टर्कीमा चर्को विवादमा परेको विधेयक फिर्ता

  • 22 नोभेम्बर 2016
तस्वीर कपीराइट AP

टर्कीमा बालविवाह र निश्चित अवस्थामा बलात्कारलाई वैध तुल्याउने भनी आलोचित एउटा विवादास्पद विधेयक सरकारले फिर्ता लिएको छ।

उक्त प्रस्तावित कानुनमा केही अवस्थामा नाबालकसंग यौनसम्पर्क गर्ने पुरुषलाई पीडितसंग विवाह गरेमा माफी हुनसक्ने प्रावधान रहेको बताइएको छ।

संसदमा मंगलबार मतदानका लागि प्रस्तुत हुन लागेको उक्त विधेयकको विरोधमा सडक प्रदर्शनका साथै अन्तर्राष्ट्रिय निन्दा समेत भएको थियो।

देशको कानुनी प्रणालीमा सुधार गर्न प्रस्तावित संशोधनको संगालोमा परेको उक्त प्रस्तावित विधेयक संसदमा अन्तिम मतदान हुनुअघि थप गृहकार्यका लागि टर्कीका प्रधानमन्त्री विनाली यल्डरमले फिर्ता लिएका हुन्।

विरोधीको तर्क

सो विधेयकको त्यहाँको समाजका विभिन्न तप्का र विदेशमा समेत कडा आलोचना भएको थियो।

राष्ट्रसंघीय निकायहरुले पनि उक्त विधेयक पारित नगर्न सरकारलाई आग्रह गरेका थिए।

सो विधेयकले यौनदुर्व्यवहार र बालविवाहविरुद्ध संघर्ष गर्न सक्ने टर्कीको क्षमतालाई कमजोर तुल्याउने राष्ट्रसंघको तर्क थियो।

तर सरकारले पीडित बालिका वा उनको परिवारको स्वीकृतिमा मात्र नबालिगसंग विवाह गरेको अभियोगमा थुनामा परेका पुरुषलाई माफी दिन सकिने विधेयकको मुख्य उद्देश्य रहेको भन्दै आएको छ।

आलोचकहरु पितृसत्तात्मक टर्कीको समाजमा नाबालिग बालिकाले स्वेच्छाले स्वीकृति दिन सक्ने अवस्था नरहेको भन्दै उक्त विधेयकले बलात्कारलाई कानुनी मान्यता दिने र बालविवाहलाई प्रोत्साहन गर्ने दावी गर्दछन्।

प्रचलन

टर्कीमा बालविवाह चर्को समस्याका रुपमा रहँदै आएको भन्दै बीबीसीका टर्की सम्बाददाता मार्क लोवेन भन्छन्, "देशका भूतपूर्व राष्ट्रपति अब्दुल्लाह गुलले ३० वर्षको उमेरमा विवाह गर्दा उनकी श्रीमतीको उमेर १५ वर्षको थियो।"

टर्कीमा कानुनी रुपमा यौन सम्बन्धका लागि स्वीकार्य उमेर १८ बर्ष रहेको छ तर धार्मिक समारोहका साथ हुने नाबालिग विवाहको प्रचलन व्यापक छ।

अब उक्त मस्यौदा विधेयकलाई एउटा आयोग समक्ष हस्तान्तरण गरिने र सो आयोगले विपक्षी तथा नागरिक समाजको धारणालाई समेत स्थान दिने प्रधानमन्त्री यल्डरमले बताएका छन्।