'हिलरीका इमेलमाथि थप अनुसन्धान नहुने'

  • 23 नोभेम्बर 2016
तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले हिलरी क्लिन्टनले विदेशमन्त्री हुँदा प्रयोग गरेको इमेल विवादबारे आफूले थप अनुसन्धान नगराउने बताएका छन्।

द न्युयोर्क टाइम्सलाई विभिन्न विषयमा दिएको अन्तरवार्तामा उनले क्लिन्टन परिवारलाई थप चोट नपुर्याइ आफू अघि बढ्न चाहेको बताए।

चुनावी अभियानका क्रममा व्यक्त जलवायु परिवर्तन सम्बन्धी प्यारिस सम्झौताबारेको उनको धारणा पनि पहिले भन्दा केही नरम जस्तो देखिएको छ।

शुरुमा न्युयोर्क टाइम्ससँगको अन्तरवार्ता रद्द गरेको बताएका ट्रम्पले पछि टाइम्सकै मुख्यालयमा गएर सो अन्तरवार्ता दिएका थिए।

इमेल

अन्तरवार्ताका क्रममा ट्रम्पले आफ्ना कतिपय चुनावी अभियानका क्रममा व्यक्त वाचाबाट केही पछि हटेको जस्तो सुनिने जवाफ दिएका थिए।

तस्वीर कपीराइट Reuters

हिलरी क्लिन्टनले विदेशमन्त्री छँदा निजी सर्भरबाट इमेल पठाएकोमा कारबाही गर्ने धारणा चुनावी अभियानका क्रममा राखेका ट्रम्पले क्लिन्टनले दुख पाइसकेको भन्दै उनको परिवारलाई आफूले थप चोट नपुर्याउने बताए।

त्यसअघि उनकी प्रवक्ताले ट्रम्पले उक्त विषयको अनुसन्धानका लागि विशेष अभियोजनकर्ता नियुक्त नगर्ने प्रष्ट पारेकी थिइन्।

एमएसएनबिसीलाई दिएको अन्तरवार्तामा ट्रम्पकी प्रवक्ता केल्यान कोनवेले भनिन्, “हिलरी क्लिन्टनले अहिले पनि के तथ्य आत्मसात गर्नैपर्छ भने बहुसंख्यक अमेरिकीले उनलाई इमान्दार र विश्वसनीय अझै ठान्दैनन्। तर यदि डोनल्ड ट्रम्पले उनलाई त्यसबाट मुक्त हुन सहयोग गर्न सक्छन् भने शायद त्यो राम्रो काम हो।”

डेमोक्रयाट तर्फकी राष्ट्रपति उम्मेदवार क्लिन्टन इमेल विवादमा दोषी नदेखिएको मतदानको केही अघि अमेरिकी संघिय जाँच ब्युरो एफबिआइले बताएको थियो।

जलवायु

ट्रम्पले जलवायु परिवर्तनका सवाल र प्यारिस जलवायु सम्झौताबाट अमेरिका अलग हुने या नहुने भन्नेबारे आफ्नो दृष्टिकोण खुल्ला रहेको बताए।

चुनावी अभियानका क्रममा उनले उक्त सम्झौताबाट पछि हट्ने मुद्दा जोडतोडले उठाएका थिए।

अति उग्र दक्षिणपन्थीहरुबाट समर्थन पाएको र केही समर्थकहरुले नाजी शैलीमा सलाम गरेर उनको जितमा खुसियाली मनाएको भन्नेबारे सोधिएको प्रश्नमा ट्रम्पले त्यस्तो समूहको मनोबल बढाउन आफूले नचाहेको र उनीहरु उत्साहित भएको भए त्यसबारे आफूले बुझ्ने बताएका छन्।