‘कोइराला परिवारको योगदानको अपमान’

  • 15 नोभेम्बर 2016
तस्वीर कपीराइट .
Image caption स्वास्थ्यमन्त्री गगन थापाले उपचार खर्च उपलब्ध गराउने निर्णय प्रति सार्वजनिक रुपमा असन्तुष्टी व्यक्त गरेका छन्

पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालालाई उपचार खर्च उपलब्ध गराउने निर्णयको विरोध गरेर कोइराला परिवारले नेपालको प्रजातान्त्रिक प्रक्रियामा पुर्याएको योगदानलाई अवमूल्यन गर्न खोजिएको उनका एक निकटस्थले बताएका छन्।

स्तन क्यान्सरको उपचारका लागि हाल सिंगापुरमा रहेकी कांग्रेस नेतृ कोइरालाका स्वकीय सचिवले सरकारले सम्मान स्वरुप उपचार खर्च दिएको विषयलाई स्वाभाविक मान्नुपर्ने बताए।

यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले राज्य कोष दुरुपयोग गरी सो उपचार खर्च उपलब्ध गराइएको भन्दै संसदमा सरकारको आलोचना गरेका थिए।

उपचार खर्च वितरण सम्बन्धी मन्त्रिपरिषदमा विचाराधीन कार्यविधिलाई पन्छाउँदै मन्त्रिपरिषदले आइतबार कोइरालाको उपचारका लागि ५० लाख रुपैँया दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

कांग्रेस नेतृ सुजाता कोइरालाले लिएको उपचार खर्चको विषयलाई लिएर भइरहेको आलोचनालाई उनका स्वकीय सचिव लक्ष्मण थपलियाले कोइराला परिवारले प्रजातन्त्रको पक्षमा गरेको योगदानको अवमूल्यन भएको बताएका छन्।

थुप्रै पूर्व विशिष्टहरुले उक्त सुविधा लिएको स्मरण गराउदैं कोइरालाले लिएको सुविधा स्वाभाविक भएको उनले बताए।

पछिल्लो आक्रोश प्रति टिप्पणी गर्दै उनले भने, "बीपी कोइरालाहरुले राजनीति गर्दा गिरिजाप्रसाद जेलमा, बीपी जेलमा, आमा र छोरी पनि जेलमा थिए। नेपालको प्रजातन्त्रका लागि त्यत्रो त्याग तपस्या गरेको मान्छेलाई अहिले ५० लाख रुपैँया दिँदाखेरि यत्रो हंगामा किन?"

स्वास्थ्य मन्त्रालयले पूर्व विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउने सेवा सुविधामा एकरुपता ल्याउने कार्यविधि मन्त्रिपरिषदमा प्रस्तुत गरेकै समयमा कोइरालालाई उपचार खर्च दिने निर्णय भएको थियो।

सरकारी निर्णयको संसद भित्र र बाहिर व्यापक विरोध भइरहेको छ।

सोमबार संसदमा नेकपा एमालेका सांसद प्रकाश ज्वालाले भने,"उपचार खर्चको नाममा पटकपटक सरकारले राज्यकोषको दुरुपयोग गर्ने काम गरेको छ र गलत निर्णयहरु गरेको छ, यस्तो गलत काम सच्याउनका निम्ति म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।"

संस्कृति

तर स्वक‍ीय सचिव थपलिया भन्छन्, विरोध गर्नेहरुले सुजाता कोइरालाको योगदानलाई भने नदेखेको जस्तो गरे।

उनको भनाई थियो, "उहाँहरुले खोल्नु भएको सुषमा कोइराला मेमोरियल हस्पिटलमा अहिलेसम्म अर्बौं रुपैँयाको उपचार निशुल्क भइसकेको छ। त्यत्रो योगदानको चाहिँ केही नआउने?"

स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालासंग अर्बौंको सम्पति भएको खबरहरु बाहिर आइरहंदा उनले ५० लाख रुपैँयामा लालसा देखाएको भन्दै त्यसको सर्वत्र आलोचना भइरहेको छ।

बीबीसीका एकजना संवाददाता भन्छन्, पदमा बहाल तथा पूर्व विशिष्ट पदाधिकारी र राजनीतिकर्मी लगायत पहुँचवाला व्यक्तिले सरकारी ढुकुटीबाट उपचार खर्च माग्ने प्रवृतिले नेपालमा दह्रोसँग जरा गाडेको छ।

राज्यबाट दशौँ लाख रुपैँया उपचार खर्च लिनेहरुको सूचीमा पूर्व राष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्री एवं पूर्व मन्त्रीहरुको नाम अग्रपङ्ति रहेको छ।

करोडौँ रुपैँया बराबरको व्यक्तिगत सम्पत्ति भएका भनिएका कतिपय त्यस्ता व्यक्तिहरुले समेत बिना कुनै संकोच राज्यबाट औषधी उपचार खर्च लिने गरेका छन्।