Skip to main contentAccess keys helpA-Z index
BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
30 डिसेम्बर, 2008 11:48 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
सही प्रयोग
 
बीबीसी पत्रकारिता भाषा पाठशाला

सही प्रयोग

समाचारको विषयवस्तुमा झैं तपाईंले प्रयोग गर्ने भाषामा पनि ए–बी–सी को नियम लागू हुन्छ।

जे भन्न खोजिएको हो, शब्द र वाक्यले अचूक रूपमा ठ्याक्कै त्यही बुझाउनुपर्छ, प्रस्तुति सन्तुलित हुनुपर्छ र अभिव्यक्ति अनर्थकारी वा हास्यास्पद हुनुहुँदैन।

शब्दको अर्थ के हो, ठीकसँग बुझेर मात्र प्रयोग गर्नुहोस्। नाम होस् वा विशेषण, अर्थ नबुझी प्रयोग गर्दा अनर्थ हुन सक्छ:

• यमुनाले एक जना ज्योतिषलाई आफ्नो हात देखाइन्।
'ज्योतिष' भनेको शास्त्र वा विद्या हो। व्यक्तिलाई ज्योतिष भनिदैन। ज्योतिष पढेको वा ज्योतिष जान्ने मान्छेलाई ज्योतिषी भनिन्छ।

• व्यवसायमा बारम्बार असफल भएपछि उनमा निराशावाद भरियो।
'वाद' भनेको सिद्धान्त हो। उनमा निराशाको सिद्धान्त होइन, निराशा मात्र भरिएको हो।

 शब्दलाई ठीक ठाउँमा नराख्दा अर्थ र आशय उल्टोपाल्टो हुन सक्छ। जुन शब्दको जससँग सम्बन्ध छ उसलाई त्यसैको नजिक लगेर राख्‍नुहोस्
 

• दुई वर्षदेखि गैंडाको चोरीशिकारी निकै बढेको छ। 'शिकारी'को अर्थ हो ― शिकार गर्ने व्यक्ति। यहाँ चोरीशिकारी होइन चोरीशिकार (लुकेर गरिने अवैध शिकार) बढ्यो भन्न खोजिएको हो।

• तीन वर्ष यता कुकुरको जनसंख्या निकै बढेको छ।
'जनसंख्या' भनेको मानिसहरुको संख्या हो। मानिस बाहेक अरूका लागि जनसंख्या प्रयोग हुँदैन। 'संख्या' मात्र भने पुग्छ।

• वरिष्‍ठ हास्यव्यंग्यकार भैरव अर्याललाई त्यस वर्ष मदन पुरस्कार प्रदान गरियो।
'प्रदान'भनेको ठूलाले सानालाई दिने हो। विशिष्‍ट व्यक्तिलाई पुरस्कार, सम्मान आदि दिंदा अर्पण गरियो भन्नु राम्रो हुन्छ।
'प्रदान' गर्दा लिने व्यक्ति बढी झुक्छ, 'अर्पण' गर्दा दिने व्यक्ति।

• उहाँको भनाइ र गराइमा विरोधाभास छ।
'आभास' को अर्थ मिथ्या ज्ञान वा भ्रम हो। 'विरोधाभास' को अर्थ पनि दुई वा धेरै वस्तु अथवा कुराका बीच विरोध भएजस्तो, कुरा नमिलेजस्तो भान पर्नु मात्र हो। साँच्चिकै विरोध भएको वा कुरा नमिलेको अवस्थालाई 'विरोधाभास'ले जनाउँदैन। यसको सट्टा 'अन्तर्विरोध' शब्दले काम चलाउन सकिन्छ।

भन्न चाहेको भन्दा फरक आशय ध्वनित हुन सक्छ, ख्याल गर्नुहोस्:

• सरकारले सगरमाथाको चित्र अङ्कित नयाँ हुलाक टिकट निष्कासन गरेको छ।
'निष्कासन' शब्दले नकारात्मक भाव दिन्छ। 'हत्यामा संलग्न दुई जना विद्यार्थीलाई विश्‍वविद्यालयबाट निष्कासन गरियो' जस्ता वाक्यमा मात्र 'निष्कासन' को प्रयोग उचित हुन्छ। यहाँ '...नयाँ हुलाक टिकट प्रकाशन गरेको छ/निकालेको छ' भन्नु राम्रो हुन्छ।

• लागू पदार्थ सेवन गर्नेहरूलाई एड्स लाग्ने खतरा हुन्छ।
'सेवन' चाहिं सकारात्मक अर्थ दिने शब्द हो। 'बिहान बिहान स्वच्छ वायु सेवन गर्नु स्वास्थ्यका निम्ति राम्रो हुन्छ' जस्ता ठाउँमा मात्र 'सेवन' को प्रयोग उपयुक्त हुन्छ। यहाँ चाहिं 'लागू पदार्थ खाने/प्रयोग गर्नेहरूलाई' भन्नु उचित हुन्छ।

• संयोगवश उनी चढेको रिक्सा दुर्घटनाग्रस्त भयो।
'संयोगवश' सकारात्मक भाव बोकेको शब्द हो । संयोगवश दुर्घटना हुँदैन, बरु त्यसबाट जोगिन सकिन्छ। यस वाक्यमा 'संयोगवश' को काम छैन।

 वाक्य जस्तै उपवाक्यको पनि क्रियापदसँग प्रत्यक्ष सम्बन्ध वा अन्वय हुनुपर्छ। उपवाक्यलाई बीच बाटामै अलपत्र छाडेर हिंड्ने रोगबाट बच्नुहोस्
 

• माओवादीले निर्दोष शिक्षकलाई कुटपीट गरेको एमालेको दाबी।
दाबी भनेको कुनै वस्तु वा कार्यमा आफ्नो हकको जिकिर गर्ने काम हो। जस्तै: लोकतन्त्र ल्याउन आफ्नो महत्त्वपूर्ण भूमिका भएको एमालेको दाबी। कसैलाई कुनै खराब काम गरे बापत लगाइएको दोष, बात वा अभियोगलाई चाहिं आरोप भनिन्छ। यहाँ पनि दाबी होइन आरोप भन्नुपर्छ।
सामान्यतः दाबी आफैं गरिन्छ र आरोप अर्कालाई लगाइन्छ।

• बिहानबेलुका भारी बोक्नु रामको दैनिकी हुन पुगेको छ। श्यामको दिनचर्या भने गफ गरेर बित्छ।
'दैनिकी' शब्दको अर्थ दिनदिनैको काम वा क्रियाकलाप नभएर दिनदिनैका घटना लेख्‍ने पुस्तिका अर्थात् 'डायरी' हो। 'दिनचर्या' चाहिं दिनदिनै/दिनभर गरिने कामलाई भनिन्छ। त्यसैले यहाँ भन्नुपर्छ―बिहानबेलुका भारी बोक्नु रामको दिनचर्या हुन पुगेको छ। श्यामको दिन भने गफ गरेर बित्छ।

• यस खानेपानी आयोजनाबाट २० हजार जनसंख्या लाभान्वित हुनेछन्।
'जनसंख्या' भनेको जनताको संख्या हो, जनता नै चाहिं होइन। संख्या निर्जीव हुन्छ त्यसैले त्यो लाभान्वित हुने कुरै आएन। यस्ता ठाउँमा सीधै 'जनता लाभान्वित हुनेछन्' भन्नु बुद्धिमानी हुन्छ।
'राष्ट्राध्यक्ष तीर्थयात्रामा' भन्दा राष्ट्र होइन त्यसको अध्यक्ष तीर्थ गर्न गएको अर्थ लागे जस्तै अथवा 'छात्रावास ध्वस्त' भन्दा छात्रहरू होइन तिनको आवास ध्वस्त भएको बुझिए जस्तै 'जनसंख्या लाभान्वित' भन्दा पनि जनता होइन तिनको संख्या लाभान्वित भन्ने अर्थ निस्कन्छ।

'म ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो' हुन पुग्ला, सतर्क रहनुहोस्:

• यो सन्धिबाट राष्ट्रघात बाहेक अर्को कुनै उपलब्धि हासिल हुन सक्तैन।
यस्तो लाग्छ, मानौं राष्ट्रघात पनि एउटा उपलब्धि हो। त्यो हासिल हुने भए पनि त्यसबाहेक अर्को कुनै उपलब्धि हात नलाग्ने भयो भन्ने चिन्ता परेको छ।

• यसबाट जनतालाई भड्काउनु बाहेक कुनै फाइदा हुनेछैन।
जनतालाई भड्काउनु पनि कुनै 'फाइदा' हो र ?

• सो विद्यालयमा एक महीनाभित्र दोस्रो पटक एउटी छात्रा गर्भवती भएकी छन्।
'एउटी छात्रा' एक महीनामा दोस्रो पटक गर्भवती भएकी?

• साहित्यका बारेमा भन्नुपर्दा, नेपाली साहित्यको इतिहास ज्यादै उज्ज्वल छ।
भन्नु नपर्दा चाहिं इतिहास अँध्यारो हुने हो कि?

 लक्षित श्रोताको ख्याल नगरिएका र सन्दर्भहीन तुक्का गाँसिएका वाक्य काम लाग्दैनन्
 

• विश्‍वलाई शान्तिको सन्देश दिएर महान त्याग गर्ने गौतम बुद्धलाई हामी पूजा गछौं।
यस्तो लाग्छ, मानौं शान्तिको सन्देश दिनु नै महान त्याग हो।

• विश्‍वको सर्वोच्च शिखर सगरमाथादेखि शान्तिका दूत गौतम बुद्धको जन्मस्थल हो नेपाल।
सगरमाथाको पनि जन्मस्थल ?

निश्‍चित र स्पष्‍ट अर्थ नबुझाउने शब्दबाट जोगिनुहोस्:

• चक्काजामबाट कर्मचारीहरू पनि प्रभावित भएका छन्।
— बाढीबाट दुई गाविस प्रभावित भएका छन्।
— आगलागीबाट बीस घर प्रभावित भएका छन्।
चक्काजामले गर्दा कर्मचारीहरू पैदलै अफिस जानुपर्ने भएको हो, बाढीले दुई गाविसका खेतबारीमा पानी भरिएको हो र आगलागीबाट बीस घर खरानी भएका हुन्। तीन किसिमका यति फरक अवस्थाका लागि प्रयोग भएको 'प्रभावित' शब्दले वस्तुतः कुनै पनि अवस्थाको निश्‍चित चित्र उतार्न सकेको छैन।

• बम विस्फोटका कारण विद्यालय भवन क्षतिग्रस्त भएको छ।
'क्षतिग्रस्त' शब्दले विद्यालय पूरै भत्केको, एउटा भित्तामा प्वाल परेको, प्लास्टर उप्केको अथवा झ्यालका सीसाहरू फुटेको जुनसुकै अवस्थालाई जनाउँछ। यो पनि स्पष्‍ट अर्थ नबुझाउने शब्द हो।

• गैरकानूनी क्रियाकलापमा लागेका कारण ऊ दण्डित भयो।
'गैरकानूनी' शब्दले सार्वजनिक ठाउँमा होहल्ला गर्नु र ५१ जनाभन्दा बढी जन्ती लैजानुदेखि जालसाजी, कुटपीट, अपहरण, मानव बेचबिखन र हत्यासम्मलाई बुझाउँछ। यहाँ के बुझ्ने?

प्रजातान्त्रिक, अप्रजातान्त्रिक, अभिवृद्धि, विकास, दुरवस्था, प्रगति जस्ता थुप्रै शब्द छन् जसले वास्तवमा कुनै निश्‍चित तहको र स्पष्‍ट अर्थ व्यक्त गर्दैनन्। त्यसैले कि यस्ता शब्दको प्रयोगै नगर्ने, नत्र भन्न खोजेको कुरा तुरुन्तै स्पष्‍ट पार्ने गर्नुपर्छ।

सर्वनामको प्रयोगमा पनि होशियारी उत्तिकै जरूरी छ:

• नेपालको फूटबल टिम हिजो जापान प्रस्थान गर्‍यो। उनीहरू सबैले यसपालि रातो ज्याकेट लगाएका थिए।
'उनीहरू' भनेको को ? फूटबल टीम एउटा हो, त्यसलाई उनीहरू भन्न मिल्दैन। भन्नुपर्छ― 'टीमका सबै सदस्यले...'

 म ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो' हुन पुग्ला, सतर्क रहनुहोस्
 

• भित्तामा हरिबहादुरको तस्विर टाँगिएको थियो जसबाट मैले अघिल्लो हप्‍ता दुई हजार रुपैयाँ लिएको थिएँ।
कसबाट दुई हजार रुपैयाँ लिएको ? हरिबहादुरबाट कि तस्विरबाट ? यस वाक्यले त तस्विरबाट लिएको भन्ने अर्थ पो बुझाउँछ!

• क्लबले बर्सेनी तटबन्ध मर्मत गर्ने गरेकाले गाउँलेहरू आजसम्म बाढीबाट सुरक्षित छन्। भविष्यमा पनि यो जरूरी छ।
'यो'भनेको के? भन्नुपर्छ ― भविष्यमा पनि यस्तो भइरहनु / तटबन्धको मर्मत भइरहनु जरूरी छ।

• उनले फ्रेमबाट तस्विर निकाले र त्यो हरिलाई दिए।
'त्यो' भनेको के ? फ्रेम कि तस्विर?

• जंगलमा एउटा हरिन र एउटा मुजुर देखिए। श्यामले भन्यो ― आहा, यो कति राम्रो रहेछ।
'यो' भनेको के? हरिन कि मुजुर ?

• पार्टी सभापतिले हामीले अनुशासित भएर पार्टीको नीति बमोजिम काम गर्नुपर्ने बताउनुभयो।
वक्ताले आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै 'हामीले' भनेका हुन्। तर यस वाक्यले चाहिं यो लेख्‍ने व्यक्ति अर्थात् रिपोर्टर(हरु) ले नै अनुशासित भएर उनको पार्टीको नीति बमोजिम काम गर्नुपर्ने भन्ने अर्थ बुझाउँछ। (सही अर्थ बुझाउन वाक्यको पुनर्लेखन गर्नुहोस्।)

विशेषणले अपठ्यारोमा पार्न सक्छ, अतिरिक्त सावधानी अपनाउनुहोस्:

• बलरामले दर्जनौं चेलिबेटी भारत लगेर बेचिसकेको छ । ऊ सजाय दिन लायक व्यक्ति हो।
'सजाय दिन लायक' होइन, 'सजाय पाउन लायक'।

• उसको उत्तेजित भनाइले अरूलाई रिस उठायो।
भनाइ निर्जीव वस्तु भएकाले त्यो 'उत्तेजित' हुन सक्दैन। भन्नुपर्छ― 'उसको उत्तेजनापूर्ण भनाइले...'

• श्यामको घर वराहक्षेत्रबाट दुई दिन टाढा छ।
दूरीलाई दिनमा नापिंदैन। त्यसैले भनौं ― '...पैदल हिंड्दा दुई दिनको बाटोमा छ।'

 निश्‍चित र स्पष्‍ट अर्थ नबुझाउने शब्दबाट जोगिनुहोस्
 

• संगठनको तीनदिने प्रथम राष्ट्रिय भेला हिजो शुरु भयो।
यस वाक्यले संगठनका राष्ट्रिय भेलाहरू विभिन्न थरिका हुँदा रहेछन् जसमध्ये 'तीनदिने' राष्ट्रिय भेला चाहिं पहिलो चोटि भएको रहेछ भन्ने अर्थ बुझाउँछ। यसबाट बच्न वाक्यबाट 'तीनदिने' शब्द हटाएर अर्को वाक्यमा 'भेला तीन दिनसम्म चल्नेछ' भन्नु ठीक हुन्छ।

• उहाँले तथाकथित गुण्डागर्दीको भर्त्सना गर्नुभयो।
'तथाकथित'शब्दले भन्न त भनिन्छ तर त्यस्तो होइन वा प्रमाणित भइसकेको छैन भन्ने अर्थ बुझाउँछ। जे हुँदै होइन वा प्रमाणित भएकै छैन त्यसको भर्त्सना किन?

• मदन पुरस्कार विजेता उपन्यासकार कृष्ण धरावासीले कविता वाचन गर्नुभयो।
प्रतियोगिता जितेर पुरस्कार पाएको अवस्थामा मात्र 'विजेता' भन्न सुहाउँछ। कदर वा सम्मानस्वरूप दिइने पुरस्कार चाहिं जितिने होइन, पाइने कुरा हो। त्यसैले 'मदन पुरस्कार प्राप्‍त उपन्यासकार...' भन्नु ठीक हुन्छ।

• दैवी प्रकोपबाट पीडित जनताले पर्याप्‍त राहत पाउन सकेनन्।
'दैवी प्रकोप' होइन, प्राकृतिक प्रकोप भन्नु राम्रो। 'दैवी प्रकोप' को अर्थ देउता वा ईश्‍वरको प्रकोप हो। बाढी, पहिरो, सुख्खा, भुइँचालो आदि प्राकृतिक प्रकोप हुन्। तिनलाई देउता अथवा ईश्‍वरसँग लगेर नजोडौं।

• कुखुराजन्य व्यवसायबाट उसले ठूलो कमाइ गर्‍यो।
'जन्य' को अर्थ उत्पन्न भएको वा पैदा हुने हो। अण्डा, चल्ला, मासु आदि कुखुराजन्य होलान् तर व्यवसाय कुखुराजन्य हुँदैन। त्यो कुखुरासँग सम्बन्धित मात्र हुन्छ। त्यसैले यहाँ 'कुखुरा सम्बन्धी' भन्नु राम्रो हुन्छ। 'कुखुरापालन' मात्रले पनि धेरै कुरा समेट्न सक्छ।
'यौनजन्य व्यवहार','मदिराजन्य पदार्थ','सुर्तीजन्य वस्तु' जस्ता प्रयोगबाट पनि बच्नु जरुरी छ।

• शिक्षाको स्तर कसरी बढाउने भन्ने कुरा चिन्ताजनक छ।
— प्रतिवर्ष चेलिबेटी बेचबिखन बढ्दै जानु चिन्तनीय विषय बनेको छ।
'चिन्ताजनक' को अर्थ हो ― चिन्ता उत्पन्न गर्ने। र, 'चिन्तनीय' को अर्थ हो ― चिन्तन गर्न जरूरी। एउटाको सम्बन्ध चिन्तासँग छ भने अर्काको चिन्तनसँग। माथिका वाक्यहरू मध्ये पहिलोमा 'चिन्तनीय' र दोस्रोमा 'चिन्ताजनक' भन्नु उपयुक्त हुन्छ।

 हिसाबले कहिलेकाहीं नराम्रोसँग झुक्याउँछ, होश गर्नुहोस्
 

• संस्थाले आशातीत प्रगति गर्न सकेको छैन।
'आशातीत' को अर्थ हो ― जति आशा वा अपेक्षा गरेको हो त्यसभन्दा वढी। यस वाक्यले चाहिं आशा गरिए जति पनि प्रगति गर्न सकेन भन्न खोजेको छ। त्यसका लागि 'आशातीत' को ठाउँमा 'आशानुरूप' भन्नुपर्छ।

• नेताहरूका अस्पष्‍ट कुराले जनता गुमराहमा परेका छन्।
'गुमराह' शब्द विशेषण हो र यसको अर्थ हो ― जसको बाटो हराएको छ वा बेपत्ता भएको छ। 'कुइराको काग' भने जस्तै । कोही गुमराह हुन सक्छ वा कसैलाई गुमराह बनाउन सकिन्छ। तर कोही गुमराहमा पर्न सक्दैन र कसैलाई गुमराहमा पार्न पनि सकिंदैन किनभने गुमराह भनेको कुनै भाँडो, ठाउँ वा अवस्था होइन। त्यसैले भन्नुपर्छ '...जनता गुमराह भएका छन्' वा '...जनतालाई गुमराह बनाएका छन्।'

• दुवै मृतकहरूले पालैपालो उनको बलात्कार गरेका थिए।
मरिसकेकोलाई मात्र मृतक भनिन्छ। स्पष्‍ट छ, मृतकले कहिल्यै बलात्कार गर्न सक्दैन।

• म मृतात्माको चिरशान्तिको कामना गर्दछु।
आत्माको सिद्धान्त अनुसार शरीर मर्छ तर आत्मा कहिल्यै मर्दैन। त्यसैले मृतात्मा (मृत आत्मा) शब्द नै हुँदैन। भन्नुपर्छ ― 'दिवंगत (स्वर्ग गएको) आत्माको।'

हिसाबले कहिलेकाहीं नराम्रोसँग झुक्याउँछ, होश गर्नुहोस्:

• साउनको पहिलो हप्‍ता आँपको भाउ प्रतिकिलो ४० रुपैयाँ थियो। दोस्रो हप्‍ता ५० प्रतिशत बढेर ६० रुपैयाँ पुग्यो। तेस्रो हप्‍ता ५० प्रतिशत घटेर फेरि ४० रुपैयाँमा आइपुगेको छ।
कुरो मिलेन। ४० रुपैयाँमा ५० प्रतिशत बढेर ६० रुपैयाँ भएको त ठीक हो, तर ६० रुपैयाँमा ५० प्रतिशत घट्दा ३० रुपैयाँ हुन्छ, ४० रुपैयाँ होइन।

• बैंकले कर्जा ब्याजदरमा दुई प्रतिशत वृद्धि गरी १० बाट १२ प्रतिशत पुर्‍याएको छ।
यहाँ पनि कुरो मिलेन। कर्जा ब्याजदरमा दुई प्रतिशत होइन, २० प्रतिशत वृद्धि भएको हो। साबिकको १० प्रतिशतमा २० प्रतिशत थप्दा मात्र १२ प्रतिशत हुन्छ।

• प्रति किलो १०० रुपैयाँ पर्ने अनारको भाउ एक महीनामै दुई गुणा वढेर २०० रुपैयाँ भएको छ।
गलत ! १०० रुपैयाँको दुई गुणा भनेको २०० रुपैयाँ हो। १०० मा २०० बढ्दा (थपिंदा) ३०० रुपैयाँ हुन्छ। भन्नुपर्छ― 'प्रति किलो १०० रुपैयाँ पर्ने अनारको भाउ एक महिनामै दोब्बर भएको छ।'
ख्याल गर्नोस् ― 'दुई गुणा बढ्नु' भनेको तीन गुणा बराबर हुनु हो,'चार गुणा वढ्नु' भनेको पाँच गुणा बराबर हुनु हो।

• प्रति कित्ता दुई हजार रुपैयाँ पर्ने शेयरको भाउ एक महीनामै चार गुणा घटेर ५०० रुपैयाँ भएको छ।
झन् गलत! दुई हजारको चार गुणा भनेको आठ हजार हो। दुई हजारमा आठ हजार कसरी घट्न सक्छ?
ध्यान दिनोस्― 'गुणा' कहिल्यै घट्दैन, जहिले पनि बढ्छ मात्र।

लक्षित श्रोताको ख्याल नगरिएका र सन्दर्भहीन तुक्का गाँसिएका वाक्य काम लाग्दैनन्:

• देशको राजधानी काठमाडौंमा यसै हप्‍ता जनजातिहरूको राष्ट्रिय सम्मेलन हुँदैछ।
— गत वर्ष उनले संसारको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे।
नेपाली श्रोतालाई काठमाडौं देशको राजधानी हो अथवा सगरमाथा संसारको सर्वोच्च शिखर हो भनेर चिनाइरहनु जरूरी छैन।

 निश्‍चित र स्पष्‍ट अर्थ नबुझाउने शब्दबाट जोगिनुहोस्
 

• हामी आन्दोलनको ज्वारभाटा सृजना गर्नेछौं।
— प्रजातन्त्रको रक्षा गर्नु सिसिफसको प्रयास सिद्ध भएको छ।
भूपरिवेष्ठित देशका बासिन्दालाई 'ज्वारभाटा'को जंजालमा फँसाउनु ठीक होइन। 'सिसिफसको प्रयास' पनि आम नेपालीका निम्ति नबुझिने पहेली हो।

• काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकका गभर्नर चारदिने भ्रमणका लागि हिजो चीनतर्फ लाग्नुभयो।
— देशको अन्नभण्डार मानिने चितवनमा सरकारी स्कूलहरूको अवस्था दयनीय छ।
'काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको' र 'देशको अन्नभण्डार मानिने' वाक्यांशहरु सन्दर्भहीन छन्। यी वाक्यमा तिनको कुनै काम छैन।

वाक्य जस्तै उपवाक्यको पनि क्रियापदसँग प्रत्यक्ष सम्बन्ध वा अन्वय हुनुपर्छ। उपवाक्यलाई बीच बाटामै अलपत्र छाडेर हिंड्ने रोगबाट बच्नुहोस्:

• यो पुस्तिका पढ्ने मात्र होइन यसमा लेखिएका कुरालाई व्यवहारमा उतार्नु पनि पर्छ।
'यो पुस्तिका पढ्ने मात्र होइन' उपवाक्यको क्रियापदसँग सम्बन्ध नहुनाले त्यो अलपत्र परेको छ। वाक्यलाई यसरी पुनर्लेखन गर्न सकिन्छ:

क. यो पुस्तिका पढेर मात्र हुँदैन यसमा लेखिएका कुरालाई व्यवहारमा उतार्नु पनि पर्छ।
ख. यो पुस्तिका पढ्ने मात्र होइन यसमा लेखिएका कुरालाई व्यवहारमा उतार्ने पनि गर्नुपर्छ।

• पहिले गाउँमा अधिकारका कुरा उठाउन नपाइने र केही बोलेमा ठूलाठालुहरूबाट दण्डित हुनुपर्थ्यो।
'… कुरा उठाउन नपाइने' उपवाक्य क्रियापद नभएर टुहुरो बनेको छ। भन्नुपर्छ ― 'कुरा उठाउन पाइँदैनथ्यो र...'

• उहाँले ऐन बनेर मात्र हुँदैन त्यसलाई लागू गर्न जनता स्वयं अग्रसर हुनुपर्ने बताउनुभयो।
'ऐन बनेर मात्र हुँदैन' उपवाक्य बेवारिसे भएको छ। वाक्य ठीक पार्न दुइटा विकल्प हुन सक्छन्:

क. उहाँले ऐन बनेर मात्र हुँदैन त्यसलाई लागू गर्न जनता स्वयं अग्रसर हुनुपर्छ भन्नुभयो।
ख. उहाँले ऐन बनेर मात्र नहुने त्यसलाई लागू गर्न जनता स्वयं अग्रसर हुनुपर्ने बताउनुभयो।
कार्यको उत्पत्ति कारणबाट हुन्छ। जुन कुरो कारण नै होइन त्यसलाई कारण ठानेर अथवा कारण जस्तो बनाएर प्रस्तुत नगर्नुहोस्:

• नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले यसको साक्षरता प्रतिशत न्यून छ।
भूपरिवेष्ठित हुनु साक्षरता न्यून हुनुको कारण हुन सक्दैन। हुने भए स्विट्जरल्याण्डको साक्षरता पनि नेपालकै हाराहारीमा हुनुपर्थ्यो।

 शब्दको अर्थ के हो, ठीकसँग बुझेर मात्र प्रयोग गर्नुहोस्। नाम होस् वा विशेषण, अर्थ नबुझी प्रयोग गर्दा अनर्थ हुन सक्छ
 

• दुग्धेश्‍वर महादेवस्थान हुँदै खनिएकाले यस सडकको नाम 'लोकभक्त दुग्धेश्‍वर मार्ग' राखिएको छ।
कारण अपूर्ण छ। दुग्धेश्‍वर महादेवस्थान मात्र कारण भए सडकको नाम 'दुग्धेश्‍वर मार्ग' मात्र हुनुपर्थ्यो। 'लोकभक्त' कहाँबाट आयो?

• ईश्‍वरप्रतिको आस्था र विश्‍वासले नेपालीलाई दासतातर्फ उन्मुख गराएको छ।
ईश्‍वरप्रति आस्था राख्‍नु दासतातर्फ उन्मुख हुनुको कारण हुन सक्दैन। स्वतन्त्रताका लागि लड्ने गान्धीजस्ता व्यक्ति वा भारत, अमेरिका जस्ता मुलुकले ईश्‍वरमाथिको आस्था परित्याग गरेर त्यस्तो आन्दोलन थालेका होइनन्।
कारण मात्र होइन, यस वाक्यले प्रस्तुत गरेको परिणाम पनि भ्रान्तिकारी छ। नेपालीहरू दासतातर्फ उन्मुख नै हुन् त?

शब्दलाई ठीक ठाउँमा नराख्दा अर्थ र आशय उल्टोपाल्टो हुन सक्छ। जुन शब्दको जससँग सम्बन्ध छ उसलाई त्यसैको नजिक लगेर राख्‍नुहोस्:

• त्यो तस्वीर उसले आफ्नो कार्यालयमा १० हजार रुपैयाँमा किनेर राखेको थियो।
तस्वीर कार्यालयमा किनेको होइन, त्यहाँ राखेको मात्र हो। भन्नुपर्छ ― त्यो तस्वीर उसले १० हजार रुपैयाँमा किनेर आफ्नो कार्यालयमा राखेको थियो।

• सो अवसरमा अनेकौं बीबीसीका पत्रकार काठमाडौं आइपुगेका थिए।
बीबीसी अनेकौं छैनन्। त्यसैले 'अनेकौं बीबीसीका पत्रकार' होइन, 'बीबीसीका अनेकौं पत्रकार।'

• ऊ निन्याउरो अनुहार पारेर बसेको थियो।
निन्याउरो अनुहार के पारेर बसेको? भन्नुपर्छ ― अनुहार निन्याउरो पारेर बसेको।

• कानून अनुसार जसले घूस दिन्छ उसले पनि सजाय पाउनेछ।
कानून अनुसार घुस दिइँदैन किनभने घूस दिने कानून नै हुँदैन। भन्नुपर्छ ― जसले घूस दिन्छ उसले पनि कानून अनुसार सजाय पाउनेछ।

• पोखरा जान तयार भैसकेपछि विनीताले रामलाई भनिन्― आज मुग्लिनमा चक्काजाम छ रे।
विनीता पोखरा जान तयार भएकी होइनन्। त्यसैले भन्नुपर्छ― 'पोखरा जान तयार भैसकेपछि रामलाई विनीताले भनिन्...'

 भन्न चाहेको भन्दा फरक आशय ध्वनित हुन सक्छ, ख्याल गर्नुहोस्
 

• चक्रकोषबाट स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आएका १० जना महिलाले ऋण लिएका छन्।
महिलाहरू चक्रकोषबाट स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आएका होइनन्। भन्न खोजिएको हो ― स्वास्थ्य केन्द्रमा सुत्केरी हुन आएका १० जना महिलाले चक्रकोषबाट ऋण लिएका छन्।

• एउटा अजङ्गको भोटे कुकुर सुरक्षा गार्ड झैं पुच्छर हल्लाउँदै गेटमा उभिएको थियो।
सुरक्षा गार्डले पुच्छर हल्लाउँदैन। भए पो हल्लाउनु ? हास्यास्पद स्थितिबाट जोगिन 'सुरक्षा गार्ड झैं'लाई 'पुच्छर हल्लाउँदै' पछि लगेर राख्‍नुहोस्।

• स्वास्थ्यमन्त्रीले पशुहरूमा कृत्रिम गर्भधारण गराएपछि जन्मने सन्तान बढी स्वस्थ हुने विश्‍वास व्यक्त गर्नुभयो।
स्वास्थ्यमन्त्री स्वयंले पशुहरूमा कृत्रिम गर्भधारण गराउने होइन। सम्भावित अनर्थबाट बच्न 'स्वास्थ्यमन्त्रीले' लाई 'विश्‍वास' पछि लगेर राख्‍नुहोस्।

• 'अबको आधा घण्टामा रूस र जर्जियाबीच चर्किंदो युद्ध, नेपालमा कोशी नदीको बाढीले हजारौं विस्थापित, गौरमा आगलागी भएर २० घर खरानी, वाईसीएल र युथ फोर्सबीचको भिडन्तमा चार जनाको मृत्यु लगायत...सुन्न सक्नुहुनेछ।'

वाक्यको अन्त्यमा रहेको क्रियापद नसुनुन्जेल सबै घटना 'अबको आधा घण्टामा' हुन लागेका हुन् कि जस्तो लाग्छ! क्रियापदलाई 'आधा घण्टामा' सँगै राख्‍ने गरी वाक्यको पुनःसंगठन गरेर त्यसबाट जोगिन सकिन्छ।

 
 
College of Journalism परिचय
पत्रकारितामा भाषाको प्रयोगबारे बीबीसीले तयार पारेको विशेष सामाग्री
 
 
सन्तुलन सन्तुलन
शब्द, पदावली, आदर, तुलना आदिमा पनि सन्तुलन अत्यावश्यक हुन्छ
 
 
Graphic अपमानजनक
आफ्ना कुरा अरूको मुखमा कोच्याउनु, आरोपलाई सत्य झैं प्रस्तुत गर्नु गल्ती हुन्छ
 
 
Writing शब्दाडम्बर
भनाइलाई बोझिलो पार्नेगरी वाक्यलाई नचाहिने शब्दको भारी बोकाउनु हुंदैन
 
 
Translation अनुवाद
मूल भाषाको छायाँले नछोपोस्, आशय नउल्टियोस् भनेर सतर्क रहनुपर्छ
 
 
books साहित्यभन्दा फरक
पत्रकारिताको भाषामा साहितत्यको लेप लगाउनु अनुपयुक्त हुन्छ
 
 
एलन लिटल विशेषज्ञको सल्लाह
स्पष्ट रेडियो लेखनबारे बीबीसीका विशेष संवाददाता एलन लिटलको धारणा
 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>