अदालतको अवहेलना नगरेको कार्कीको दावी

  • 16 नोभेम्बर 2016
Image caption कार्कीले अदालतको अवहेलना नगरेको दावी गरेका छन्

संसदमा महाभियोगको सामना गरिरहेका र सर्वोच्च अदालतमा समेत तानिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अदालतको अवहेलना नगरेको दावी गरेका छन्।

म्याद तामेलीमा अवरोध गरेको विषयमा सर्वोच्च अदालतमा आफै उपस्थित भएर पेश गरेको जवाफमा उनले त्यस्तो दावी गरेका हुन्।

लिखित जवाफ बुझाए लगतै उनले पेशीको तारेख समेत बुझेको बताइएको छ।

अदालतको अवहेलना, सुविधा खोस्नु पर्ने माग र नियुक्तिको वैधानिकताको मुद्दा एकसाथ हेर्ने गरी मंसिर १६ गतेका लागि पेशी तोकिएको छ।

आरोप

अख्तियार प्रमुखमा नियुक्तिको वैधानिकताबारे सर्वोच्चले पहिलेको आफ्नै फैसलालाई पुनरावलोकन गर्ने निर्णय गरेपछि त्यसको म्याद तामेल गर्न जाँदा अवरोध गरेको आरोप लोकमानसिंह कार्की माथि छ।

सो विषयमा परेको निवेदनमा सात दिन भित्र लिखित जवाफ सहित उपस्थित हुन सर्वोच्च अदालतले कार्की सहितका ४ जनाका नाममा आदेश दिएको थियो।

विगतमा उक्त मुद्दाबाट सकेसम्म पन्छिन खोजेको जस्ता देखिएका कार्की अदालतको उक्त आदेश अनुरुप नै मंगलबार सर्वोच्च अदालत पुगेका थिए।

तोकिएको सयमसीमा सकिन १ दिन बाँकी रहँदा अदालत पुगेका कार्कीले लिखित जवाफमा अदालतको अवहेलन नगरेको दावी गरेको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले बीबीसीलाई बताए।

उनले भने, "म आफ्नो घर नभएको बेलामा म्याद टाँसिएको हो, त्यहाँ म बस्दिनँ, मैले हुलहुज्जत गरेको हैन भन्ने आशयको लिखित जवाफ छ।"

जवाफ

अदालतको कामकाजमा अवरोध गरेर अवहेलना गरेको आरोप लागेका पूर्व सचिव प्रमोद कार्की, नेपाल प्रहरीका सई नकुल गौतमले समेत लिखित जवाफ बुझाइसकेको बताएको छ।

म्याद तामेलीका बेला अवरोध गरेको आरोप लागेका लोकमान सिंह कार्कीका ज्वाईं प्रवल थापाले जवाफ बुझाउन बाँकी छ।

जवाफ बुझाउने क्रममा कार्कीले कसैसँग कुराकानी नगरे पनि सुनुवाइका लागी तारेख बुझ्ने र वारेस राख्नका लागि निवेदन दिएर गएको सहप्रवक्ता पौडेलले बताए।

उनले भने, "अरु विपक्षीहरुले मंसीर १६ गतेका लागि तारिख लिएर गइसकेको अवस्था थियो। उहाँले पनि त्यही मितिको तारिख लिएर जानु भयो र अब अर्को पटक तारेखमा आउँदाखेरिमा वारिस मार्फत सुनुवाइ होस भन्ने आसयले निवेदन दिएर जानु भएको छ।"

वारेस राख्ने बारेको निवेदनका बारेमा केही दिनमा निर्णय हुने बताइएको छ।

मुद्दा

अवहेलना सम्बन्धी विषय पनि कार्कीको योग्यता माथिको मुद्दा सँगै जोडिएकाले १६ गते बाट शुरु हुने सुनुवाइमा दुबै विषयले एकसाथ प्रवेश पाउने छन्।

सर्वोच्चले तोकेको पेशीको समय सार्ने निवेदन कार्कीले दिन पाउने बाटो भने खुल्ला रहेको र त्यस्तो निवेदन आएमा सार्ने, नसार्ने निर्णय अदालतले गर्ने प्रावधान रहेको बताइएको छ।

कार्कीको नियुक्तिको मुद्दा अदालतमा अघि बढीरहँदा संसदमा उनी माथिको महाभियोगको प्रस्ताव माथिको छलफल जारी छ।

महाभियोग प्रस्ताव दर्ता भए सँगै उनी निलम्वित अवस्थामा छन्।