अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट रुस बाहिरिने

  • 16 नोभेम्बर 2016
तस्वीर कपीराइट AFP

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीमा सम्मिलित हुने प्रकृया रोक्ने एउटा आदेशमाथि हस्ताक्षर गरेका छन्।

त्यसो गरेर उनले रुसले आफ्नै नीति अनुशरण गर्ने र अन्तर्राष्ट्रिय नियमहरुको पालना नगर्नेतर्फ संकेत गरेका छन्।

सन् १९९८ मा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुको एउटा समूहले रोम सन्धि स्वीकार गरेको थियो जसले अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीको स्थापना गर्यो।

त्यसले चारवटा प्रमुख अन्तर्राष्ट्रिय अपराधहरुको पहिचान गरेको थियोः आमहत्या, मानवता विरुद्धका अपराध, युद्ध अपराध र आक्रमणका अपराध।

प्रकृया स्थगित

त्यसको दुई वर्षपछि रुसले त्यो सन्धिमा हस्ताक्षर गर्यो तर सन्धिलाई कहिल्यै अनुमोदन गरेन।

अमेरिका र चीन जस्ता केही शक्ति राष्ट्रहरु आइसीसीमा सम्मिलित छैनन्।

आज त्यो सन्धि अनुमोदन गर्ने प्रकृयालाई रुसी राष्ट्रपति पुटिनले रोकेका छन्।

यसै हप्ता केही समयअघि आइसीसीका अभियोजनकर्ताले एउटा प्रतिवेदन सार्वजनिक गरेका थिए।

रुसमाथि अनुसन्धान

तस्वीर कपीराइट AP

प्रतिवेदनमा रुस र युक्रेनबीचको सशस्त्र द्वन्द्वपछि मस्कोले क्राईमियालाई आफुमा मिलाएको भनिएको छ र रुसलाई आक्रमण शुरु गर्ने पक्ष भनिएको छ।

थुप्रै देशहरुले अभूतपुर्व रुपमा आइसीसी त्यागेपछि उत्पन्न भएको अनिश्चितताका बीच आइसीसीको वार्षिक बैठक शुरु भएको छ।

अफ्रिकी राष्ट्रहरुलाई आइसीसी छोडेर नजाने अपील गरिएको छ।

दक्षिण अफ्रिका र बुरुण्डी पछि आज गाम्बियाले औपचारिक रुपमा संयुक्त राष्ट्रसंघलाई आइसीसीबाट बाहिरिने सूचना दिएको छ।

‘पुर्वाग्रही’

वार्षिक बैठकलाई सम्बोधन गर्दै एकजना अदालतका अध्यक्ष सिदिकी कबाले आजको परिवेशले सबैका लागि न्यायको अवधारणाको बचाउ गर्नु एकदम जरुरी बनाएको बताए।

आइसीसीमा हाल जारी १० वटा अनुसन्धान मध्ये प्राय अफ्रिकी मुलुकमा आधारित छन् र आइसीसीछोड्ने ३ देशले त्यो न्यायालय अफ्रिकाविरुद्ध पुर्वाग्रही भएको आरोप लगाएका छन्।

कबाले आइसीसीले त्यो गुनासो सुनेको कुरामा अफ्रिकी देशहरुलाई आश्वस्त तुल्याउने कोशिश गरेका छन् तर त्यो प्रयास पर्याप्त नहुन सक्छ।

केन्या नामिबिया र युगाण्डाले पनि आइसीसी त्याग्नेबारे विचार गरिरहेको बताएका छन्।