता माओवादीका प्रवक्ता खड्ग विश्वकर्माले भने, "दुई महिना अगाडि देखि महँगीको विषयलाई जनताको खाद्य संप्रभुतालाई लिएर कार्यक्रम घोषणा गरेको हो। हामी यस्ता संघर्ष अझ पनि गरिरहने छौं।"

बन्दको अवज्ञा गर्दा हुने क्षतिको क्षतिपूर्तिको माग उठ्दै आएपनि त्यसको प्रभावकारी व्यवस्था हुन सकेको छैन।

प्रहरीले सुरक्षाको पूर्ण ग्यारे्नटी पनि दिन सकेको देखिन्न।

काठमाडौस्थित हाम्री संवाददाता भन्छिन्, बन्दकर्ताहरुले आफ्नो एजेण्डा राख्ने सबैभन्दा सजिलो उपायको रुपमा नेपाल बन्दलाई माध्यम बनाउने अवस्था कायम रहेसम्म बन्दको क्रम रोकिने देखिन्न।