भत्किन सक्छ कम्रूको घर

बाह्र वर्षीया कम्रूको घर एउटा डाँडामा छ।
उनको घर बाँस र प्लास्टिक प्रयोग गरेर बनाइएको हो।
उनी आफ्नी हजुरआमासँग दक्षिणपूर्वी बाङ्ग्लादेशको कक्सेज् बजारस्थित शरणार्थी शिविरमा बस्छिन्।

त्यो संसारकै सबैभन्दा ठूलो शरणार्थी शिविर हो।
भिरालो ठाउँमा भएको उनीहरूको घर ठूलो वर्षा र हावाहुरीले भत्काइदिन सक्छन्।
"मलाई यहाँ बस्न मन लाग्दैन। यहाँ धेरै दु:ख छ," कम्रू भन्छिन्, "मैले जति बेला पनि काम गरिराख्नु पर्छ। म धेरै खेल्न पाउँदिनँ।"
उनको दिउँसो अधिकांश समय ६० वर्षीया हजुरआमा अमिनाको स्याहारसुसार गरेर बित्छ।
उनी पानी र दाउरा बोक्न जान्छिन्, बजारबाट खानेकुरा किनेर ल्याउँछिन् र खाना पनि पकाउँछिन्।

उनी शिविरमा दैनिक झन्डै एक किलोमिटर खाली खुट्टा हिँडेरै आवश्यक काम गर्छिन्।

डाँडाहरूमा फैलिएको शिविरमा गल्लीहरू छन्।
अरू धेरै परिवारले पनि यस्तै खालका सङ्घर्ष गरिराखेका छन्।
कक्सेज् बजारस्थित शरणार्थी शिविरमा भएका अस्थायी घरहरूमा झन्डै १० लाख मानिसहरू बस्छन्।

Map source: Inter Sector Coordination Group, Reach Initiative, Unicef

कम्रू बस्ने कुटुपालोङको शिविर सबैभन्दा ठूलो शरणार्थी शिविर हो।

यो १३ वर्ग किलोमिटरको क्षेत्रमा फैलिएको छ।

सानासाना प्रशासनिक एकाइमा बाँडिएको यो शिविरमा छ लाखभन्दा बढी मानिसहरू बस्छन्।

Map source: Inter Sector Coordination Group, Reach Initiative, Unicef

धेरै अस्थायी घरहरू डरलाग्दा ठाउँमा छन्।

पाँच जनामध्ये एक जना बस्ने ठाउँमा वर्षाको कारण जोखिम हुने देखिन्छ।

Map source: Inter Sector Coordination Group, Reach Initiative,Unicef

मनसुनसँग जोडिएका पहिरो र बाढीजस्ता हजारौँ घटनाले झन्डै ५० हजार जना प्रभावित भएका छन्।

सहायताकर्मीहरूले उनीहरूलाई सुरक्षित स्थानमा लग्ने र बलियो घर बनाइदिने गरेका छन्।

तर सेप्टेम्बरमा हावाहुरी र समुद्री आँधी आउन बाँकी नै छ।

Map source: Inter Sector Coordination Group, Reach Initiative

कुटुपालोङको शिविरबाहेक दक्षिणी बाङ्ग्लादेशमा चारवटा स्वत:स्फुर्त रूपमा बसेका अन्य चारवटा बस्ती छन्।

म्यानमारमा गत वर्ष हिंसात्मक सैन्य दमन भएपछि रोहिंज्या समुदायका हजारौँ मानिसहरू भागेर यहाँ बस्न आएका हुन्।

Map source: Inter Sector Coordination Group

त्यसरी लखेटिएर राज्यविहीन भएका रोहिंज्याहरू अल्पसङ्ख्यक मुसलमान हुन्।

उनीहरूले आफ्ना गाउँमा आगजनी गरिएका, परिवारजनलाई समातिएका वा मारिएका तथा

महिला र बालबालिकालाई बलात्कार गरिएका घटनाबारे बताउने गरेका छन्।

संयुक्त राष्ट्रसङ्घले म्यानमारको सेनाले आमनरसंहार गरेको आरोप लगाएको छ।

तर म्यानमारले भने गैरसैनिकलाई निशाना नबनाएको भन्दै त्यसको खण्डन गरेको छ।

Map source: Human Rights Watch

कम्रूका बुवा बितिसकेका थिए। पछि उनी पनि घर छोडेर भाग्न बाध्य भइन्।

उनी भन्छिन्, "बर्मेली सेनाले आक्रमण गरेपछि हामी भाग्यौँ। उनीहरूले हाम्रो गाउँमा आगो लगाइदिए र मेरी आमालाई पनि मारिदिए।"

Map source: Human Rights Watch, Unicef

अहिले कम्रू बाङ्ग्लादेशमा नयाँ परिस्थितिमा घुलमिल हुन खोज्दैछिन्। उनकी १६ वर्षीया दिदी आफन्तसँग अन्तै बस्छिन्।

उनका केही मिल्ने साथीहरू छन् जसलाई आफूले साँच्चै माया गर्ने उनी बताउँछिन्।

"कहिलेकाहीँ समय मिल्दा हामी खेल्छौँ," उनी भन्छिन्।

"हामी म्यानमारमा भएका कुराको चर्चा गर्ने गर्छौँ। कहिलेकाहीँ मलाई धेरै दु:ख लाग्छ, कहिलेकाहीँ चाहिँ मसँग भएका राम्रा कुराबारे मात्रै सोच्छु।"
उनका आशा र अपेक्षाहरू पनि सामान्य छन्।

"मलाई ठूलो भइसकेपछि दाउरा बोक्नु नपरोस् जस्तो लाग्छ," उनी भन्छिन्, "अनि म खुसी हुन चहान्छु।"