यमनमा ४८ घण्टे युद्धविराम शुरु

  • 19 नोभेम्बर 2016
तस्वीर कपीराइट

यमनमा हुथी विद्रोहीविरुद्ध सरकारलाई समर्थन गरिरहेको साउदी नेतृत्वको गठबन्धनले सरकारी सञ्चारमाध्यममार्फत शनिबार शुरु हुने गरी ४८ घण्टाको युद्धविरामको घोषणा गरेको छ।

युद्धविराम शनिबार स्थानीय समयको मध्य दिउँसो शुरु भएको छ।

हुथीहरुले पनि त्यो युद्धविरामको नियम पालना गरेमा र दक्षिण-पश्चिमका विद्रोही नियन्त्रित क्षेत्रमा सहायता सामग्री लैजान दिएमा युद्धविराम लम्ब्याउने गठबन्धनले बताएको छ।

विद्रोहीहरुले पनि युद्धविरामका लागि तयार रहेको संकेत दिएका छन्।

भिडन्त

तस्वीर कपीराइट

तर युद्धविराम शुरु भएलगत्तै पनि भिडन्तका घटनाहरु भइरहेको खबर प्राप्त भएका छन्।

यसअघि पनि थुप्रैपटक युद्धविराम गरिएको भएतापनि कुनैले पनि लामो समयसम्म भिडन्त स्थगित गर्न सकेका थिएनन्।

यमनमा २० महिनादेखि जारी गृहयुद्धमा परेर १० हजार जनाभन्दा बढी मारिएका छन्।

अमेरिकी विदेशमन्त्री जोन केरीले यसै हप्ता गठबन्धन र हुथीहरुले बिहीबार शुरु हुनेगरी युद्धविराम गर्ने सम्झौता गरेको बताएका थिए।

जटिलता

तस्वीर कपीराइट AP

तर निर्वासित राष्ट्रपति अब्द्रब्बुह मन्सुर हादीले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारले भने आफुलाई बेवास्ता गरिएको भन्दै त्यो कदम अस्वीकार गरेको थियो।

केरीले घोषणा गरेको युद्धविराम यमनका केही क्षेत्रमा मात्रै प्रभावकारी रह्यो।

शुक्रबार द्वन्द्वग्रस्त नगर ताइजको एउटा व्यस्त बजारमा हमला हुँदा २० जना भन्दा बढी सर्वसाधारण मारिएका थिए।

अन्तर्राष्ट्रिय परोपकारी स्वास्थ्य संस्था मेदिसँ सँ फ्रन्तीयले आफ्नो एकजना कर्मचारी पनि मारिएको बताएको छ र त्यसलाई द्वन्द्वको मेहनती नागरिक माथिको असरको उदाहरण भनेको छ।

द्वन्द्वको असर

तस्वीर कपीराइट

तीव्र र निरन्तर भिडन्तहरु भईरहेको शहर ताइज यमनको द्वन्द्वमा सबैभन्दा बढी प्रभावित नगरहरुमध्ये एक हो।

संयुक्त राष्ट्रसंघको अनुमान अनुसार द्वन्द्वका कारण ३ करोडभन्दा बढी मानिस विस्थापित भएका छन् र २ करोडभन्दा बढीलाई मानवीय सहायताको आवश्यकता छ।

देशभरमा २० लाख मानिस कुपोषित छन् र ती मध्ये झण्डै ४ लाख बालबालिका अति नै कुपोषित छन्।

द्वन्द्वले यमनको स्वास्थ्य सेवालाई निकै क्षति पुर्याएको छ– यसै महिना विश्व स्वास्थ्य संस्थाको एउटा प्रतिवेदनले देशका आधाभन्दा बढी स्वास्थ्य संस्थाहरु बन्द गरिएका वा आंशिक रुपमा मात्रै काम गर्ने गरेका बताएको छ।