बौद्धनाथ चैत्यकाे उद्घाटन

  • 22 नोभेम्बर 2016

विनाशकारी भूकम्पपछि पुनर्निर्माण सम्पन्न भएको बौद्धनाथ चैत्यको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका छन्।

तीन दिनको वैदिक पूजापछि आयोजित समुद्घाटन समारोहमा बौद्धधर्मका रिम्पोचे, विभिन्न धर्मगरु तथा कूटनीतिक निकायका प्रतिनिधि र उच्चपदस्थ सरकारी अधिकारीहरु उपस्थित थिए।

सरकारबाट कुनै आर्थिक लगानी बिना स्थानीय समुदाय र विभिन्न बौद्ध धर्म सम्बन्धी अगुवाहरुको चन्दा लगायत आर्थिक सहयोगबाट उक्त पुनर्निर्माणको काम पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ।

पुरातत्व विभागको प्राविधिक सहयोगमा गएको माघबाट बौद्धनाथको पुनर्निर्माणको काम शुरु भएको थियो।

गौरव

चैत्य परिसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले बौद्धनाथको पुनर्निर्माणले नेपाली आफैँले पुनर्निर्माणको काम गर्नसक्छ भन्ने देखाएको बताए।

उनले भने, “संसारले देख्ने गरी पुनर्निर्माणको एउटा महत्वपूर्ण काम हामीले गरेका छौँ, यसबाट हामीले चाह्यौं भने ठुला काम पनि समयमा नै सफलतापूर्वक गर्न सक्छौँ भन्ने सन्देश गएको छ।”

बौद्धनाथको पुनर्निर्माण सरकारका निम्ति चुनौती र जिम्मेवारी दुवै भएको उल्लेख गर्दै आफूले पुनर्निर्माण प्राधिकरणलाई तीव्रताका साथ काम गर्न निर्देशन दिइएको उनले बताए।

भूकम्पका कारण बौद्धनाथको चैत्यमा चिरा परेको थियो भने गजुरमा समेत क्षति पुगेको थियो।

श्रोत

विनाशकारी भूकम्प गएको एक महिनापछि नै २०७२ जेठ १० बाट क्षतिग्रस्त संरचनाहरुको संकलन थालिएको र पुरातत्व विभागले निर्माण गरिदिएको नक्सा र तय गरेको प्राविधिक मापदण्ड पूरा गरी गएको माघबाट पुनर्निर्माण थालिएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ।

बौद्धनाथको पुनर्निर्माणका लागि २३ करोड रुपैयाँ भन्दा बढी खर्च भएको बताइएको छ।

तर बौद्धनाथको पुनर्निर्माणका लागि सुन र नगद गरि करिब ३१ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग जुटेको बताइएको छ।

काठमाण्डू, भक्तपुर र पाटनका दरवार क्षेत्रसहित स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र चाँगुनारायण मन्दिर सन् १९७९ मा राष्ट्रसंघको विश्व सम्पदा सूचीमा परेका थिए।

अघिल्लो वर्षको वैशाखको विनाशकारी भूकम्पले अधिकांश सम्पदास्थलमा क्षति पुर्याएको थियो।

तीन साता अघि संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को)का नेपाल प्रतिनिधि क्रिश्चियन म्यानहार्टले विश्व सम्पदाको एक स्मारक क्षेत्र बौद्धनाथको गजुरको पुनर्निर्माणका क्रममा आफ्नो सल्लाह विपरीत आधुनिक निर्माण सामाग्रीको प्रयोग गरिएको बीबीसीलाई बताएका थिए।