'दुई देशको सम्बन्ध सुधारका लागि कोशिश'

  • 15 नोभेम्बर 2016
तस्वीर कपीराइट Reuters
Image caption रुसले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभेपछि अमेरिकाले मस्कोविरुद्ध प्रतिबन्ध लगाए यता दुई देशको सम्बन्धमा चिसोपना देखिएको छ

अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले, चुनाव जितेपछि पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेका छन्।

ट्रम्पको कार्यालयले भनेको छ, उक्त संवादका क्रममा ट्रम्पले रुससँग एकदमै बलियो र लामो समय टिक्ने सम्बन्ध राख्ने इच्छा व्यक्त गरेका छन्।

सम्बन्ध सुधारका लागि समानता र हस्तक्षेपमुक्त सिद्धान्तका आधारमा काम गर्नेमा दुवै नेताले सहमति जनाएका क्रेमलिनले बताएको छ।

उनीहरुबीच अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध लड्नका लागि संयुक्त प्रयास गर्न आवश्यक रहेको विषयमा पनि छलफल भएको बताइएको छ।

सम्बन्ध

अमेरिकाको राष्ट्रपतीय चुनावमा डोनल्ड ट्रम्प निर्वाचित भएपछि उनले पहिलोपटक रुसी राष्ट्रपतिसँग टेलिफोन संवाद गरेका हुन्।

कुराकानीका क्रममा पुटिनले ट्रम्पलाई उनको चुनावी प्रचारप्रसारमा जनाएका प्रतिवद्धताहरु कार्यान्वयन गर्नेमा सफलता मिलोस् भन्ने कामना गरेका थिए।

ट्रम्पले भने रुससँग सुदृढ सम्बन्ध स्थापना गर्न चाहेको बताए।

उनीहरुले सन् २०१७ मा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय १० वर्ष हुने भन्दै दुवै देशलाई पारस्परिक लाभ हुने गरि अघि बढ्न उक्त अवसरले प्रोत्साहित गर्नुपर्ने बताएका छन्।

तस्वीर कपीराइट AFP
Image caption सिरियामा जारी युद्ध अन्त्य गर्नका लागि अमेरिका र रुसबीच पटकपटक प्रयास भए पनि सफल हुनसकेको छैन

ट्रम्प र पुटिनबीच टेलिफोन सम्पर्कमा रहिरहने र केही पछि प्रत्यक्ष भेटवार्ता गर्ने सहमति भएको क्रेमलिनले जनाएको छ।

तर उक्त फोन कसले गरेको थियो भन्ने भने क्रेमलिनले स्पष्ट पारेको छैन।

तर ट्रम्पको कार्यालयले चाहिँ क्रेमलिनबाट नै फोन आएको र संवादका क्रममा साझा जोखिम र चुनौति अनि रणनैतिक आर्थिक मामिलाका बारेमा छलफल भएको बताएको छ।

प्रतिबद्धता

रुसले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभेपछि अमेरिकाले मस्कोविरुद्ध प्रतिबन्धहरु लगायो जसले गर्दा दुई देशको सम्बन्धमा चिसोपना आएको थियो।

आफ्नो चुनावी प्रचारप्रसारका क्रममा ट्रम्पले रुसी राष्ट्रपति पुटिनको पटकपटक प्रशंसा गर्दै उनलाई बराक ओबामा भन्दा उत्कृष्ट नेता भनेका थिए।

यसैबीच अमेरिकी राष्ट्रपति ओबामाले, उत्तर एटलान्टिक सन्धी संगठन नेटोलाई शक्तिशाली बनाउने अमेरिकी प्रतिबद्धता कायमै रहने ट्रम्पले आफूलाई बताएको जनाएका छन्।

अमेरिकी राष्ट्रपतिको रुपमा गरिने आखिरी भ्रमणका लागि ग्रीसतर्फ प्रस्थान गर्नुअघि बोल्दै ओबामाले यस्तो बताएका हुन्।

उनले नेटोबारे अमेरिकी प्रतिबद्धतामा कुनै कमी नआउनेबारे पनि युरोपेली नेताहरुलाई भन्ने बताएका छन्।

ट्रम्पले चुनावी प्रचारप्रसारका क्रममा नेटोको महत्वबारे प्रश्नहरु उठाएका थिए ।