विश्वविद्यालयको विवाद सुल्झाउन ट्रम्प तयार

  • 19 नोभेम्बर 2016
तस्वीर कपीराइट AP
Image caption ट्रम्पविरुद्ध तीनवटा मुद्दाहरु परेका थिए

अमेरिकामा आफ्नो विश्वविद्यालयसंग सम्बन्धित मुद्दा मिलाउन राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले २ करोड ५० लाख डलर दिन सहमति जनाएको अधिकारीहरुले बताएका छन्।

ट्रम्प विश्वविद्यालयका पूर्व विद्यार्थीहरुले मुद्दा हालेका थिए ।

ती मुद्दा नसुल्झाउने भनी ट्रम्पले राष्ट्रपति निर्वाचित हुनुपूर्व धारणा राख्दै आएका थिए।

बदलाव

न्यूयोर्कका महान्यायाधिवक्ता एरिक स्नाइडरम्यानले मुद्दा सुल्झेको विषयलाई ट्रम्पको आश्चर्यजनक बदलाव भनी टिप्पणी गरेका छन्।

उनले पछिल्लो घटनालाई ६ हजार पीडित विद्यार्थीको जित भएको बताए।

क्यालिफोर्निया र न्यूयोर्कमा ट्रम्प विश्वविद्यालयले विद्यार्थीहरुलाई झुक्याएको र आफ्नो वाचाहरु पूरा नगरेको आरोपहरु लगाइएको थियो।

एउटा मुद्दामा सान डियागोमा अबको १० दिनमा सुनुवाइ हुंदैछ तर त्यसलाई पछाडि धकेल्न ट्रम्पका वकीलहरुले प्रयास गरिरहेका छन्।

क्यालिफोर्नियामा दायर दुई वटा मुद्दा हेरिरहेका न्यायधीश गोन्जालो कुरियलले अदालतबाहिर नै मुद्दा सुल्झाउन वादी र प्रतिवादी पक्षलाई आग्रह गर्दै आएका थिए।

तर गत जुनमा ट्रम्पले आफूले अदालतबाहिर मुद्दा सुल्झाउन सक्ने भएपनि नचाहेको बताएका थिए।

तर अहिले आएर उनी ‘१८० डिग्री’ बदलिएका छन्।