http://www.nepali.com

05 जुन, 2005 16:44 GMT सम्मका समाचारहरु

पत्रकारहरुद्वारा विरोध कार्यक्रम जारी

नेपालमा स्वतन्त्र प्रेसमाथि सरकारी प्रतिबन्ध कायमै रहेको भन्दै पत्रकारहरुले विरोध कार्यक्रम जारी राखेका छन्।

आईतबार बिहान काठमाण्डौको तीनकुनेमा भेला भएका झण्डै दुईसय पत्रकारहरुले मौन पदयात्रा गर्दै प्रेसमाथि लगाईएका सबैखाले प्रतिबन्धहरुको विरोध गरेका थिए।

नेपाल पत्रकार महासंघको आयोजनामा संचारकर्मी तथा प्रकाशकहरुको समेत सहभागिता रहेको सो जुलुसमा स्वतन्त्र प्रेसलाई निर्वाध रुपमा काम गर्न दिन आग्रह गरिएको थियो।

विभिन्न प्लेकार्ड र ब्यानरहरु बोकेको जुलुस बबरमहल पुगेपछि कोणसभामा परिणत भएको थियो।

सभाका वक्ताहरुले प्रेसमाथि थप दमन गर्न ल्याउन लागिएको भनिएको अध्यादेशको विरोध गर्दै जनताको आवाज मुखरित गर्ने एफ एम रेडियो स्टेशनहरुमाथि समाचार प्रसारणमा लगाईएको रोक तत्काल हटाउन सरकारसंग माग गरेका थिए।

विरोधको शैली

एफ एम रेडियो स्टेशनहरुमाथि लगाईएको रोकको विरोध गर्दै विराटनगरमा आईतबार बेलुका माईक राखी सार्वजनिक स्थलमा समाचार वाचन गरिएको थियो।

नेपाल पत्रकार महासंघ मोरङ शाखाका सभापति शिवबहादुर कार्कीले स्थानीय जनतालाई सुसूचित गर्ने आफ्नो दायित्व पूरा गर्न आउंदा दिनहरुमा शहरका प्रमुख चोकहरुमा हरेक दिन बेलुका ६ बजे पन्ध्र मिनेटसम्म सार्वजनिक रुपमा समाचार पढेर सुनाईने बीबीसीलाई बताउनुभयो।

उता नारायणगढमा स्वतन्त्र रेडियो बचाउ आन्दोलनको आव्हानमा संचारकर्मीहरुले शनिबार सांझ मैनबत्ती बालेर विरोध जनाएका थिए।

मध्यपश्चिमको नेपालगंजमा भने दर्जनौं पत्रकारहरुले शनिबार बिहान घण्टी बजाएर विरोध गरेका थिए।

पत्रकारहरुका पछिल्ला कार्यक्रमबारे अधिकारीहरुले कुनैं टिप्पणी गरेका छैनन्।

काठमाण्डौमा समसामयिक विषयमा अन्तरक्रिया आयोजना गरेर चर्चामा आईरहने रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले विपक्षी दलका नेताहरुलाई आफ्नो कार्यक्रममा नबोलाउन सरकारले क्लबलाई दबाब दिएको बताउनुभएको छ।