मलेसियामा प्रधानमन्त्रीको राजीनामा माग

  • 19 नोभेम्बर 2016
तस्वीर कपीराइट AFP
Image caption मलेसियामा प्रधानमन्त्रीले अरबौं डलर हिनामिना गरेको आरोपमा विरोध प्रदर्शन भएको छ

मलेसियाका पूर्व प्रधानमन्त्री महाथीर मोहम्मद वर्तमान प्रधानमन्त्री नाजिब रजाकको राजीनामा माग गर्न आयोजना गरिएको प्रदर्शनमा सहभागी भएका छन्।

कुवालालम्पुरमा हजारौं प्रदर्शनकारीलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री मोहम्मदले 'क्रुर सत्ता अन्त्य गर्न' सहयोग गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री नाजिबले उनको नियन्त्रणमा रहेको सरकारी लगानी कोषको रकम आफ्नो खातामा राखेको आरोप लागेको छ।

नाजिबले कुनै पनि गलत काम नगरेको भन्दै सत्ता छोड्न अस्वीकार गरेका छन्।

अस्वीकार

हजारौं पहेँलो लुगा लगाएका प्रदर्शनकारीहरुले राजधानी कुवालालम्पुरमा प्रधानमन्त्री नाजिब रजाकको राजीनामा मागेका थिए।

प्रदर्शनकारीले प्रधानमन्त्री नाजिबले उनैले खडा गरेको इन्भेष्टमेन्ट फण्ड अर्थात लगानी कोषबाट अरबौं डलर हिनामिना गरिएको आरोपको सामना गरुन् भन्ने चाहन्छन्।

प्रहरीको प्रतिबन्ध तोडेर कैयौं प्रदर्शनकारी गिरफ्तार भएपनि ठूलो प्रदर्शन भएको थियो।

प्रधानमन्त्री नाजिबले कुनै पनि खराब काम नगरेको भन्दै विरोधबाट नतर्सने बताएका थिए।

उनको ब्लगमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा प्रदर्शन आयोजना गरेको चुनावमा सुधार चाहने समूह बर्सीलाई प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकार ढाल्न चाहने विपक्षी पार्टीका गोटी बनेको भनिएको छ।

तर बर्सीका उप सभापति शाहरुल अमान शारीले राष्ट्रिय मस्जिदनिर जम्मा भएको भीडलाई भने, "हामी देशको बेइज्जत गर्न जम्मा भएका होइनौं। हामीलाइ यो देशको माया छ। सरकार अपदस्त गर्न जम्मा भएका पनि होइनौं। हामी त्यसलाई बलियो बनाउन जम्मा भएका हौं।"

मलेय भाषामा बर्सी भनेको सफा हो र पछिल्ला पन्ध्र महिनामा प्रधानमन्त्रीको राजीनामा माग्न आयोजना गरिएको दोश्रो र्याली हो।

तनाव

पहेंलो शर्टधारी र रातो शर्टधारीबीच हप्तौंयताको बढ्दो तनावबीच यो प्रदर्शन भएको छ।

र्याली आयोजना हुने समय नजिकिँदै जाँदा दुवै पक्षका नेताहरु र बर्सी अभियानकर्ताहरु गिरफ्तार गरिएका थिए।

जसको तत्कालै मानव अधिकारवादी समूह एमनेष्टीले भत्सर्ना गरेको थियो।

एमनेष्टीले उनीहरुलाई आस्थाका बन्दी भन्दै तत्काल रिहा गर्न माग गरेको थियो।

गिरफ्तारीले प्रदर्शनकारीलाई रोक्न सकेन।

उनीहरुले “प्रजातन्त्र बचाउँ” र “सफा” “सफा” भन्ने नारा लगाएका थिए।

सानो संख्यामा रातो शर्ट लगाएका प्रदर्शनकारी विरोधी पनि जम्मा भएका थिए।