Skip to main contentAccess keys helpA-Z index
BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
16 डिसेम्बर, 2005 16:36 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
काठमाण्डौं उपत्यका बन्दमा जनजीवन प्रभावित
 
हत्याकाण्डको समाचार पछि भक्तपुरमा निस्केको विद्यार्थीहरूको जुलुस
नगरकोट हत्याकाण्डको विरोधमा उपत्यका तीनै शहर प्रभावित रहे
नेपालमा, भक्तपुर जिल्लाको नगरकोटमा बुधबार भएको हत्याकाण्डको विरोधमा गरिएको एकदिने बन्दका कारण आज काठमाण्डौं उपत्यकाको सामान्य जनजीवन नराम्ररी प्रभावित भयो।

हत्याकाण्डको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिरहेका सातवटा प्रमुख संसदवादी दलहरूको समूहले बन्दको आह्वान गरेको थियो।

बन्द आह्वानकर्ता र प्रहरीका बीच ठाउँ ठाउँमा झडप हुँदा दुवै पक्षका गरी कयौं घाइते भएका थिए भने दर्जनौं प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको थियो।

विना वर्दीका एकजना सैनिकले अन्धाधुन्ध गोली चलाउँदा बाह्रजना सर्वसाधारणको ज्यान गएको र अरू १९ जना घाइते भएको नगरकोटको त्रासदीपूर्ण घटनाको घाउ आलै रहेका बेला उपत्यका बन्दमा दंगा प्रहरीसँगको झडपमा कयौं घाइते भएका थिए।

विहिवार अपरान्हमात्र घोषणा भएको बन्द लागू गराउन विहान सवेरैदेखि उपत्यकाका तीनै शहर काठमाण्डौं, ललितपुर र भक्तपुरका प्रमुख केन्द्रहरूमा विरोध प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए।

केहि ठाउँमा आक्रोशित प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी चार्ज र अश्रु ग्याँस प्रहार गरेको थियो।

बन्दका आयोजकहरूले सरकार प्रदर्शनकारीहरूमाथि निर्मम दमनमा उत्रिएको आरोप लगाएका छन्।
अधिकारीहरूको भनाई चाहिं तोडफोड रोक्न प्रदर्शनकारीहरूमाथि बल प्रयोग गर्नु परेको भन्ने छ।

बन्दका आयोजकहरूका अनुसार प्रहरीले एकसय भन्दा बढी प्रदर्शनकारीहरूलाई गिरफ्तार गरेको थियो।
प्रहरीको लाठी र अश्रुग्याँस प्रहारबाट दर्जनौं घाइते भएका उनीहरूले जनाएका छन्।

अधिकारीहरूका अनुसार गिरफ्तार गरिएकाहरूको संख्या ६८ मात्र छ। उनीहरूका अनुसार प्रदर्शनकारीको ढुंगामुढा प्रहारबाट २३ जना प्रहरी घाइते भएका थिए र एक दर्जनभन्दा बढी सवारी साधनहरूमा क्षति पुगेको थियो।

बन्दका कारण स्कुल कलेज खुलेनन्, मुख्य मुख्य बजार बन्द रहे अनि अरू दिन व्यस्त रहने सडकहरूमा नगण्य संख्यामा मात्र सवारीसाधनहरू चल्दा बाटो सुनसान देखिन्थ्यो।

काठमाण्डौं बाहिर पनि विरोध

नगरकोट घटनाको विरोधमा काठमाण्डौं उपत्यका बाहिरका कतिपय जिल्लाहरूमा ‌पनि प्रदर्शन भएका समाचार छ। प्रहरी र प्रदर्शनकारीबीचको झडपले विहानैदेखि दक्षिणको एउटा प्रमुख शहर नारायणगढ तनावग्रस्त रहेको त्यहाँबाट पत्रकार इश्वर जोशीले बताएका छन्।

त्यस्तै पश्चिमको प्रमुख शहर पोखरामा पनि विरोध प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको समाचार छ। पोखराबाट पत्रकार नारायण कार्कीले जनाए अनुसार झडपमा प्रहरी र प्रदर्शनकारी विद्यार्थीहरू गरी दुई दर्जन घाइते भएका छन्।

पूर्वको शहर विराटनगरमा बजारहरु बन्द गराउँदै हिंडेका विद्यार्थीहरुको समूहले त्यहाँ निर्वाचन आयोगको कार्यक्रम भैरहेको एउटा होटेलमा ढुङ्गामूढा गरेका थिए।

स्थानिय महेन्द्र मोरङ्ग क्याम्पस हाताबाट उनीहरुले ढुङ्गा प्रहार गर्दा तीनजना प्रहरी घाइते भएका थिए।

विद्यार्थीहरुले ठाउँ ठाउँमा टायर बालेपछि बजार तनावग्रस्त बनेको थियो।

स्थितीलाई सामान्य तुल्याउन प्रहरीले हवाइ फायर समेत गरेका थिए।शनिवार आयोजना हुने एमालेको एउटा क्षेत्रीय आमसभालाई लक्षित गरी विराटनगरमा सुरक्षा ब्यवस्था अझ कडा तुल्याइएको छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>